
सिरीजंघा महोत्सवको धमाधम तयारी, म्याराथनको दूरी निर्धारण
काठमाडौं । सिरीजंघा पर्यटन महोत्सव २०८२ को तयारीमा जुटेको सिरीजंघा गाउँपालिका, ताप्लेजुङले महोत्सवअन्तर्गत आयोजना हुने कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिताका लागि स्थलगत अध्ययन गरि दूरी निर्धारण गरेको छ ।
महोत्सव सचिवालय समितिका संयोजक तथा पालिका उपाध्यक्ष डा. चित्र मावोको नेतृत्वमा गएको टोलीले हाफ म्याराथन प्रतियोगिताका लागि ३३०० मिटरको उचाईमा रहेको नयाँ झोरेनीदेखि झण्डै ४३०० मिटरको उचाईमा रहेको कस्तुरे ओडारसम्मको दूरी तय गरेको बताइएको छ ।
म्याराथनका विजेताले २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ, उपविजेताले १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुनेले ५८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसै पालिकाभित्र पर्ने विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च शिखर कंचनजंघाको उचाई ८,५८६ मिटरलाई प्रतिविम्वित गर्ने गरि पुरस्कार राशीहरु निर्धारण गरिएको संयोजक डा. मावोले जानकारी दिनुभयो ।
पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्धेष्यले आगामी बैशाख १३ देखि १५ गतेसम्म आयोजना हुने सिरीजंघा पर्यटन महोत्सव २०८२ मा कंचनजंघा साहसिक हाफ म्याराथनका अतिरिक्त कंचनजंघा साहसिक पदमार्ग अवलोकन, जलवायु परिवर्तनको अध्ययन तथा सचेतना, चौरी, याक प्रवर्द्धन तथा प्रर्दशन, माउन्टेन साइकिलिङ र साहित्य तथा सांगीतिक कार्यक्रम हुनेछन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]