
संसदीय दलको नेता बनेपछि प्रचण्डले भने – संसद पुनर्स्थापित गर्छौं, नयाँ सरकार बनाउँछौं
८ पुस, काठमाडौं । नेकपाको प्रचण्ड-माधव नेपाल समूहले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ।
संसदीय दलको नेता चयन भए लगत्तै प्रचण्डले सञ्चारकर्मीसँग भने, ‘राष्ट्र र जनताको अपेक्षा अनुसारको काम गर्ने गरी नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुनेछ।’
उनले भने- ‘सबै राष्ट्रिय राजनीतिक दलहरूलाई एकताबद्ध गरेर सहकार्य गरेर एकताको बलमा प्रतिनिधिसभा जीवित तुल्याउनेतिर मेरो ध्यान हुनेछ।’ उनले ठुलो चुनौतीको समयमा जिम्मेवारी पाएको बताए।
गत मंगलबारमात्रै पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको दाहाल-नेपाल समूहले संसदीय दलको नेताबाट पनि ओलीलाई हटाएको हो । मंगलबार अध्यक्ष चयन भएका माधव नेपालको प्रस्तावमा दाहाललाई दलको नेता बनाइएको हो।
हामी प्रतिनिधिसभामा ९५ भन्दा बढी हुन्छौं
प्रधानमन्त्री केपी शर्मा ओलीको ‘आइ एम द स्टेट’ भन्ने प्रवृत्तिका कारण संसदको दुईतिहाई बहुमत जोगाउन नसकेको पनि उनले बताए । सांसदहरुलाई सम्बोधन गर्दै दाहालले जनताले ठूलो अवसर दिए पनि त्यसलाई जोगाउन नसकिएको बताए । ‘जनताले ठूलो अवसर दिएका थिए । तर गल्ती स्वीकार्न नसक्ने, आइ एम द स्टेट भन्ने धारणाबाट चल्दा दुईतिहाइ जोगाउन सकेनौं ।

हामी फेरि संसदलाई स्थापित गर्ने, नयाँ सरकार गठन गर्ने हाम्रो प्रतिबद्धता छ । सडक, कानुनी माध्यम, सहयात्री दलहरूसँग सहकार्य गरेर अगाडि बढ्ने उद्देश्यमा हामी अगाडि बढ्छौं ।’
उनले संसदीय दल र केन्द्रीय समितका निर्णयहरु निर्वाचन आयोगमा पठाइएको पनि बताए । ‘हिजोको झन्डै ७० % केन्द्रीय सदस्यसम्म आउँदा र संसदीय दलको बैठकसम्म आउँदा देशको सबैभन्दा ठूलो दल हामी छौं, दाहालले भने, ‘केही माननीय आउन बाँकी छ । ९३ जना प्रतिनिधिसभाका सदस्यले हस्ताक्षर गर्नुभएको छ र केहीले यहाँ आउने प्रतिबद्धता दिनुभको छ । हामी प्रतिनिधिसभामा ९५ भन्दा बढी हुन्छौं ।’
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



