
चितवनमा रौनक हराएको तीज
चितवन, २४ भदौ । गोरखापत्र दैनिकका चितवन समाचारदाता शान्ता अधिकारीलाई केही वर्षअघिसम्म आजको दिन नारायणगढ बजारमा समाचार संकलन र नाचगानमा भ्याइनभ्याई हुने गर्दथ्यो ।
नारायणगढको सहिदचोक, पुलचोक र लायन्सचोक क्षेत्रमा दलहरुका टेन्ट, स्टेजसँगै झण्डा फहराउँथे । अधिकारीले स्मरण गर्दै भन्छिन “सधैँजसो सहिदचोकमा नेपाली कांग्रेस निकट महिला सङ्घको तीज गीत कार्यक्रम हुने गर्दथ्यो ।” पुलचोक र लायन्सचोकमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका पार्टी निकट महिला संगठनले कार्यक्रमको आयोजना गर्दथे ।
साना दलसँगै सामाजिक संघसंस्थाले पनि बजारमा कार्यक्रम गर्ने गर्दथे । विसं २०६२÷६३ को जनआन्दोलनपछि क्रमशः यो क्रम घटेर गएको उनको भनाइ छ । पछिल्ला वर्षहरुमा दल निकट महिलाहरुले आन्तरिकरूपमा जिल्ला र पालिकामा कार्यक्रम गर्न थालेसँगै सडकमा तीजको रौनकता घट्दै आएको हो ।
स्थानीय रेडियोमा पनि तीज गीत प्रतियोगिता हुने गर्दथ्यो । कालिका एफएमका निर्देशक दीपक पौडेलले प्रतियोगितामा एक सय समूह सहभागी हुने गरेको स्मरण गरे । प्रतियोगितामा प्रतिस्पर्धी बढ्दै जाँदा पुरस्कारको राशी बढाएर रु ५० हजारसम्म पुगेको उनको भनाइ छ ।
सबै रेडियोले प्रतिस्पर्धा गर्ने र पुरस्कार राशी बढ्दै गएपछि स्थानीय प्रशासनले प्रतियोगिता नगरेर कार्यक्रम गर्न निर्देशन गर्नुपरेको थियो । पछिल्ला केही वर्षयता तीज गीत कार्यक्रम मात्रै गरिएको पौडेलको भनाइ छ । प्रतियोगिता हुँदा चितवन, नवलपरासी, तनहुँलगायत जिल्लाबाट सहभागी हुने गरेका थिए । गत वर्ष र यस वर्ष भने यस्ता प्रत्यक्ष कार्यक्रम कोभिडका कारण हुनसकेका छैनन् ।
एमाले चितवनकी अध्यक्ष पार्वती रावलले सुरु–सुरुमा गाउँगाउँमा पारिवारिक वेदना समेटिएका गीत गाइने गरेकामा पछिल्लो समय राजनीतिक विषयवस्तुमा केन्द्रित भएर तीज गीत हुने गरेको बताइन । विसं २०४६ देखि २०६२ सम्मको समयमा बजारमा ठूला–ठूला कार्यक्रम गरेर राजनीतिक विषयवस्तु केन्द्रित तीज गीत कार्यक्रम हुने गरेको उनको छ ।
नेपाल महिला संघ चितवनकी अध्यक्ष पार्वती शाह ठकुरीले बजारमा टेन्ट टाँगेर भव्य कार्यक्रमसहित तीज मनाउने गरेकामा पछिल्ला वर्षमा शैली परिवर्तन भएको बताइन ।सङ्घले
अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष संगिता भट्टराईले पहिला–पहिला तीजमा भ्याइनभ्याई हुने गरेको भए पनि पछिल्ला वर्ष त्यस्तो नभएको बताइन । सामाजिक अभियानकर्मी मीना खरेलले मौलिक तीजतर्फ फर्कनुपर्ने बताइन । दुःखसुख साटेर तीजले व्यक्तित्व र नेतृत्व विकास गर्ने गरी पर्व मनाउनुपर्ने उनको भनाइ छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


