धुर्मुस–सुन्तली फाउन्डेसनविरूद्ध अख्तियारमा उजुरी

भरतपुर । क्रिकेट रङ्गशाला निर्माणमा अनियमितता भएको भन्दै धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेट राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले उनीहरुविरूद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरी छानबिन गर्न माग गरेका हुन् । अधिकारीले दुई पृष्ठ लामो निवेदनसहित आइतबार बिहान अख्तियार आयोग टङ्गाल, काठमाडौँमा निवेदन दर्ता गराएका हुन् । निवेदन पत्रको दर्ता नं अ ०२३५०३–०७८–१०–०२/०१५२६ २३८५ रहेको अधिकारीले बताएका छन् ।

निवेदनमा भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका निम्ति देशविदेशमा रहेका नेपालीहरुबाट चन्दा संकलन र भरतपुर महानगरपालिकालगायतका सरकारी कार्यालयबाट ५७ करोडभन्दा बढी रकम उठाई हाल सो रङ्गशालाको सरकारी इन्जिनियरहरुबाट मूल्याङ्कन गर्दा १७ प्रतिशत पनि निर्माण कार्य पूर्ण नगरी उल्टै १७ करोड ऋण तिर्नुपर्ने रकम देखाई परियोजना अलपत्र पारेर फरार रहेकोमा निजहरुलाई पक्राउ गरी आर्थिक अपचलन र ठगी मुद्दामा कारबाहीको माग गरिएको छ । अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले उजुरी दिएको जानकारी गराएका छन् ।

फाउन्डेसनले हात झिकेपछि दाताहरु चिन्तित

रङ्गशाला निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजित श्रीमद्भागवत् तथा धनधान्याचल महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले महायज्ञमा ६९ करोड रूपैयाँ उपलब्ध गराउने कबोल गरेकोमध्ये २१ करोड रूपैयाँ संकलन भएको बताए । उनले भने, ‘धुर्मुस–सुन्तलीलाई विश्वास गरेर नै त्यत्रो रकम उठाएर सहयोग गरियो, तर अहिले निर्माण कार्य अलपत्र पारेर उनीहरु हिँडेका छन् । फाउन्डेसनका पदाधिकारीको मह¤वाकाङ्क्षाले निर्माण कार्य रोकियो ।’

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मस०ले कोरोना कहरका कारण आफूले रङ्गशाला निर्माणको काम पूरा गर्न नसकेको बताउँदै देशको विषम परिस्थितिका कारण जनताबाट रकम उठाएर निर्माण कार्य सम्पन्न गर्न नसकिने अवस्था आएपछि फाउन्डेसनले भरतपुर महानगरपालिकालाई पत्र लेखी बाँकी रहेको निर्माणको जिम्मा लिन अनुरोध गरेको बताए ।

अनुमानित तीन अर्ब लागतको रङ्गशाला निर्माण गर्दा हालसम्म ५४ करोडभन्दा बढी खर्च भइसकेको धुर्मुसको दाबी छ ।

Sagoon Host

५४ करोडमा १७ करोडजति त ऋण नै रहेको उनले बताए । फाउन्डेसनले महानगरलाई स्वामित्व ग्रहण गरिदिन भनेर लेखेको पत्रमा रङ्गशालाको भौतिक प्रगति ३५ प्रतिशत छ, त्यसमध्ये ३९ करोड ५० लाख रूपैयाँ सहयोग संकलन भएको छ ।

महानगरले रङ्गशालाको भौतिक प्रगति मूल्याङ्कन गर्न सघन सहरी विकास आयोजना र आर्थिक प्रगति मूल्याङ्कन गर्न नेपाल चार्टर्ड एकाउन्टेडले दिएको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनअनुसार रङ्गशालाको भौतिक प्रगति १४ प्रतिशत छ । रङ्गशाला निर्माणमा हालसम्म ५१ करोड बढी खर्च भएको देखिन्छ ।

रङ्गशाला बनाउन महानगरले कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरसँग २० बिघा छ कट्ठा जग्गा लिएको हो । सहमति पत्रमा हस्ताक्षर भएको दुई वर्षभित्र रङ्गशाला निर्माण सम्पन्न हुने बताइएको थियो । फाउन्डेसनका अनुसार रङ्गशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्यारापिट बनिसकेको छ । मैदान पनि तयार भइसकेको छ । रङ्गशालाका लागि ४० हजार जनाभन्दा बढीले आर्थिक सहयोग गरेको फाउन्डेसनले बताएको छ ।

20% OFF SAGOON

अभियान पनि सोचेजस्तो भएन

रकम जुटाउन सीताराम र कुञ्जनाले निर्माणस्थल हेर्न प्रवेश शुल्क निर्धारण गरे । सफारी गाडीमा निर्माणस्थल घुमाएर पनि शुल्क उठाए, पानीपुरी र फलफूल पनि बेचे । त्यहीँभित्रै क्यान्टिन सञ्चालन गरेर ‘जे खान्छौँ रङ्गशालालाई’ भन्ने नारा बनाए ।

यसबीचमा फाउन्डेसनले ५० करोड उठाउने लक्ष्य राखेर २०७६ माघ १९–२६ मा सातदिने महायज्ञ लगायो । महायज्ञमा ६९ करोडको घोषणा भएको थियो । तर, ३० करोड घोषणा गरेको प्रदेश सरकारले ३ करोड, १६ करोड ७५ लाख रूपैयाँ दिने वाचा गरेको भरतपुर महानगरपालिकाले १० करोड दिएको सीतारामले बताए । संकलित नगद ७ करोडमात्रै उठेको र महायज्ञमा गरिएका ७५ प्रतिशत वाचा उधारोमै सीमित भएको उनको दाबी छ ।

मेची–महाकाली अभियानमा पनि सोचेजस्तो सहयोग संकलन नभएपछि फाउन्डेसनले अन्तिममा प्यारापिटमा रहने ३० हजार कुर्सीमा दाताको नाम लेखाउन ‘प्रतिकुर्सी एक लाख रूपैयाँ दिनुस् भनेर अपिल ग¥यो । यो अभियान पनि सोचेजस्तो भएन ।

समयक्रममा फाउन्डेसन बक्यौताको भारमा थिचिन थाल्यो । अहिले फाउन्डेसनले सबैभन्दा धेरै एउटै कम्पनीलाई ३ करोड २२ लाख रूपैयाँ तिर्नुछ । ज्यालादारीमा काम गरिरहेका मजदुरहरुको तलब तिर्न हम्मेहम्मे परेपछि फाउन्डेसनले तीन फरक–फरक सहकारीबाट २ करोड रूपैयाँ हाराहारीमा कर्जा लिएको धुर्मुसको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु