चितवनका मालपोत अधिकृत र अमिनविरुद्ध विशेष अदालतमा मुद्धा दायर

चितवन, पुस ९–

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको मालपोत कार्यालय चनौलीमा कार्यरतत मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० मा करारमा कार्यरत अमिन बिरेन्द्रबहादुर कठायतविरुद्ध सेवाग्रहीसँग घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले मालपोत अधिकृत पौडेलविरुद्ध अंश बण्डा एवं बाटो कायम गरी जग्गा धनीपूर्जा बनाइदिएबापत सेवाग्राहीसँग ५० हजार घुस मागेको अभियोगमा विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो ।

त्यस्तै भरतपुर महानगरपालिका–२० मा करारमा कार्यरत बिरेन्द्रबहादुर कठायतले सोही कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राही एक लाख ५० हजार नगद र तीन लाख ५० हजार गरी पाँच लाखको चेक लिएको अभियोगमा मुद्दा दायर गरेको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको भन्‍दै अधिकृत पौडेलसँग ५० हजार र करारमा कार्यरत अमिन कठायतसँग पाँच लाख बिगो माग गरेको छ ।

गत मंसिर १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले अधिकृत पौडेललाई सेवाग्राहीबाट ५० हजार घुससहित पक्राउ गरेको थियो भने अमिन कठायतले अंशबण्डा गरी बाटो कायम गर्नका लागि जग्गाको कित्ताकाट लगायतका काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख पचास हजार नगद र ३ लाख ५० हजारको चेकसमेत लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु