प्रहरीको कारण उजाडिएको एउटा परिवार

पनिलालको जेठो छोरा विश्वजितको मृत्यु भएको एक वर्ष पनि पुगेको छैन । वैदेशिक रोजगारीबाट फर्किएका उनको १४ फागुन २०७६ मा मृत्यु भएको थियो । पनिलाल भन्छन्, ‘जेठो छोरा गुमाएको वर्ष दिन नहुँदै प्रहरीको कारण कान्छो छोरा पनि गुमाएँ ।’

१६ भदौ, रौतहट । रौतहटको मध्य बजार गरुडा नगरपालिका–८ जिगंडिया टोलका पनिलाल राम र उनको सालो नन्दलालको घरबीचको दूरी २० मिटर पनि छैन । पनिलालका छोरा विजय र नन्दलालका छोरा निरञ्जन दाजुभाइजस्तै थिए ।

दुबैको दोस्ती जमेको थियो । तर ३२ गते विहान हत्या गरिएको अवस्थामा निरञ्जनको शव भेटियो ।

परिवारका सदस्यहरुले बताएअनुसार उनी राजाराम साहको ‘सच नर्सरी’मा काम गर्थे । ३१ गते साहको घरमा वर्थ डे पार्टीमा सहभागी हुन गएका थिए । तर गाउँभन्दा ३०० मिटर पर घाँटी रेटेर हत्या गरेको पाइएको प्रहरीले बताएको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २ भदौमा शेख आजादलाई पक्राउ गर्‍यो । आफ्नी बहिनीसँग सम्बन्ध भएका कारण निरञ्जनको हत्या गरेको स्वीकार पनि उनले गरेका छन् ।

तर प्रहरीले एकाएक विजयलाई पनि पक्राउ गर्‍यो । ‘निरञ्जनको हत्या भएपछि हामी त शोकमै थियौं । घटना भएको ४ दिनपछि राति घरभरि प्रहरी आए । हामीले केही सोध्न नपाउँदै विजयलाई घिसार्दै लगे’ पनिलाल भन्छन् ।

एकातिर सालोको छोराको हत्या हुनु, अर्कातिर आफ्नै छोरा हत्यामा पक्राउ पर्नु, पनिलालले केही बुझ्न सकेनन् ।

Sagoon Host

एकाएक विजयको मृत्यु भएको खबर उनीसम्म पुग्यो । पनिलाल गहभरि आँसु पार्दै भन्छन्, घरबाट लिएर जाँदा मेरो छोरा सद्धे थियो । तीन दिनमै दुवै किड्नी एकैचोटी बिग्रेर मान्छे मर्‍यो भन्दा हामी दलितले पत्याइदिनु पर्ने बेला आयो ।’

हिरासतमै हुँदा स्वास्थ्यमा समस्या आएपछि ७ भदौमा नेशनल मेडिकल कलेज, वीरगञ्ज लगिएको र उपचारका क्रममा १० गते उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

पुत्रशोकमा रहेका पनिलालले आफ्नो निष्कर्ष सुनाए, ‘नर्सरीवालाले दिएको पैसामा प्रहरीले बिक्यो ।’

20% OFF SAGOON

स्थानीयबासी पनि निरञ्जनको हत्या आरोपमा विजयलाई पक्राउ गर्नु र त्यसको केही दिनमा उनको मृत्यु हुनुलाई शंकाको नजरले हेर्छन् । उनीहरुको दाबी छ, ‘हत्याको अभियोग कबुल गराउन प्रहरीले निर्घात कुटपिट गर्‍यो, त्यही कारण मृत्यु भयो ।’

निरञ्जनका बुबा नन्दलाल पनि प्रहरी पैसामा बिकेको र निर्दोष विजयलाई फसाउन खोजेको बताउँछन् ।

मृत्युअघि विजयले पनि त्यही भनेका छन् । अस्पतालको शय्यामा रहेका बेला कैद गरिएको भिडियोमा उनले अपराध स्वीकार गर्न प्रहरीले यातना दिएको बताएका हुन् ।

पाइप तथा लठीले हान्नुका साथै दुवै हातमा करेन्ट लगाएको उनले बताएका छन् । पक्राउ गरेको दुई दिनसम्म डीएसपी र सादा पोशाकका प्रहरीहरुले लगातार कुटपीट गरेको भन्दै उनले भनेका छन्, ‘प्रहरीले हत्या आरोप स्वीकार गर, नभए तेरो लास मात्रै बाहिर निस्किन्छ भन्दै बेस्सरी कुटपिट गर्‍यो ।’

त्यही भिडियो सार्वजनिक भएपछि स्थानीय आन्दोलनमा उत्रिए, प्रहरीले इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी ज्ञानेन्द्रकुमार महतोलाई प्रदेश १ प्रहरी कार्यालयमा तानेको छ भने तीन प्रहरीलाई निलम्बन गरेर अनुसन्धान थालेको छ ।

तर विजयको मृत्युसँग पनिलालको घरको दियो निभेको छ । ४६ वर्षीय पनिलालका जेठो छोरा विश्वजितको मृत्यु भएको एक वर्ष पनि पुगेको छैन । वैदेशिक रोजगारीबाट फर्किएका उनको १४ फागुन २०७६ मा मृत्यु भएको थियो ।

पनिलाल भन्छन्, ‘जेठो छोरा गुमाएको वर्ष दिन नहुँदै प्रहरीको कारण कान्छो छोरा पनि गुमाएँ ।’

विजयको मृत्युसँगै परिवार शोकमा छ ।

काखमा वर्ष दिन नपुगेकी छोरी बोकेकी विजयकी पत्नी निलमदेवी केही बोल्न सक्ने अवस्था छैनन् । दाजुको मृत्यु भएपछि भाउजु सुनीतादेवी र तीन छोरालाई विजयले आफूसँगै राखेका थिए । अब उनीहरु पनि साहाराविहीन भएका छन् ।

६ वर्षमुनिका चार बालबालिका रहेको यो परिवारको आफ्नो जग्गा जमिन छैन, आम्दानीको स्रोत छैन ।

विजयकी आमा किसुनवती देवीले केही दिनयता मुखमा केही हालेकी छैन । उनी दुई बुहारी र नातीनातिनालाई हेर्दै टोलाइरहन्छिन्  । मेरो छोरालाई कुटेर मार्नेहरुले कहिल्यै शान्ति पाउने छैनन् ।’

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु