६५ अर्ब माग्दै साइटमा फर्किन मानेनन् ठेकदार, निरीह बन्यो सरकार

मागको चाङ तेर्स्याउँदै निर्माण व्यवसायी, सरकार मौन

१० पुस, काठमाडौं । लकडाउनपछि ठप्प भएको निर्माण क्षेत्र अझै पुरानो लयमा फर्किन सकेको छैन । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार अहिले करिब ३० देखि ४० प्रतिशत मात्रै निर्माण साइटमा काम भइरहेको छ, त्यो पनि निकै सुस्त गतिमा ।

सुरुमा महामारीलाई बहाना बनाउन पाएको निर्माण क्षेत्रले त्यसपछि वषर्ा र चाडबाडको निहुँ देखायो । अहिले ठेकदारहरु तरलता अभावलाई नयाँ कारण देखाएर साइटमा फर्किन आनाकानी गरिरहेका छन् । निर्माण साइट खुलाउन आयोजनाहरुले ठेकदारलाई दबाव दिए पनि धेरै ठेकदारले टेरेका छैनन् । सरकारले न ठेकदारलाई कडाइपूर्वक काममा फर्काउन सकेको छ, न उनीहरुका समस्या सम्बोधन गर्न चासो दिएको छ ।

नेपालमा मंसिरदेखि असारसम्मको अवधिलाई निर्माणको मुख्य सिजन मानिन्छ । तर, गत चैतमा लकडाउन सुरु भएदेखि ठूला विकासका आयोजना ठप्पप्रायः छन् । गत आर्थिक वर्षका अन्तिम चार महिना काम नहुँदा सरकारले गर्ने विकास खर्च ३० प्रतिशत पनि पुग्न सकेन । अहिले केही आयोजनामा आंशिक काम भइरहेको छ ।

व्यवसायीहरु दशैंअघिसम्म तिहारपछि साइटहरु खुल्ने बताइरहेका थिए । तर, नेपाल निर्माण व्यवसायी महासंघको टोलीले शुक्रबार साइट खोल्ने वातावरण नबनेको भन्दै आन्दोलनको चेतावनीसहित मुख्य सचिव शंकरदास बैरागीलाई ज्ञापनपत्र नै बुझायो । त्यसअघि महासंघको टोलीले अर्थमन्त्री विष्णु पौडेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई पनि भेटेको थियो । पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ, सार्वजनिक खरिद अनुगमन कार्यालका सचिव सूर्यप्रसाद गौतम र सहरी बिकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई पनि महासंघले मागपत्र बुझाइसकेको छ ।

व्यवसायीले पुस १५ पछि आफ्ना माग पुरा गराउन आन्दोलनको कार्यक्रम नै सार्वजनिक गर्ने तयारी गरेका थिए । त्यसका लागि आगामी पुस १५ गते काठमाडौंमा निर्माण व्यवसायीको राष्ट्रिय भेला गर्ने तयारी थियो । तर, पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो भेला तत्कालका लागि स्थगित भएको छ । सरकारलाई मागबारे ध्यानाकर्षण गराउन विभिन्न निकायमा फेरि धाउन थालेको अध्यक्ष सिंहले बताए । आफ्ना मागमा मन्त्री र सचिवहरु सकारात्मक रहेको महांसघको भनाइ छ ।

६५ अर्ब चाहिने

Sagoon Host

महासंघले मागहरु पूरा नभए निर्माणका कामहरुको गति बढाउन नसकिने बताएको छ । ‘अहिले निर्माण कम्पनीहरुलाई ६५ अर्बको नगद प्रवाह आवश्यक छ,’ अध्यक्ष सिंहले भने, ‘त्यसका लागि सरकारले वातावरण तयार गर्नुपर्छ ।’

अध्यक्ष सिंहकाअनुसार निर्माण सामग्री उत्पादक र आपूर्तिकर्ता पनि महामारीका कारण थला परेका छन् । आफूहरुले पुरानो उधारो नै चुक्ता गर्न नसकेकाले थप उधारो दिनसक्ने अवस्थामा आपूर्तिकर्ताहरु नरहेको उनको भनाइ छ ।

‘हामीले समयमा भुक्तानी गर्न सकेका छैनौं, सबैलाई आर्थिक तरलताको संकट छ,’ सिंह भन्छन्, ‘पर्याप्त पैसा नभई काम सुरु गर्न सकिन्नँ ।’

20% OFF SAGOON

घर भाडा, बैंक किस्ता, ब्याज, कर्मचारी तलब लगायत ओभरहेड खर्चहरुले निर्माण क्षेत्रमा नगद प्रवाहमा समस्या पारिरहेको महासंघले बताएको छ ।

महासंघले महामारीको अवधिलाई ठेक्का अवधिमा गणना नगर्ने निर्णय गरेर सरकारले निर्माण कम्पनीहरुबाट आयोजनाहरुमा पेश भएका बिलको भुक्तानी गर्ने बाटो खोल्नुपर्ने माग गरेको छ । अहिले व्यवसायीसँग करिब ८ खर्ब बराबरको ठेक्का छन् । अर्बौंको काम भएपनि महामारीका कारण म्याद थप लगायतका निर्णय हुन नकसकेकाले भुक्तानी रोकिएको अध्यक्ष सिंह बताउँछन् ।

विशेषगरी प्रदेश सरकारले स्रोत सुनिश्चित नगरी लगाएका कयौं ठेक्काको भुक्तानी नभएकाल धेरै व्यवसायीले तरलताको संकट ब्यहोरिहेको महासंघको भनाइ छ ।

मागका फेहरिस्त

व्यवसायीले सरकारसँग चैतदेखि कात्तिकसम्मको अवधिलाई ‘निर्माण शून्य समय’ घोषणा गर्न माग गरेका छन् । लकडाउन र महामारीको चरम अवस्था रहेकाले ८ महिनाको अवधिलाई काबुबाहिरको परिस्थिति मानेर ठेक्का सम्झौतामा गणना गर्न नहुने महासंघको भनाइ छ ।

सरकारले मन्त्रिपरिषदको बैठकबाट यसअघि नै महामारीका कारण काम नसकिएका र लकडाउन बीचमा खरिद सम्झौता भएका आयोजनाहरुलाई थप ६ महिना समय दिएको थियो । चैतबाट गणना हुने यो म्याद भदौमा सकियो । त्यो व्यवस्थाले प्रभावित भएका सबै आयोजनालाई नसमेटेको महासंघको तर्क छ ।

चैतदेखि साउनसम्म काम सकिने खालका आयोजनाको संख्या सीमित रहेको र त्यो अवधिमा ठेक्का सम्झौता हुँदै नभएको अध्यक्ष सिंह बताउँछन् । महामारीअघि निरन्तर काम भइरहेका सयौं आयोजना प्रभावित भएकाले म्याद थप्न सरकारले कन्जुस्याइँ गर्न नहुने व्यवसायीले बताएका छन् ।

महासंघले आयोजनाहरुको लागत पुनरावलोकन पनि हुनुपर्ने माग गरेको छ । सरकारले गत फागुनमा मात्र २७ सय रुग्ण आयोजनाको म्याद एक वर्ष थपेको थियो । त्यसपछिको समय काम गर्न नपाई बितेकाले म्याद थप हुनुपर्ने ठेकदारहरुको तर्क छ ।

व्यवसायीहरुले खरिद नियमावलीको छैठौं संशोधनले गरेको व्यवस्था हटाउन पनि माग गरेका छन् । कुनै पनि आयोजनाको म्याद सुरुमा दिइएको अवधिको ५० प्रतिशतभन्दा बढी थप्न नपाइने व्यवस्था संशोधनले गरेको छ । त्यसको साटो आयोजना पूरा नभइन्जेल म्याद थप हुनपर्ने माग तेस्र्याइएको छ ।

साइटमा लागू हुने स्वास्थ्य प्रोटोकल र त्यो पालना गर्दा लाग्ने अतिरिक्त खर्च पनि सरकारले दिनुपर्ने पनि मागपत्रमा उल्लेख छ । स्थानीय तहहरुमा रहेका साइटमा जाँदा कामदारलाई क्वारेन्टिनमा राख्न र विभिन्न सुरक्षा साधन तथा उपकरण दिनुपर्दा लागत बढ्ने उनीहरुको तर्क छ ।

आयोजनापिच्छे फरक मापदण्ड लागू गर्दा कोभिड संक्रमण नियन्त्रण प्रभावकारी नहुने, एकै प्रकृतिको निर्माणमा फरक अवस्था सिर्जना हुने र काम गर्न कठिन पर्ने अध्यक्ष सिंह बताउँछन् । एउटै किसिमको कानूनी मापदण्ड बनाएर त्यसलाई कार्यान्वयन गर्न निश्चित रकम (ओभरहेड खर्च) समावेश गराउनुपर्ने महासंघको माग छ ।

हरेक बिल भुक्तानीमा सरकारले राख्ने पाँच प्रतिशत रकम जम्मा भएर बनेको करिब ३० अर्बको कोष यही बेला परिचालन गर्नुपर्ने महासंघको माग छ । बैंक ग्यारेन्टी लिएर सो रकम चलाउन दिए व्यवसायीहरु तरलता संकटबाट जोगिने महासंघको भनाइ छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले तोक्ने ‘क्रेडिट लाइन’को व्यवस्था खारेज हुनुपर्ने माग पनि छ । बैंकबाट यस्तो कागजात बनाउँदा प्रतिवर्ष लागत अनुमानको झण्डै ०.६ प्रतिशतदेखि २.५० प्रतिशतसम्म कमिसन खर्च हुने गरेको गुनासो व्यवसायीहरुले गरेका छन् । यसलाई कायमै राखिए व्यवसायीहरु टाट पल्टने महासंघको दावी छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु