बुटवलको आन्दोलनमा दमन गर्नु सरकारको पराजित मानसिकता : नेविसंघ

पक्राउ परेकालाई विनाशर्त रिहा गर्न माग

१९ असोज, काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएको विरोधमा बुटवलमा जारी आन्दोलनमा दमन गरिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध जनाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा बुटवलबाट पक्राउ परेका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेललगायतलाई विनाशर्त रिहा गर्न पनि नेविसंघले माग गरेको छ ।

आन्दोलनमा दमन गर्नु सरकारको पराजित मानसिकता भएको नेविसंघको टिप्पणी छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले भनेका छन्, ‘छलफल, संवाद, वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्नको सट्टा उल्टै धरपकड, दमन, कर्फ्यु र सत्ताको आडमा बर्बरतापूर्वक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकताको उपज हो ।’

मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा पक्राउ परेका नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कांग्रेसका नेताहरू हरिलाल पाण्डे, शिव गैरे, विष्णु पोखरेल, ज्ञानेन्द्र कार्की, नेपाल तरुण दलका क्षेत्रिय सभापति प्रकाश गैरे र पत्रकार कमला पाण्डे लगायतलाई तत्काल रिहा गर्न महामन्त्री तिमल्सिनाले माग गरेका छन् ।

Sagoon Host

काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा बुटवलमा आउँदै गर्दा राजमार्ग चौराहा नजिक मुख्यमन्त्री सवार गाडी र उनको स्कर्टिङमा रहेका दुई वटा गाडी माथि ढुंगा प्रहार भएको थियो । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ ।

सो घटनामा संलग्न भएको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नेविसंघ महामन्त्री तिमल्सिनाले आन्दोलनको कार्यक्रमबारे छलफल गर्न बैठक बसिरहेको बेला प्रहरीले पक्राउ गरेको बताए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु