कांग्रेसको डोटी जिल्ला सभापति चयन दोस्रो चरणमा, सिंह र बडुबीच प्रतिस्पर्धा

८ मंसिर, डोटी । नेपाली कांग्रेस डोटी जिल्ला सभापति चयनका लागि मंगलबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत ल्याउन नसकेपछि बुधबार दोस्रो चरणको निर्वाचन सुरु भएको छ ।

पहिलो चरणमा सभापति पदका लागि पाँच जना उम्मेदवार रहेकामा कसैले पनि बहुमत पुर्याउन सकेनन् । त्यसैले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार नरेन्द्रबहादुर सिंह र भूमिराज बडुबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।

एक हजार एक सय सात मतदातामध्ये एक हजार ८७ जनाले मतदान गरेका थिए । मंगलबार राति अबेर सार्वजनिक भएको परिणाम अनुसार सभापतिका उम्मेदवार सिंहले सबैभन्दा बढी ३५८ मत प्राप्त गरे । उनलाई टक्कर दिँदै अर्का प्रत्यासी भुमिराज बडुले ३४२ मत प्राप्त गरे ।

निवर्तमान जिल्ला सभापति प्रदीप देउवा पहिलो चरणमै बाहिरिएका छन् । पहिलो चरणमा दुई सय १४ मत प्राप्त गरेका उनी तेस्रो भए । यस्तै अर्का प्रत्यासी नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गरेका छन् । खसेको मतमध्ये ४८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने व्यवस्था छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए बढी मत प्राप्त गर्ने दुई जनाबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार जिल्ला सभापतिका लागि नरेन्द्रबहादुर सिंह र भुमिराज बडुबीच प्रतिस्पर्धा सुरु भएको छ । अब डोटीको सभापति को होला भन्ने चासो बढेको छ । निवर्तमान सभापति देउवाले जसलाई सहयोग गर्यो उही सभापति हुने पनि अनुमान गर्न थालिएको छ ।

मतदान प्रक्रिया सुरु भइसकेको र बुधबार साँझसम्म परिणाम आइसक्ने निर्वाचन समितिले जानकारी दिएको छ । जिल्ला समितिका लागि अन्य पदहरु र महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मत गणना हुन बाँकी छ ।

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु