कांग्रेसलाई उम्मेदवार टुंग्याउनै सकस, कहाँ कसको चर्चा?

उम्मेदवारी दर्ता गर्ने दिनसम्म पनि नेपाली कांग्रेसले कहाँ, कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउन सकेको छैन।

कांग्रेस विधानअनुसार उम्मेदवारको टुंगो चुनावभन्दा एक महिना अघि नै लगाउनुपर्ने हो। तर कांग्रेसले उम्मेदवार छान्ने संसदीय समिति नै बनाएको छैन।

प्रदेश र जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा संसदीय समिति बनेका छन् तर केन्द्रीय संसदीय समिति बनाउन सभापति शेरबहादुर देउवाले चासो दिएनन्।

बरू केन्द्रीय कार्यसम्पादन समितिबाटै महानगर र उपमहानगरको टिकट दिने तयारीमा सभापति देउवा छन्। कार्यसम्पादन समितिमा सभापति देउवासहित पदाधिकारी र शीर्ष नेता छन्।

यसपालि कांग्रेसले सत्तागठबन्धनलाई स्थानीय चुनावसम्मै लैजाने निर्णय गरेको थियो। स्थानीय आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्ने चैत १५ को केन्द्रीय समितिको निर्णय भए पनि गठबन्धनबाट छ महानगर र ११ उपमहानगरमा तालमेल सहमति भएको थियो।

कांग्रेसले छमध्ये जम्मा तीन महानगरमा मेयर उठाउँदैछ। काठमाडौं, ललितपुर र विराटनगरमा मेयर उठाउने भने पनि अहिलेसम्म उम्मेदवार टुंग्याउन सकेको छैन।

Sagoon Host

यस्तै उपमेयरमा पोखरा, भरतपुर र वीरगञ्जमा कांग्रेसले उम्मेदवारी दिने सहमति बने पनि कुनै पनि स्थानको उम्मेदवार टुंगिएको छैन। आकांक्षी धेरै र देउवा तथा शेखर कोइराला पक्षबीचको गुट विवादले गर्दा उम्मेदवारी टुंगो लाग्न सकस परेको छ।

११ मध्ये सात उपमहानगरमा कांग्रेसले मेयर उठाउँदैछ। धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीमा मेयर उठाउने कांग्रेसको तयारी छ। तर उम्मेदवार टुंगो लागेको छैन।

यस्तै जितपुर-सिमरा, घोराही, हेटौंडा र जनकपुरमा कांग्रेसले उपमेयर पाउने सत्तागठबन्धनमा सहमति बनेको थियो।

20% OFF SAGOON

महानगरमा कहाँ कसको चर्चा?

काठमाडौं महानगरको मेयरमा कांग्रेसबाट नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, सिर्जना सिंह, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस भएको छ।

हरिप्रभा ०७४ मा कांग्रेसबाट उपमेयर जितेकी थिइन्। महानगर सभापति नीलकाजी ०७४ मा वडाध्यक्ष जितेका थिए, उनी महानगर कांग्रेस सभापति पनि हुन्।

यस्तै सिर्जना भने काठमाडौं क्षेत्र नम्बर ७ की महाधिवेशन प्रतिनिधि हुन्।

सुसन महानगर कांग्रेस सचिव र प्रगतिमान नीलकाजीसँग महानगर सभापतिमा पराजित भएका थिए। काठमाडौं कांग्रेसमा प्रकाशमान सिंहको प्रभाव छ। महानगरमा गगन थापा पक्षसँग मिलेर सिंहले अधिवेशनका बेला शक्ति कायमै राखेका थिए।

लामो समयदेखि नेविसंघ, महिला संघ र पार्टी राजनीतिमा रहेकी सिर्जना प्रकाशमानकी श्रीमती पनि हुन्। यहाँ प्रकाशमानले चाहेको व्यक्तिलाई नै मेयरको उम्मेदवार बनाउनुपर्ने कांग्रेसभित्र लविङ छ।

एमालेले केशव स्थापितलाई मेयर उठाएकोले उनलाई ‘टक्कर’ दिन सक्ने उम्मेदवारको खोजी कांग्रेसभित्र भइरहेको छ।

ललितपुर महानगरपालिकामा फेरि चिरीबाबु महर्जन मेयरको दौडमा छन्। ०७४ मा भएको चुनावमा उनी मेयर जितेका थिए।

मेयरमा महानगर कार्यसमितिले सात जनाको नाम सिफारिस गरेको थियो। कांग्रेस ललितपुर महानगर कार्यसमिति सभापति सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, ०७४ मा उपमेयर जितेकी गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस भएको थियो।

यीमध्ये अधिकांश सभापति देउवानिकट छन्।

भरतपुर महानगरमा कांग्रेसले उपमेयर पाएको छ। यहाँ सभापति देउवाले महानगर सभापति रहेका चित्रसेन अधिकारीलाई उपमेयर बनाउन चाहेका छन्। तर वरिष्ठ नेता रामचन्द्र पौडेलले सूर्यकान्त घिमिरे उपमेयर हुनुपर्ने दाबी गरिरहेका छन्।

पोखरा महानगरमा पनि कसलाई टिकट दिने भन्नेमा कांग्रेसभित्र सहमति हुन सकेको छैन। महानगर सभापति सुरेन्द्रमान विजुच्छेलाई उपमेयर बनाउनुपर्ने सभापति देउवाको प्रस्ताव भए पनि कोपिला रानाभाटलाई उपमेयर दिनुपर्नेमा शेखर कोइराला पक्ष छ।

विराटनगरमा कसलाई मेयर उम्मेदवार बनाउने भन्नेमा पनि कांग्रेसभित्र विवाद छ। यहाँ शेखर कोइराला पक्षले आफूहरूले भनेको व्यक्ति मेयर हुनुपर्ने दाबी गरेका छन्।

सभापति देउवाले भने केन्द्रीय सदस्य अमृत अर्याललाई मेयर प्रस्ताव गरेका थिए। तर कोइरालाले भने मिनेन्द्र रिजाल र महेश आचार्यलाई पनि सोध्नुपर्ने भन्दै मेयर उम्मेदवार नागेश कोइरालालाई बनाउनुपर्ने अडान राखेका छन्। नागेश मोरङ कांग्रेस उपसभापति हुन्।

विराटनगरमा कसलाई मेयर बनाउने भन्ने विषयमा शनिबार बेलुकी बालुवाटारमा भएको छलफलमा देउवा र कोइरालाबीच चर्काचर्कीसमेत परेको स्रोतको दाबी छ। ०७४ मा मेयर जितेका भीम पराजुलीलाई दोहोर्‍याउनुपर्ने आवाज पनि कांग्रेसभित्र छ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पराजुलीलाई फेरि मेयर बनाउनुपर्ने बताइरहेका छन्। मोरङमा कोइराला पक्ष हाबी भए पनि प्रदेश नम्बर १ मा भने सिटौला पक्ष बलियो छ। सिटौला कांग्रेसको १४ औं महाधिवेशनमा सभापति देउवासँगै उभिएका थिए।

कांग्रेसले महानगर र उपमहानगरमा सिफारिस भएका नामबारे छलफल गरेर आज उम्मेदवार तय गर्ने तयारी गरेको छ। पदाधिकारी बैठकमा अनौपचारिक छलफल गरेर सभापति देउवाले आज बिहान ११ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट महानगर र उपमहानगरका उम्मेदवार तय गर्ने तयारी गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु