
कुशल व्यवस्थापक सम्मानद्धारा दिपेश लिम्बु खाम्बेक सम्मानीत
न्यूयोर्क । किरात याक्थुङ चुम्लुङ अमेरीकाले संस्थाको कुशल व्यवस्थापकको रूपमा चुम्लुङका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार दिपेश लिम्बु खाम्बेकलाई सम्मान गरेको छ ।

गत हप्ता लिम्बु समुदायले आफ्नो पर्वको रुपमा मनाउदै आईरहेको “वलिहाङ तङनाम्” ५०८१ को कार्यक्रममा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो । सन् २००४ मा किरात याक्थुङ चुम्लुङ अमेरीकाको संस्थापक महासचिब हुदै निरन्तर चुम्लुङमा सक्रिय रहनुभएका खाम्बेक सन् २०१७–२०१९ को कार्यकालमा कियाचु अमेरिकाको अध्यक्ष बन्नुभएको थियो । हाल संस्थाको सल्लाहकारका रुपमा पनि उत्तिकै सक्रिय खाम्बेकलाई संस्थाप्रतिको उहाँको लामो र निरन्तर योगदानको मुल्यांकन गर्दै सम्मानीत गरिएको चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङ लिम्बुले बताउनुभयो ।
उहाले समाज, समुदायमा दिएको योगदान, पुरानालाई सम्मान र भाबि पीढ़ीलाई प्रोत्साहन स्वरूप उक्त सम्मान प्रदान गरिएको समेत बताउनुभयो। यसरी अप्रत्यासीत रुपमा आफूले गरेको योगदानलाई संस्थाले कदर गर्दा सम्मानीत व्यक्तित्व मात्र हैन, अन्य सबै नेपाली समुदायमा समेत समाज प्रति उत्तरदायी बन्न प्रेरणा मिलेको छ ।

आफू सम्मानित भएकोमा भावुक हुदै सल्लाहकार खाम्बेकले सन् २००४ देखि किरात याक्थुङ चुम्लुङ यहासम्म आइपुग्दाको तीतामिठा किस्सा पनि सुनाउनुभएको थियो। उहासंगै काम गरेका तत्कालिन महासचिव हाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले कियाचुको स्थापनादेखि हालसम्मै चुनिएका कार्यसमितिहरुमध्ये दिपेश लिम्बु खाम्बेक अध्यक्षताको कार्यसमिती संस्थागत व्यवस्थापन, बैचारिक, आर्थिक नेतृत्व र समुदायप्रतिको जिम्मेवारीमा उत्कृष्ट रहेको बताउदै सहि कामको मूल्याङकन भएकोमा वर्तमान कार्यसमितीलाई धन्यवाद पनि व्यक्त गर्नु भयो ।
कियाचु अध्यक्ष सुमन थाम्सुहाङले सम्मान पत्र प्रदान गर्दै संस्थाका अनुभवी, पूर्व पदाधिकारीहरूबाट अनुभव लिदै यो संस्थालाई सिंगो लिम्बुहरूको आस्थाको धरोहरको रूपमा स्थापित गराउने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


