राजकुमार हत्या प्रकरण : तीन जनालाई जन्मकैद, तीनलाई सफाइ

भरतपुर । भरतपुर–१०, गेष्ट हाउस चौरमा मजदुरी गर्दै आएका राजकुमार गुरूङको हत्या आरोपमा ३ जनालाई चितवन अदालतले जन्मकैद हुने फैसला गरेको छ । त्यस्तै, एक जनालाई जन्मकैदको आधा सजाय, ३ जनालाई सफाइ दिएको छ । दोषीमध्येकी एक महिला अझै फरार रहेकोमा मुद्दा मुल्तवीमा रहेको छ ।

०७७ असार १९ गते निर्घात कुटपिटपछि राजकुमारको मृत्यु भएको थियो । यस घटनामा जन्मकैद सजाय पाउनेहरुमा तनहुँ, भानु नगरपालिका–४ का ३४ वर्षीय कमल गन्धर्व र लक्ष्मी गन्धर्व, रौतहट गुजरा नपा–१ का ३० वर्षीय अम्मर भनिने अमृतबहादुर थिङ रहेका छन् । कमल र लक्ष्मी श्रीमान्श्रीमती हुन् । उनीहरुले जनही ५० हजार क्षतिपूर्ति तिर्नुपर्ने र पीडित राहत कोषमा २८ सय बुझाउनुपर्ने जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार फैसला सुनाएको हो ।

त्यस्तै, हत्यामा मतियारको आरोप लागेका दाङ, घोराही उपमहानगरपालिका–११ का २४ वर्षीय सागर ओलीलाई भने जन्मकैदको आधा सजाय तोकिएको छ । उनलाई १४ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्न भनिएको छ ।

यस घटनाको आरोपित भनी मुद्दा लागेका तीन जनाले भने अभियोगबाट सफाइ पाएका छन् । जसमा भरतपुर–८ का ३१ वर्षीय प्रकाश विक, जनकपुर उपमहानगरपालिका–४ का सुशील श्रेष्ठ र मालपोत १ नाम गरिएका भरतपुर १२ बस्ने १४ वर्षीय बालक रहेका छन् । घटनाका आरोपित सीता गन्धर्व भने अझै फरार रहेकाले मुद्दा मुल्तवीमा रहेको अदालतले जनाएको छ । सीता कमलकी आमा हुन् ।

०७७ साउन १४ गतेको आदेशले कमल, अमृत, सागर र प्रकाश पुर्पक्षका लागि थुनामा पठाइएका थिए । १४ वर्षीय बालक भने अभिभावकको जिम्मामा छाडिएका छन् ।

घटनामा संलग्न भनिएका लक्ष्मी र सीता गन्धर्व भने फरार छन् । लक्ष्मी मुख्य प्रतिवादी कमलकी श्रीमती र सीता आमा हुन् ।
यस्तो थियो घटना

राजकुमार गुरूङले केही समयका लागि भनेर ०७७ असार ६ गते कमल गन्धर्वको ठेला रिक्सा लगेका थिए । रिक्सा लगेपछि गुरूङ गन्धर्वको सम्पर्कमा आएनन् ।

Sagoon Host

गुरूङलाई खोजी गर्ने क्रममा गन्धर्वले असार १९ गते प्रशासन चोकमा फेला पारी नियन्त्रणमा लिएर आफू बस्ने ठाउँमा लगेका थिए । त्यहाँ गुरूङमाथि कुटाकुट भयो ।

कुटपिटपछि आफूले लगेको रिक्सा कालिका नगरपालिकास्थित पदमपुरमा बिक्री गरेको गुरूङले बताएअनुसार सोही साँझ गुरूङलाई लिएर उनीहरु पदमपुर पुगेको देखिन्छ । पदमपुरमा रिक्सा फेला नपरेपछि राति नौ बजे गेष्ट हाउस चौरमा फर्किएको र राति साढे १० बजे गुरूङको मृत्यु भएको प्रहरीले बताएको छ । गुरूङको मृत्युपश्चात् गन्धर्वले कुटपिटमा संलग्नहरुलाई बोलाएर मैयादेवी कलेजनजिकको झाडीमा फालेर उनीहरु भागेको प्रहरीले बताएको छ ।

मृत्यु घटना राति १० बजेतिरको थियो । तर, राति ९ बजे अर्थात् एक घन्टाअघि कमल र राजकुमार अनि अरु नजिकैको जिल्ला प्रहरी कार्यालयमा आफूहरुको विवाद (ठेला चोरी) विषयमा जानकारी गराउन पुगेका थिए । सबैजना मादक पदार्थ सेवन गरी गएकाले प्रहरीले भोलि आउनू भनी सबैलाई पठाइदियो । जम्मा २ सय मिटरको दूरीमा रहेको खुला भवन जहाँ उनीहरु सबै त्यसअघि सँगै बस्थे त्यहाँ आइपुगे । अरु खाना बनाउन लागे, राजकुमार सुते । २ सय मिटरको फरकमा खुला स्थानमा भएको हत्या घटना चितवन प्रहरी मुख्यालयले पत्तै पाएन । त्यो दिनमात्रै होइन, ५ दिनसम्म पनि घटना गुपचुप नै रह्यो । गुरूङको असार १९ गते राति हत्या भएको प्रहरीले जनाएको छ । २०७७ असार २३ गते भरतपुर–१० स्थित मैयादेवी कन्या कलेजनजिकको झाडीमा बोरामा बाँधिएको अवस्थामा गुरूङको शव फेला परेको थियो ।

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु