
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पाए पुरानै नेपाली नागरिकता
काठमाडौँ -नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेका कारण गृहमन्त्री र सांसद सहितका महत्त्वपूर्ण पद गुमाएका रवि लामिछानेले आइतवार पुनः नेपाली नागरिकता लिएका छन्।
काठमाण्डूकी सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले यो जानकारी दिएकी हुन्।
“उहाँले भर्खरै नागरिकता लिनुभएको छ। आजको निर्णय अनुसार उहाँको पुरानै नेपाली नागरिकता पुनः प्राप्ति भएको हो,” खत्रीले बीबीसीसँग भनिन्।
लामिछानेले नागरिकता लिएपछि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन्। उनी बाहिरिँदै गर्दा जिल्ला प्रशासन कार्यालय परिसरमा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो।
जिल्ला प्रशासन कार्यालय काठमाण्डू पुगेर लामिछानेले अमेरिकी नागरिकता लिएपछि स्वतः खारेज भएको भनिएको नेपाली नागरिकता सक्रिय गराएका हुन्।
लामो समय अमेरिका बसेर फर्किएका लामिछानेले अमेरिकी नागरिकता लिएपछि उनको नेपाली नागरिकता स्वतः खारेज भएको फैसला सर्वोच्च अदालतले शुक्रवार गरेको थियो।
अदालतले उनले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गरेपछि लामिछाने नागरिकता लिन प्रशासन कार्यालय पुगेका हुन्।

नागरिकता ऐन र नियमावलीमा नेपालको नागरिकता पुन: प्राप्तिका लागि विदेशको नागरिकता त्यागेको निस्सा सहित मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने उल्लेख छ।
यस्तो निस्सा दर्ता भएकै दिनदेखि नेपालको नागरिकता कायम हुने कानुनी व्यवस्था छ।
लामिछानेले अन्य सेवाग्राही सरह लाइन लागेर नागरिकता लिएको उनका वकिलले बताएका छन्।
“अब त नेपाली नागरिक हुनु भयो। अब आजै निर्वाचन आयोग पुगेर पार्टी सभापति पद पनि जगाउने भन्ने कुरा भएको छ,” उनका एक जना वकिलले सञ्चारकर्मीहरूसँग भने।
लामिछानेले नागरिकता पुन: लिइसकेपछि अब उनलाई मन्त्री लगायत सार्वजनिक पद लिन बाटो खुलेको छ। नेपालको कानुनले सांसद नभए पनि छ महिनासम्म मन्त्री बन्न सक्ने सुविधा दिएको छ।
लामिछाने फेरी मन्त्री बन्ने वा नबन्ने र उनको सांसद पद रिक्त भएपछि हुन लागेको उपनिर्वाचनमा भाग लिने वा नलिनेबारे धेरैले चासो राखिरहेका छन्।
सर्वोच्चले उनको नागरिकताबारे फैसला गरेपछि शुक्रवार र शनिवार उनका समर्थकहरूले राजधानी काठमाण्डूमा प्रदर्शन गरेका थिए। स्रोत-बिबिसी नेपाली
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]