नेपाली परिवेशको प्रशिक्षण मापदण्ड बनाउँदै राखेप

नेपालले धेरै हदसम्म भारतीय र अन्य देशको मापदण्ड लागू गर्दै आएको थियो । अहिले भने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अब आफ्नै मापदण्ड बनाएर कार्यान्वयनका लागि प्रारम्भिक तयारी सुरु गरेको छ ।

१४ असार, काठमाडौं । एसियाली खेलकुदमा सहभागिताको हिसाबमा सात दशक लामो अन्तर्राष्ट्रिय इतिहास बोकेको नेपाली खेलकुदमा खेलाडी प्रशिक्षणका लागि अहिलेसम्म आफ्नै मापदण्ड बनेको छैन । नेपालले धेरै हदसम्म भारतीय र अन्य देशको मापदण्ड लागू गर्दै आएको थियो । अहिले भने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अब आफ्नै मापदण्ड बनाएर कार्यान्वयनका लागि प्रारम्भिक तयारी सुरु गरेको छ ।

राखेपले आसन्न १९औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका २३ खेलका ५१५ खेलाडीमध्ये उपत्यकामा उपलब्ध ३९८ जना खेलाडीको शारीरिक परीक्षण गरेको छ । यसबाट संकलित तथ्यांकको विश्लेषण र आवश्यकताअनुसार अन्य खेलाडीको पनि परीक्षण गरेपछि नेपालले आफ्नै प्रशिक्षण मापदण्ड तयार गर्नेछ ।

गत मंसिरमा राखेप सदस्यसचिव नियुक्त भएलगत्तै टंकलाल घिसिङले राष्ट्रिय टिमको स्तरोन्नतीमा आधारित ‘हाई पर्फमेन्स कमिटी’ बनाएका थिए । सोही कमिटीले खेलाडीको शारीरिक परीक्षणका साथै आफ्नै परिवेशअनुसार प्रशिक्षण मापदण्ड निर्माणको तयारीमा जुटेको हो । ‘खासमा यो सदस्य सचिवज्यूकै अवधारणा हो । राष्ट्रिय टिमको स्तर विकासमा वैज्ञानिक प्रशिक्षण प्रणाली अहिलेको आवश्यकता भइसकेको छ,’ हाई पर्फमेन्स कमिटीका प्रवक्ता हिमाल दाहालले अनलाइनखबरसँग भने, ‘अहिले एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीको स्तर परीक्षण गरेर हामीले यो प्रक्रियाको सुरुवात गरेका हौं ।

प्रवक्ता दाहालका अनुसार एसियाड अगाडि प्रशिक्षणमा रहेका यी खेलाडीको तीनपल्ट परीक्षण हुनेछ । हरेक परीक्षणबाट खेलाडीको स्तर पहिचान गर्दा प्रशिक्षकलाई आफ्नो लक्ष्यअनुसार खेलाडीलाई तयार गर्न सजिलो हुने उनले बताए ।

राखेपअन्तर्गतको खेलकुद विज्ञान प्रतिष्ठान (सान)की खेलविज्ञ रीता प्रजापतिले तीन चरणको तथ्यांक संकलन र विश्लेषणपछि नेपालले आफ्नै परिवेश सुहाउँदो प्रशिक्षण मापदण्ड तयार गर्ने बताइन् । तर, यो आजको भोलि नै सम्पन्न हुने परियोजना होइन । ‘मापदण्ड अहिले नै बन्दैन । तीन चरणको डेटा संकलन भएपछि हामीले मापदण्ड बनाउने हो । अहिले अन्तर्राष्ट्रियस्तरका खेलाडीको परीक्षण भइरहेको छ । त्यसपछि क्षेत्रीय स्तरका र ग्रासरुटका खेलाडीको परीक्षण गरेपछि मापदण्ड बन्छ,’ टेबलटेनिसकी पूर्व राष्ट्रिय खेलाडीसमेत रहेकी प्रजापतिले भनिन् ।

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु