कर्णालीको सत्ता कांग्रेसलाई हस्तान्तरण नगर्ने माओवादीको निर्णय

समझदारी विपरीत गए अर्को खेल शुरु हुन्छ : जीवन शाही

७ कात्तिक, सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न प्रदेश कार्यालयको विस्तारित बैठकले महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने निर्णय गरेको हो ।

‘शुक्रबारदेखि शुरु भएको विस्तारित बैठक शनिबार सम्पन्न भएको छ, प्रदेश सरकारबारे सबैको साझा बुझाइ छ । यो सरकारले राम्रो काम गरेको छ, प्रदेशमा स्थिायत्व कायम गर्दै पाँचै वर्ष यही सरकारलाई नै निरन्तरता दिने निर्णय भएको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने ।

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बेला गत वैशाख २ गते नेपाली कांग्रेस, माओवादी र तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह -हालको एकीकृत समाजवादी) बीच ११ बुँदे सहमति भएको थियो ।

फ्लोर क्रस गरी मन्त्री बनेका तीन जना एमाले सांसद पदमुक्त भएपछि ६ महीनामा र उनीहरू पदमुक्त नभए साउन १ गते सरकारको नेतृत्व कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले गर्ने सहमति भएको थियो ।

फ्लोर क्रसपछि वैशाख ५ गते मन्त्री भएका सांसदहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमालेले सांसदबाट पदमुक्त गर्‍यो । तीनैजना वैशाख १५ गते गैरसांसदका रूपमा पुनः नियुक्त भए । उनीहरूको समयअवधि यही कात्तिक १५ गते सकिँदैछ ।

त्यसलगत्तै कांग्रेसले पूर्व सहमति अनुसार सरकारको नेतृत्व दाबी गर्ने बताएको छ तर मुख्यमन्त्री शाही भने उक्त सम्झौता कार्यान्वयन नगर्ने र बाँकी अवधि आफैंले प्रदेश सरकारको नेतृत्व गर्ने गृहकार्यमा जुटेका छन् ।

Sagoon Host

मुख्यमन्त्री शाहीकै प्रस्तावमा विस्तारित बैठकले हालको सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने गरी गठबन्धन दलबीच सहमति जुटाउन पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने निर्णय गरेको हो ।

केन्द्रमा गठबन्धन दलबीच छुट्टै सहमति बनेर निर्देशन आए मात्रै सत्ताको नेतृत्व हस्तान्तरण गर्न सकिने माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले बताए । ‘अहिले गठबन्धनको सरकार छ, कर्णालीमा सहमति हुँदा केन्द्रमा गठबन्धन थिएन । गठबन्धन दलबीच केन्द्रमा जे निर्णय हुन्छ त्यसलाई कार्यान्वयन गर्छौं,’ उनले भने ।

कुन-कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्नेबारे शीर्ष नेताहरू बिच छलफल भै रहेको र छिट्टै टुङ्गनिे इन्चार्ज बस्नेतले बताए ।

20% OFF SAGOON

समझदारी विपरीत गए अर्को खेल शुरु हुन्छ : जीवन शाही

मुख्यमन्त्री बन्ने पर्खाइमा रहेका कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले भने वैशाख २ को लिखित समझदारी विपरीत माओवादी गए कांग्रेसले साथ नदिने बताए ।

केन्द्रको निर्देशनले कर्णालीमा भएको सम्झौतालाई फरक नपार्ने उनको तर्क छ । ‘हिजो केन्द्रको निर्देशनमा हामीले समझदारी गरेको होइन । वैशाख २ गते मुख्यमन्त्रीज्यू, प्रकाश ज्वाला र मबीच प्रदेशस्तरमै सहमति भएको थियो,’ नेता शाहीले अनलाइनखबरसँग भने, ‘अहिले आएर केन्द्रले के भन्छ भनेर हुन्छ ? केन्द्रसँग हाम्रो सरोकारको विषय छैन ।’

कर्णालीमा भएको सहमति केन्द्रीय गठबन्धनको जग भएकाले त्यसलाई अक्षरशः कार्यान्वयन गरिनुपर्ने नेता शाहीले बताए । ‘कर्णालीमा हामीले गरेको समझदारीले केन्द्रमा गठबन्धनको वातावरण बनेको हो, त्यसैले हामीबीचको लिखित समझदारी अक्षरशः कार्यान्वयन हुनुपर्छ,’ उनले भने ।

उनले अघि थपे, ‘कात्तिक १५ गते महिना पुग्छ, अब केन्द्रले जे गरे पनि हामीलाई छुँदैन । लिखित सहमतिमा बेइमानी गर्नुहुन्छ भने हामी सोच्न बाध्य हुन्छौँ, त्यसपछि प्रदेशमा अर्कै खेल शुरु हुन्छ,’ नेता शाहीले भने ।

कात्तिक १५ भित्र तीन मन्त्री बिदा हुँदै

कात्तिक १५ गतेभित्र कर्णाली प्रदेश सरकारमा रहेका तीन जना मन्त्रीहरुले बिदा लिने भएका छन् ।

नेकपा -एकीकृत समाजवादी)का तर्फबाट स्वतन्त्र हैसियतमा मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही यही कात्तिक १५ गते अगावै बिदा हुँने भएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार संंसद सदस्य नरहेका व्यक्ति ६ महिनासम्म मात्रै मन्त्री बन्न पाउँछन् । तीनै जनाले गत वैशाख ३ गते फलोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए ।

तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह -हालको एकीकृत समाजवादी) मा रहेका उनिहरुलाई पार्टीले कारवाही गरेपछि १५ वैशाखमा स्वतन्त्र हैसियतमा मन्त्री बनाइएको थियो । उनीहरुको पदवधि आगामी कात्तिक १५ गते सकिँदै छ ।

तीन जना मन्त्रीको बिदाइसँगै मुख्यमन्त्री शाहीले नयाँ मन्त्रीको नाम चयन गर्ने अन्तिम तयारी गरेका छन् । मुख्यमन्त्रीमा शाहीकै निरन्तरता भए कर्णालीमा कम्तीमा पाँच मन्त्री थपिने मुख्यमन्त्री निकट श्रोतको दाबी छ ।

नेकपा समाजवादीमा लागेका सांसदहरु पदम रोकाय, चन्ऽबहादुर शाही मन्त्री पदका प्रमुख दाबेदार रहेका छन् भने सांसद देवी ओली पनि मन्त्री बन्ने लाइनमा छिन् ।
‘अब कम्तिमा पाँच जना नयाँ मन्त्री थपिने छन्, काँग्रेसका तीन, माओवादीका मुख्यमन्त्रीसहित तीन र समाजवादीका दुई जनालाई मन्त्री बनाउने बारे छलफल भइरहेको,’ मुख्यमन्त्री निटक स्रोत भन्छ ।

यस्तो छ प्रदेश सभामा अंक गणित

३५ सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित १३, माओवादीका १२, कांग्रेसका ६, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसद छन् ।
हाल माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता महेन्ऽबहादुर शाहीको नेतृत्वमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन सरकार छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु