सरकारको चिन्ता : विकास खर्च भएन, जनताको आक्रोश : विकास भएन
१३ पुस, काठमाडौं । देशको अर्थतन्त्र संकटतर्फ गएपछि सरकारको लागि प्रमुख चिन्ताको विषय हो- विकास (पुँजीगत) खर्च ढुकटीमै जाम भयोे । यही बेला जनताको गुनासो भने ठ्याक्कै उल्टो छ- विकासका काम नै भएनन् ।
फटाफट हुनुपर्ने काम नभएपछि सरकार र ठेकदार एकअर्कालाई दोष देखाउँदै छन् । कतिपय ठाउँमा यसकैविरुद्ध जनता आन्दोलनमा छन् ।
वर्षायामभर झरीको कारण देखाएर रोकिएको विकास निर्माणको काम हिउँदको मध्यसम्म पनि शुरु नहुँदा जनता आन्दोलित छन् । कतिपय ठाउँमा त स्थानीय तहहरु नै आन्दोलनको अग्रमोर्चामा छन् ।
वर्षौं काम नगरेका ठेकदारहरु कतै म्याद थप गरेर कार्यस्थलमा झुल्किएका छन् । सँधै सास्तीमा रहेका निर्माणाधीन क्षेत्रका जनता भने सडक छिटो बनाउन माग गर्दै आन्दोलनमा छन् । जनताले कतै सडक विभागका अधिकारीलाई गाउँ प्रवेशमा रोक लगाएका छन् भने कतै गाडी चल्न नदिने भनेका छन् ।
सरकारी गाडीलाई ‘नो-इन्ट्री’
दोलखाको चरिकोट-मुडे सडकमा स्थानीयले सडक विभागअन्तर्गतका सबै इकाइका गाडी गुडाउन रोक लगाएका छन् । सो सडक खण्डमा आज मंगलबारदेखि सरकारी नम्बर प्लेटका सबै गाडीलाई रोक लगाउने भनिएको छ । निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै स्थानीयले गत हप्ता संघर्ष समिति गठन गरेर आन्दोलन थालेका छन् ।
काठमाडौंस्थित सडक विभागकै कार्यालयमा आएर प्रदर्शन गर्दा धरपकड भएपछि समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ६ वर्षदेखि अलपत्र सडक कहिले बनिसक्छ भन्ने अनिश्चित भएपछि जनताले आन्न्दोलनको बाटो रोजेका हुन् । विभाग भने चैतसम्ममा काम सकिने दावी गरेर बसेको छ ।

चरिकोट-मुडे सडक आयोजनाले ठेक्का तोड्न प्रक्रिया अघि बढाएपछि ठेकदार कम्पनी शंकरमाली-सुनौलो खिम्ती जेभी र भारतीय निर्माण कम्पनी सकिल हैदर काममा फर्किएको छ ।
तर, कामको गति उस्तै रहेपछि स्थानीयबासी सरकार र ठेकदारविरुद्ध उत्रिएका छन् । सरकार र ठेकदारको मिलेमतोमा लामो समय काम नभएको स्थानीयको भनाई छन् ।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




