
इन्दिरा निरौलाले नेपाल भलिबल संघको अध्यक्षमा उम्मेदवारी दिने
१ वैशाख काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)की बोर्ड सदस्य इन्दिरा निरौलाले नेपाल भलिबल संघ (एनभीए)को अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् ।
नेपाल भलिबल संघको केन्द्रीय सदस्य तथा भलिबलकी पूर्वखेलाडीसमेत रहेकी निरौलाले बुधबार नयाँ वर्षको अवसर पारेर सामाजिक सञ्जालमा स्ट्यास लेख्दै उम्मेदवारी दिने बताएकी हुन् ।
अनलाइखबरसँग कुरा गर्दै निरौलाले आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताइन् । उनले भलिबलमा थोरै मात्र काम गरेको र अझै धेरै गर्न बाँकी रहेकाले नेतृत्व कसले लिने भन्दा पनि भलिबलको विकासका लागि को उपयुक्त हुने भन्ने कुराले महत्व राख्ने बताइन् ।
‘मनोरञ्जन रमण शर्माको अभिभावकत्वमा महासचिव जितेन्द्रबहादुर चन्द, जसले भलिबल खेलको लागि आफ्ना व्यक्तिगत इच्छा आकांक्षालाई थाती राखेर आठ वर्षदेखि भलिबल खेललाई यस उँचाइमा पुर्याउनका लागि आफ्नो बुद्धिविवेकको सदुपयोग गर्दै अहोरात्र खटनपटन गरी आज सुतेको भलिबल खेललाई हामी सबै भलिबल खेलसँग आबद्ध व्यक्तिहरूको साथ र सहयोग लिई यहाँसम्म ल्याइ पुर्याउन सफल भएका छौं’ निरौलाले लेखेकी छन् ।
निरौलाले नयाँ वर्षसँगै नयाँ नेतृत्वले भलिबल खेलको भविष्य निर्धारण गर्ने भएकोले पनि यो वर्ष भलिबल खेलप्रेमीका लागि निकै महत्व राख्ने बताइन् ।
यसअघि भलिबल संघकी हालकी उपाध्यक्ष निरोज मास्केले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् । संघको वर्तमान कार्यसमितिको कार्यकाल सकिएको भए पनि कोरोना महामारीका कारण निर्वाचन हुनसकेको छैन ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



