घारखोलामा मोटर चल्ने पुल निर्माण सुरु

९ फागुन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण सुरु भएको छ ।

पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा निर्माण हुन लागेको पुलको शनिबार विघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलान्यास गरे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले ठेक्का लगाएको एक वर्षपछि पुल निर्माण सुरु भएको हो ।

तीन करोड ४८ लाख ९४ हजार ७० लागत अनुमान गरिएको पुल निर्माण गर्न फेवा–बिएम जेभी पोखराले रु दुई करोड ८१ लाख ७८ हजार ६४६ मा ठेक्का लिएको छ । विसं २०७६ माघ १७ गते ठेक्का सम्झौता भएको पुल २०७८ साउन २४ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

परामर्शदाताले गरेको गलत डिजाइनका कारण सम्झौता गरेको करिब एक वर्षपछि पुल निर्माण सुरु भएको हो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि विमलेश आचार्यले बताए ।

‘सम्झौता लगत्तै पुल निर्माण गर्ने ठाउँमा लगेका मेसिन दुई महिनासम्म खोला किनारमै राखेर फिर्ता गर्नुपर्‍यो’, उनले भने, ‘प्राधिकरणले गत भदौमा नयाँ डिजाइन स्वीकृत गरेर कार्यादेश दिएपछि अहिले काम सुरु गरेका छौं ।’ पुलको पाउद्वारतर्फको पिलर निर्माण सुरु गरेको निर्माण कम्पनीले पोखरेबगर तर्फको पिलरको जग खन्ने तयारी गरेको छ ।

पच्चीस मिटर लामो पुल बनाउनुपर्नेमा काठमाडौँको परामर्शदाता कम्पनी ग्रिड कन्सल्टेन्सीले २० मिटर लामो पुलको डिपिआर बनाएको थियो । सोही डीपीआरको आधारमा ठेक्का लगाइएकाले पुल निर्माण प्रभावित भएको अन्नपूर्ण–५ का कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताए ।

घारखोलामा पुल नहुँदा २०० घरधुरीको बसोबास भएको चार वर्षअघि सडक पुगेको पाउद्वार गाउँ बर्खामा यातायात सम्पर्क विच्छेद हुने गरेको छ । ‘घारखोलामा पुल बन्यो भने बाह्रै महिना गाडी चल्छ’, वडाध्यक्ष तिलिजाले भने, ‘सडक भए पनि पुल नहुँदा पैदलयात्रा गर्न र घोडा खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ ।’

भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो । बेनीमा कार्यालय स्थापना हुनुअघि नै तयार भएको डिपिआरमा ठेक्का लगाइसकेपछि प्राविधिक त्रुटि भेटिएपछि पुनःडिजाइन गरेर काम अघि बढाएको एकाइका प्रमुख नारायण ढकालले बताए ।

‘डिजाइन संशोधन गरेर २५ मिटरकै पुल बनाउन लागिएको छ’, उनले भने, ‘ठेकेदारले पनि कामलाई तीव्रता दिएका छन् ।’ परामर्शदाताले एउटा ठाउँको योजनाको डीपीआरलाई अर्को ठाउँको भनेर दिएकाले पुल निर्माण कार्य प्रभावित भएको हो । शिलान्यास कार्यक्रममा निवर्तमान सांसद थापाले रद्द हुने अवस्थामा पुगेको पुललाई धेरै मेहनत गरेर कार्यान्वयनको अवस्थामा ल्याइएको बताए । घारखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि नेपाने, पाउद्वार, किन्दु, स्वाँताका बासिन्दालाई सुविधा पुग्ने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेकपाको ओली समूहका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठलगायतको उपस्थिति थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्रे गर्न २०७५ मङ्सिरदेखि काम भइरहेको छ । ठेकेदारले पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गर्न नसकेका कारण सम्झौताको म्याद सकिए पनि करिब आधा मात्र भौतिक प्रगति भएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु