खुलामञ्चको विकल्पमा प्रसूति गृह नजिकै निःशुल्क भोजनको व्यवस्था

३ मंसिर, काठमाडौं । खुलामञ्चको सट्टा आजबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै निःशुल्क भोजन गराउने कार्य सुरु भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाकाले खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरु र महानगरपालिकाबीचको सहमति अनुसार नै थापाथलीमा निःशुल्क भोजनको व्यवस्था गरिएको बताए ।

कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको खाना खुलामञ्चमा निःशुल्क खुवाउँदै आएका थिए ।

खुलामञ्चमा खाना खुवाउँदा अशोभनीय देखिएको भन्दै महानगरपालिकाले निःशुल्क खाना खुवाउने काम बन्द गर्न यसअघि चेतावनी दिएको थियो । तर जनस्तरबाट विरोध भएपछि महानगरपालिकाले सुरक्षाका मापदण्ड अपनाएर बन्द स्थानमा खाना खुवाउन सकिने विकल्प दिएको थियो ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख सापकोटाले भने, ‘मेयरज्यूले सार्वजनिक गाडी बढी ओहोर–दोहोर गर्ने ठाउँमा खाना खुवाउनुको सट्टा विकल्प खोजौँ भनेपछि हामी त्यहिअनुसार अघि बढेका हौं ।’

स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी वैकल्पिक स्थानमा भोजन गराउने नीति महानगरपालिकाले लिएको उनले बताए । सापकोटाले अहिले पनि खुलामञ्चमा नि:शुल्क भोजन गराउँदै आएका संस्थाहरुबीच निरन्तर छलफल भैरहेको भन्दै पार्टी प्यालेसजस्ता बन्द ठाउँमा व्यवस्थित ढंगले भोजन गराउन पहल भैरहेको जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्नेहरुलाई मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराएको भन्दै त्यस्ता नागरिकलाई नजिकका वडा कार्यालय वा सीधै मानव सेवा आश्रममा सम्पर्क गर्न अपिल समेत गर्दै आएको छ ।

Sagoon Host

दुई दिन अघि मात्रै खुलामञ्च नजिकै, भद्रकाली र लाजिम्पाट आसपासबाट काठमाडौं महानगरपालिको सहकार्यमा मानवसेवा आश्रमले पाँच जनाको उद्धार गरेको जानकारी पनि सापकोटाले दिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु