चुम्लुङ स्थापना दिवसको कार्यक्रम सुरु, अग्रज स्रष्टाहरु पुरस्कृत

काठमाडौ । याक्थुङ लिम्बू जातिको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ(किचायु)को ३६ औं स्थापना दिवसको अवसरमा आयोजित ५ दिने कार्यक्रमको पहिलो दिन साक्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार वितरण तथा छैटौं मुन्धुम स्वर्णिम साँझ सम्पन्न भएको छ ।


किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले लिम्बू भाषाको गीत गायन, संगीत र शब्द लेखनमा विशेष योगदान पुर्याउनुभएका अग्रज स्रष्टाहरु भगत सुब्बा, यासेली योङहाङ र प्रेम पन्धाकलाई साक्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार प्रदान गर्नुभएको थियो । यसै बर्षदेखि प्रदान गर्न थालिएको सो पुरस्कारवापत प्रत्येक पुरस्कृत व्यक्तित्वलाई जनही २५ हजार रुपैया र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।


कार्यक्रमको दोस्रो सत्रमा सम्पन्न छैटौं मुन्धुम स्वर्णिम साँझमा येवालाङ, केलाङ, यालाङ, हाक्पारे पेन्युक साम्लो, तुवा पेन्युक साम्लो जस्ता लिम्बू जातिका मौलिक गीत, संगीतहरु कलाकारहरुले प्रस्तुत गरेका थिए ।
गत भाद्र १३ गतेदेखि सुरु भएको कियाचुको ३६ औं स्थापना दिवसको ५ दिने कार्यक्रमको मुल समारोह आगामी भाद्र १७ गते किरात याक्थुङ चुम्लुङको संघीय कार्यालय चुम्लुङहिम, ललितपुरमा आयोजना हुने छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्