पुलचोक–गोन्द्राङ छ लेन सडक : तीन महिना बाँकी, ५८ प्रतिशत काम

भरतपुर । पुल्चोक–गोन्द्राङ ६ लेन सडकको काम धमाधम भइरहेको छ । गोन्द्राङ क्षेत्रबाट रफ्तारमा अघि बढेको काममा अहिले हाकिमचोकदेखि चौबीसकोठीसम्मको सडक बनाउनमा आयोजना केन्द्रित छ । यस क्षेत्रमा बेस र सवबेसका लागि काम भइरहेको आयोजनाले बताएको छ । अबको एक महिनामा चौबीसकोठीसम्मको सडक क्षेत्र कालोपत्रे हुने भएको छ । हाल ५८ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाको भनाइ छ ।

अबको काम भनेको चौबीसकोठीदेखि क्याम्पस गेट हुँदै लायन्सचोकतर्फ अघि बढ्नेछ । बजार क्षेत्रमा सडक विस्तारका लागि काम हुन लाग्दा साइट क्लियरेन्स नभएकाले काममा तीव्रता दिन नसकिएको आयोजनाका प्रमुख सहदेव खड्काले बताए ।

सडक मापदण्डभित्रको संरचना भत्काउने र आवश्यक कच्चा पदार्थ उपलब्ध गराउने काम भएमा चालू आर्थिक वर्षभित्रमा सबै काम सक्ने लक्ष्य रहेको उनले बताए । सडक निर्माणमा अधिकरुपमा कच्चा पदार्थ आवश्यक पर्ने तर जिल्लामा कहीँकतै पनि त्यस्तो पदार्थ सहजरुपमा नपाइएको खड्काको गुनासो छ ।

‘बजार क्षेत्रका ३ दर्जनजति घरहरुको कुनै न कुनै भाग सडक क्षेत्रभित्र पर्छ, तर यहाँका बासिन्दा त्यो मापदण्ड मान्न तयार देखिन्नन्’, खड्काले भने ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले ६ लेन सडकभित्र मापदण्डमा पर्ने घरहरु भत्काउनका लागि सूचना जारी गरिएको जानकारी दिए । ‘मंसिर २१ गते बुधबारबाट सम्बन्धित गुनासोकर्ता घरधनीहरुलाई भेटेर सम्झाउने र बुझाउने काम हुन्छ’, प्रमुख पौडेलले भने, ‘नत्र नियमअनुसार अघि बढ्न कुनै बाधा पर्नेछैन ।’ उनका अनुसार यस सडक क्षेत्रमा ५७ वटा घर तथा टहराहरु मापदण्डभित्र पर्ने देखिन्छ । ‘सडकको मापदण्ड अर्थात् बीच भागबाट २५ मिटर दायाँबायाँ गर्दा छुने भौतिक संरचना भत्काउन आग्रह गरिएको छ, नत्र सडक कार्यालयले भत्काउनुपर्ने हुन्छ’, उनले भने ।

सडक डिभिजनले सडकको मापदण्डभित्र पर्ने घर भत्काउनका लागि पटकपटक सूचना जारी गरेको छ । आयोजनाको काम सुरू हुनुदेखि नै ताकेता गरे पनि काम नभएको तर केहीले भने सूचनाअनुसार स्वतः घर भत्काएका छन् ।

सडक निर्माणको जिम्मा इन्डो सगुन जेभी बुटवलले पाएको छ । निर्माण बजेट एक अर्ब बाह्र करोड र समय २८ महिना रहेको छ । ५० मिटर चौडाइ रहने यस सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड हुनेछ ।

Sagoon Host

यसअघि पनि सडक क्षेत्रको अधिकार क्षेत्रभित्र पर्ने सबै खाले भौतिक संरचना हटाउनका लागि भरतपुर महानगरपालिकामा सर्वपक्षीय छलफल भएको थियो । छलफलपश्चात् वन, विद्युत्, खानेपानी, टेलिकमलगायतका कार्यालयले आफूहरुको पूर्ण सहयोग हुने जनाएका थिए । तर, खानेपानीको काम भने सोचेजस्तो सहयोगी नभएको आयोजनाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु