
उर्लाबारी आगलागीका घाईते भेट्न अस्पताल पुगे मन्त्री लिम्बु
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आज किर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी आगलागी घटनाका घाईतेहरुलाई भेटेर उनीहरुको अवस्था र उपचारबारे जानकारी लिनुभएको छ ।
भेटपछि मन्त्री लिम्बुले उनीहरु सबैलाई उपचारपछि सकुशल घर फर्काउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । घाईते बिरामीहरुको थप उपचारका लागि अमेरिकाबाट चिकित्सक टोली आउन लागेको समेत मन्त्री लिम्बुले जानकारी दिनुभयो । 
गत कार्तिक २६ गते(लक्ष्मीपुजाको दिन) राती साढे दश बजेतिर उर्लाबारीको बरगाछीस्थित दिपक कार्कीको घरमा संचालित सुन पसलमा आगलागी भएसंगै खाना पकाउने ग्यासको सिलिण्डर विष्फोट हुँदा घरधनी, ४ प्रहरी र स्थानीयसहित २८ जना सख्त घाईते भएका थिए । घटनापछि उनीहरुलाई झापाको बी एण्ड सी अस्पताल र विराटनगरको विराट नर्सिङ होम, रेडप्लसलगायतका अस्पतालहरुमा भर्ना गरिएकोमा थप उपचारका लागि २५ जनालाई सेनाको जहाजबाट काठमाडौं ल्याईएको थियो । किर्तिपुर बर्न अस्पतालमा हाल उपचार गराईरहेका उनीहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।
सो आगलागी भएको स्थान युवा तथा खेलकुद मन्त्री लिम्बुको निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं.१ अन्तरगत पर्दछ । घटना घटेलगत्तै मन्त्री लिम्बु निरन्तर घाईतेहरुको उपचारका लागि समन्वय र सहयोगमा जुटिरहनुभएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


