प्रेस स्वतन्त्रता हननका घटना बढ्दै गएका छन्-नेपाल पत्रकार महासंघ
पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटना बढ्दै गएका छन् । गत वर्षको तुलनामा यस वर्ष यस्ता घटना बढेको नेपाल पत्रकार महासंघले जनाएको छ ।
महासंघको अभिलेखले २०२० मा प्रेस स्वतन्त्रता हननका ५२ घटना भएको देखाएको छ भने जनवरी १ देखि २०२१ डिसेम्बर ३१ गतेसम्म ६२ वटा यस्ता घटना भएका छन्। यी घटनाबाट एक सय नब्बे पत्रकार र चार मिडिया हाउस प्रभावित भएका छन् । महासंघका महासचिव रोशन पुरीले बताए ।
यो वर्ष पत्रकारमाथि धम्की दिने ३२ घटना र पेशागत असुरक्षाका १० घटना भएका महासंघको अध्ययनले देखाएको छ । त्यसैगरी यस वर्ष धरपकड र अवरोधका १० घटना, पत्रकारमाथि आक्रमणका पाँच, पत्रकार थुनामा परेका चार र नीतिगत रुपमा प्रतिबन्धका एक घटना परेका छन् ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थाको पूर्ण कार्यान्वयनबाट प्रेस स्वतन्त्रता हननका घटनालाई न्यूनीकरण गर्न सकिने बताए ।
समग्रमा यो वर्ष पनि समाचार सामग्री लिएर वा समाचार सङ्कलन गर्ने क्रममा पत्रकार तथा सञ्चारमाध्यम विभिन्न पक्षबाट धम्की, हमला र दुर्व्यवहारको सिकार भएका छन् । पत्रकार तथा सञ्चारमाध्यमले भ्रष्टाचार, अनियमितता र विसंगतिका समाचार लेख्ने र सम्प्रेषण गर्दा यस्ता घटनाको सामना गर्नु परेको छ ।
यस्तै विभिन्न समूहले गरेको विरोध प्रदर्शनको समाचार संकलन गर्ने क्रममा प्रहरीले लाठीचार्ज गर्दा पत्रकार घाइते भएका छन् ।
पत्रकारलाई सार्वजनिक कार्यक्रमका समाचार संकलनमा रोक लगाउने कार्य यस वर्ष पनि जारी छ । संसदको बैठक, संसदीय समितिको बैठक, मन्त्रीहरुको सपथ ग्रहण वा राजनीतिक दलको महाधिवेशनको रिपोर्टिङ गर्न पत्रकारलाई रोक लगाइएको छ ।
प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले आमसञ्चार सञ्चारसम्बन्धी ऐन र नियमावलीलाई सम्वन्धित निकायको सुझावका आधारमा तर्जुमाको प्रक्रियामा रहेकाले संशोधन वा परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

प्रेस स्वतन्त्रतामा अंकुश लगाउने विभिन्न कानुन संघ, प्रदेश र स्थानीय तहमा संसदमा दर्ता भइसकेको छ । फलस्वरूप संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको अवधारणाले चुनौती सामना गरेको महासंघले जनाएको छ । “यो वर्ष पनि कोभिड-१९ बाट पत्रकारहरु प्रभावित भएका छन्। संक्रमण देखिएदेखि अहिलेसम्म २६ जना सञ्चारकर्मीले यस घातक भाइरसबाट २०२१ मा मात्रै २१ जनाले ज्यान गुमाएका छन्,” पुरीले भने।
सन् २०२० को तुलनामा २०२१ मा प्रेस स्वतन्त्रता विरुद्धका घटनामा कमी आएको छ। सन् २०२१ मा प्रेस स्वतन्त्रता विरुद्धका घटनामा ५९ वटा घटना भएको थियो भने २०२१ मा ९६ वटा घटना भएको थियो, यस क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था फ्रिडम फोरमले तयार पारेको वार्षिक मिडिया रिपोर्टमा उल्लेख छ । नेपालमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र सूचनाको हक संक्रमणको समयमा एक वर्षमा तीन सय ५० पत्रकारले कठिनाइको सामना गर्नु परेको छ । उनीहरूलाई तलब अस्वीकार गरियो वा बेतलबी बिदामा बस्न लगाइयो वा भाइरसको नाममा मिडिया मालिकहरूको हातमा उनीहरूको कामबाट निकालियो। तीमध्ये ३ सयको समस्या समाधान भइसकेको र ५० वटा समस्या समाधानका लागि महासंघले पहल गरिरहेको जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



