
टर्कीमा दुई शक्तिशाली भूकम्प, अन्तर्राष्ट्रिय सहयोगको आह्वान
६ फेब्रुवरी २०२३ – टर्कीमा सोमवार गएका दुई शक्तिशाली भूकम्पका कारण कैयौँले ज्यान गुमाएका छन्।
अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमै दोस्रो भुइँचालो पनि गएको हो।
यूएस जियोलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको शक्ति ७.५ म्याग्निट्युड मापन गरिएको छ।
दुवै भूकम्पका कारण २,३०० जनाभन्दा बढीको ज्यान गएको टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धार कार्य जारी राखेका छन्।
टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको सात दशमलव आठ म्याग्निट्यूडको भूकम्पका कारण कैयौँ भवन भत्किएका थिए।
उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ।

द्वन्द्व प्रभावित उत्तरी सिरियामा मात्रै हालसम्म ८०० जना भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ।
उक्त भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो।
टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।
अन्तर्राष्ट्रिय सहयोगको आह्वान
राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश दिँदै भनेका छन्, “हामी अपेक्षा गर्छौँ कि सकेसम्म चाँडो र कम क्षतिसहित हामी यो विपद्बाट पार पाउनेछौँ।”
उनले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू एकाइहरूलाई पनि सतर्क अवस्थामा राखिएको बताए।
टर्कीको सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेपछि विभिन्न देशले सहयोगको वाचा गरेका छन्। कतिपय देशहरूबाट खोज उद्धार र राहतका लागि सहयोग परिचालन गरिएको विवरण प्राप्त भएको छ।
भूकम्प गएको स्थान दक्षिण-पूर्वी टर्कीस्थित गाजीयान्टेप सिरियासँगको सीमानजिकै पर्छ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]