
केवुलकार बनाउन भन्दै चन्द्र ढकालले यसरी ल्याएका रहेछन् विदेशी डलर !
काठमाडौं । आदिवासी लिम्बू समुदायको चर्को विरोधका बाबजुद ताप्लेजुङमा रहेको मुन्धुमी स्थल मुक्कुमलुङ(पाथीभरा)मा केवुलकार बनाउन जोड गरिरहेको निजी क्षेत्रको कम्पनी आईएमई ग्रुपले केवलकार निर्माणका लागि विदेशबाट ठूलो लगानी भित्र्याएको दावी गरिएको छ ।
मुक्कुमलुङ(पाथीभरा)मा निर्माण गर्ने भनिएको केवलकार खारेजीको माग गर्दै निरन्तर आन्दोलनरत मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलिय संघर्ष समितिद्धारा संयुक्त रुपमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिवक्ता तथा लाहुर्निपका उपाध्यक्ष शंकर लिम्बूले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्तिय निगम(आईएफसी)बाट आईएमई ग्रुपले चन्द्रागिरी, मौलाकाली, पोखरासंगै पाथीभरा केवलकारको व्यापारिक सम्भाव्यता अध्ययन, इआईए, ग्याप विश्लेषणलगायतको अध्ययनका लागि आर्थिक सहयोग लिइएको आईएफसीबाटै पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनुभएका चन्द्रप्रसाद ढकालले नेतृत्व गरेको आईएमई ग्रुपले केवलकार र अन्य परियोजनाका लागि अन्तर्राष्ट्रिय वित्तिय निगम(आईएफसी)बाट सहयोग अनुदान र ऋणका रुपमा रकम लिएको देखिन्छ ।
आईएमई ग्रुपले सहयोग अनुदानका रुपमा आईएफसीबाट १,५६,७४६ देखि २,५०,००० अमेरिकी डलरसम्म र ऋणका रुपमा २० देखि ५०० मिलियन डलरसम्म लिएको देखिएको अधिवक्ता लिम्बूले दावी गर्नुभएको छ । यसरी निजी क्षेत्रको कम्पनीद्धारा अन्तर्राष्ट्रिय वित्तिय संस्थाबाट ऋण लिदा सरकार जमानी बस्नुपर्ने बुझीएको तर यस प्रकरणमा भने सरकारको भूमिकाबारे यकिन पुष्टी भइनसकेको समेत उहाँले बताउनुभयो ।
मुक्कुमलुङ केवुलकार खारेजी पक्षधरहरुले विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनहरुको उलङ्घन गर्दै आईएफसीबाट आईएमई ग्रुपले अनुदान र ऋणका रुपमा मोटो रकम ल्याएको बताएका छन् । आईएफसीबाटै प्राप्त जानकारी अनुसार २०७९ साल भाद्र २० गतेदेखि २०८१ साल भाद्र १७ गतेसम्मका लागि आईएमई ग्रुपलाई परियोजना प्रदान गरिएको तर २०८१ साल साउन महिनामै आईएफसी आईएमईसंगको परियोजनाबाट बाहिरिसकेको छ ।
अधिवक्ता लिम्बूले नीतिविपरीत आईएफसीबाट आईएमईले लिएको ऋण तथा परियोजनाको विरुद्ध सम्वन्धित उजुरी हेर्ने निकाय, संयुक्त राष्ट्र संघअन्तर्गत मानव अधिकार हेर्ने विषयगत समाधिक्षकहरुमा उजुरी दायर गरिएको र थप अन्तर्राष्ट्रिय फोरमहरुमा उजुरी दायर हुने क्रममा रहेका समेत जानकारी दिनुभयो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]