
सुदूरपश्चिम प्रदेशमा सरकार पुनर्गठन पाँच जना मन्त्री र चार जना राज्य मन्त्रीमा नियुक्त
सुदूरपश्चिम प्रदेशमा जेष्ठ् १४ गते शुक्रबार मन्त्रिमण्डल पुनर्गठन भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले पाँच जनालाई मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका हुन् ।
नियुक्त भएलगत्तै सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख यादवले नवनियुक्त मन्त्रीहरूलाई सपथग्रहण गराएका हुन् । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई एमाले संसदीय दलले फिर्ता बोलाएपछि अन्य पाँच जनालाई मन्त्रीमा नियुक्ति दिइएको हो । यस्तै चुनकुमारी चौधरी, अर्चना गहतराज, मानबहादुर सुनार, मना साउदले पनि राज्यमन्त्रीको शपथग्रहण गरेका छन् ।
अन्तरिक विवादमा परेको नेकपा एमालेले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको हो । सरकारमा सहभागी एमालेका तीन मन्त्रीले राजीनामा दिएका छन् । लगत्तै चार मन्त्री नियुक्त हुँदा संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशसभा संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।
यसलाई लिएर विवाद भइरहेका बेला सरकारमा भएका तीन मन्त्रीले शुक्रबार दिउँसो राजीनामा दिएका थिए । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिएका हुन् । लगत्तै एमालेबाट चार र माओवादी केन्द्रबाट एक मन्त्री नियुक्त भएका छन् । मन्त्रीमा दोहोरिएका शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]