
तीनकुने घटनाको छानविन गर्न मातृभूमि पार्टीको माग
काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले गत चैत्र १५ गतेको तीनकुने, काठमाडौको घटनाको सत्यतथ्य अनुसन्धान तथा छानविन गर्न स्वतन्त्र न्यायिक समिति गठन गर्न माग गरेको छ ।
राजावादीहरुको उक्त प्रर्दशनमा भएको झडपमा परि किर्तिपुरका सविन मर्हजन र रिपोर्टिङमा खटिएका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यृ भएको थियो भने कैयौं सवारी साधन, व्यक्तिगत, राजनीतिक दलको कार्यालय तथा व्यावसायिक प्रतिष्ठानहरुमा आगजनी, तोडफोड र लुटपाटसमेत भएका थिए ।
पार्टीका महासचिव गोविन्द गिरीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उक्त घटनाको निष्पक्ष छानविन गरि दोषीलाई दण्ड र पीडितलाई उचित उपचार र क्षतिपूर्तिका साथै, भविष्यमा यस्तो घटना दोहोरिन नदिने प्रतिबद्धता सरकारबाट आउनु पर्ने पनि माग गरिएकोे छ ।
राष्ट्रिय मातृभूमि पार्टीले मुलुकमा बढ्दो वर्तमान संकटको निकासको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, प्रदेश संरचनाको खारेजी एवम् थप सुदृढ र अधिकार सम्पन्न स्थानीय तहको व्यवस्था, राष्ट्रिय अर्थतन्त्रको विकास र सबै खाले भ्रष्टाचार काण्डहरुको छानवीन गर्न शक्तिशाली स्वतन्त्र नागरिक छानवीन आयोग गठनको माग गर्दै आएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]