माडीको बोटे गाउँमा होमस्टे सञ्चालन

२० मंसिर, माडी । चितवनको माडीस्थित बोटे गाउँमा होमस्टे सञ्चालनमा आएको छ । पर्यटन प्रर्वद्धन र सस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ माडी नगरपालिका-१ वनकट्टाको बोटे गाँउमा बोटे सामुदायिक होमस्टे सञ्चालनमा आएको बोटे होमस्टेका अध्यक्ष सन्तोषप्रसाद बोटले जानकारी दिए ।

प्रथम चरणमा निर्माण भएका १० वटा होम स्टेहरु सबै सञ्चालनमा आएका छन् भने अन्य २ वटा निर्माधीन अवस्थामा छन् । यद्यपि होम स्टेको औपचारिक उद्घाटन भने भएको छैन ।

माडी नगरपालिका, पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति र तराई भूपरिधि कार्यक्रम (ताल) को सहयोगमा निर्माण भएका होम स्टेहरु औपचारिक रुपमा उद्घाटन नभए पनि पाहुनाहरु आउने क्रम बढेकाले होम स्टेका सञ्चालकहरु पनि उत्साहित भएका छन् ।

मुख्य सडकबाटभित्र, हरियाली र शान्त वातावरणमा सञ्चालित होमस्टेमा बसेर रमणीय दृश्यावलोकन गर्नुका साथै नदी किनारमा आएका जङ्गली जनावरहरु पनि देख्न सकिने भएकोले पर्यटकहरुका लागि बोटे होम स्टेहरु आकर्षणका केन्द्र बनेका छन् ।

होमस्टेहरु औपचारिक उद्घाटन गरी सञ्चालन नभए पनि पर्यटकहरु आउने क्रम बढेको र जङ्गल र जङ्गली जनावरहरु हेर्दै पर्यटकहरु रमाउने गरेको अध्यक्ष बोटले जानकारी दिए ।

होमस्टेबाट प्रशिद्ध धार्मिक स्थलहरु पाँच पाण्डव मन्दिर, भीम इनार, परशुराम कुण्ड, गोद्धकनाथ, अष्टभुज शिवलिङ्ग, कुकुरनाथ, बिरालानाथ, सीता गुफा, झण्डी डाँडा नजिकै पर्ने भएकोले होमस्टेमा बसेर बिहानै तीर्थस्थलहरुको दर्शन गरी रमणीय वातावरणहरुको अवलोकन गर्न पर्यटकहरु लालायित हुने गरेको होम स्टे सञ्चालक समितिका कोषाध्यक्ष जगनारायण बोटले बताए ।

Sagoon Host

होमस्टेमा बसेका पाहुनाहरुलाई होमस्टेको विशेष परिकारका साथै उहाँहरुको रुची अनुसारको खाना खुवाएर राष्ट्रिय निकुञ्ज लगायत माडीका विभिन्न स्थानमा जिप सफारी, माडीका सोमेश्वर कालिका, वैकुण्ठेधाम, शनिमन्दिर, बुलबुले ताल,रेवा त्रिवेणी, वैराठ धुनी,सीताराम गुफा लगायतका स्थानको अवलोकन गर्ने वातावरण मिलाइने कोषाध्यक्ष बोटले जानकारी दिए ।

होमस्टेमा आउने पाहुनाहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले माडी नगर पालिका र स्वीच प्रोजेक्टको सहयोगमा बोटे सामुदायिक सास्कृतिक भवन निर्माण भएरहेको जानकारी दिंदै अध्यक्ष सन्तोषप्रसाद बोटले बोटे, थारु, लगायत विभिन्न जातजातिका संस्कृतिहरु देखाएर पर्यटकहरुलाई मनोञ्जन दिन लागिएको बताए ।

हाम्रो उद्देश्य भनेको नै पर्यटक प्रवद्र्धन, जैविक विविधता र संस्कृतिको संरक्षण गर्ने भएकोले होमस्टे मार्फत बोटेको मात्र नभएर अन्य विभिन्न जातजातिको संस्कृतिलाई पनि संरक्षण गर्ने योजनाका साथ होम स्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक विष्णुमाया बोटले जानकारी दिइन् ।

20% OFF SAGOON

‘होमस्टेमा तालिम सञ्चालन गर्नका लागि पनि विभिन्न संघ संस्थाबाट सम्पर्क भइरहेको छ,’ अध्यक्ष बोटले भने, ‘हामीले चाँडै नै सभाहललाई व्यवस्थित गरी तालिमहरु सञ्चालनका लागि पनि उपलब्ध गराउँछौं ।’

हाल होमस्टेमा ४० जना पाहुनाहरुलाई एकैसाथ राख्न सकिने क्षमता रहेको छ । आवश्यकता अनुसार क्षमता बढाउँदै लगिने होम स्टेको योजना रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु