
बानेश्वरमा बालेनको ‘एक्सन’
अंकित काफ्ले:
६ भदौ, काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज (सोमबार) बिहान कार्यालय समय सुरु हुनै लाग्दा नयाँ बानेश्वरमा देखिए ।
यसै पनि भीड हुने बानेश्वरमा बालेन देखिएपछि भीड बढ्ने नै भयो । भीडमा थपिनेहरुको जिज्ञासा थियो, ‘बालेन किन आए ?’
प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी सहित बालेन ‘एक्सन’का लागि बानेश्वर पुगेका थिए । उनको ‘एक्सन’ थियो- बानेश्वर आसपासमा रहेका अण्डरग्राउण्डका पसल हटाउने ।
घरधनीहरुले अण्डरग्राउण्डमा पार्किङको व्यवस्था गर्ने भनेर नक्सापाससहित घर बनाए पनि ती अण्डरग्राउण्डमा पार्किङ नभएर पसल थिए । त्यसैले महानगरपालिकाले ३५ दिनअघि नै अण्डरग्राउण्डका पसल हटाउन र त्यो ठाउँमा पार्किङको व्यवस्था गर्न सूचना निकालेको थियो । तर त्यो सूचना कार्यान्वयन नभएपछि बालेन आफैं मैदानमा उत्रिएका थिए ।
बानेश्वरको एउटा भवनको अण्डरग्राउण्डमा पसेका बालेनले त्यहाँ रहेका व्यवसायीसँग भने ‘तपाईंलाई ३५ दिने सूचनाको बारेमा थाहा थियो की थिएन ?’
‘थाहा थियो’, पसले बोले ।
‘थाहा थियो भने पार्किङ गर्ने ठाउँको व्यवसाय किन नहटाउको ?’ बालेनले उनलाई रोक्दै भने, ‘तुरुन्तै हटाउनुस । भोलि बिहानसम्म हटाउनुपर्यो ।’

त्यसपछि बालेन फुटपाथमा उक्लिएर जी–सप रहेको अन्डरग्राउण्ड छिरे । पसलमा रहेकी एक महिलाले तत्कालै हटाउन सक्ने अवस्था नभएको तर घरबेटीलाई ३५ दिने सूचनाबारे जानकारी दिइसकेको बताइन् ।
त्यसपछि बालेनले जवाफ दिए, ‘अहिलेबाट सामान प्याक गरेर भोलि बिहानसम्ममा हटाउनुस् ।’
बालेनले सामान प्याक गर्ने मान्छे नभए तत्काल स्वंसेवक परिचालन गर्न सक्ने समेत बताउँदै भोलि (मंगलबार) बिहानसम्म नहटाए महानगर आफैंले हटाउने चेतावनी दिए ।
त्यसपछि बालेन छेउमै रहेको अर्को अण्डरग्राउण्डमा ओलिए, जहाँ होटल सञ्चालनमा थियो । बालेनले सोधपुछ गर्ने क्रममा होटल सञ्चालक कसैलाई फोन गर्दै थिए ।
त्यो देखेर बालेन जंगिए, ‘तपाईँले जसलाई फोन लगाउनुस, संसारभरी अण्डरग्राउण्ड पार्किङको लागि प्रयोग भएको छ । बढि भएको भए गोदाम भएको छ ।’
उनले अण्डरग्राउण्ड तुरुन्त खाली गरेर पार्किङका लागि खुला गर्न निर्देशन दिए ।
नगर प्रहरीको संयोग
जब बानेश्वरको अन्डरग्राउण्डमा रहेको एक होटलमा बालेन पुगे, त्यहाँ दूई नगर प्रहरी खाना खाइरहेका थिए ।
जुन ठाउँको पसल हटाउन महानगरले नगरप्रहरीलाई नै अग्रपंक्तिमा खटाइएको थियोे, त्यहिबेला मेयर सहितको टोली पुग्नु संयोग थियो ।
महानगरले ३५ दिने सूचना जारी गरेर हटाउन भनेकै होटलमा नगरप्रहरीहरुले खाना खाइरहेको बालेनले हेरे, तर केही बोलेनन् ।
… अनि एक्सनमा बालेन
नयाँ बानेश्वरबाट अनामनगरतर्फ जाने मोड मै बानेश्वर कम्प्लेक्स छ, जहाँ अण्डरग्राउण्डको निरीक्षणमा निस्किएका बालेन पनि पुगे ।
बानेश्वर कम्प्लेक्स बनाउने बेलामा नक्सामा अण्डरग्राउण्डमा पार्किङ गर्ने भनिएको थियो । तर पार्किङबाट भन्दा सटरबाट धेरै भाडा आउने भएपछि घरबेटीले अन्डरग्राउण्ड छिर्ने ठाउँमा सटर बनाए, अण्डरग्राउण्डभित्र व्यवसायीलाई पसल राख्न दिएका थिए ।
काठमाडौं महानगरले ३६ दिन अघि नै ती पसल खाली गरेर पार्किङ गराउन सूचना निकालेको थियो, तर कम्प्लेक्सले टेरेको थिएन । त्यसैले महानगरको टोली यो कम्प्लेक्समा एक्सनमै उत्रियो । उनीहरुले अण्डरग्राउण्डमा बनाइएका संरचना र सटर भत्काए ।
महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डले पटक पटक भन्दा पनि अटेर गरेकोले पसल र सामान हटाइ दिएको बताए । उनले व्यवसायीले हटाउन नमान्दा सामानमा कुनै क्षति भए त्यसको जिम्मेवार स्वयम् घरबेटी हुने बताए । महानगरले जारी गरेको सूचनामा अटेर गर्ने जो कोहिलाई पनि कारबाही गर्ने उनले चेतावनी दिए ।
बालेनले सचेत गराएका पसल मंगलबारसम्म खाली नभए बानेश्वर कम्प्लेक्सको जस्तै गरेर हटाइदिने चेतावनी महानगरले दिएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]