सीता भण्डारी मृत्यु प्रकरण : पति, जेठाजु र आमाजू पुर्पक्षका लागि कारागार चलान

२१ असोज, बुटवल । रुपन्देही मणिग्रामकी सीता भण्डारी पौडेलको मृत्यु प्रकरणमा उनका पतिसहित परिवारका तीनजना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

भदौ २० गते बिहान आफ्नै कोठामा मृत भेटिएकी २७ वर्षीया सीताका माइती पक्षले आत्महत्या नभई हत्या भएको दावी गर्दै जाहेरी दिएका थिए ।

बुधबार जिल्ला अदालतका न्यायाधीश पिताम्वर शर्माको इजलासमा भएको बहसपछि थुनछेक आदेशबाट सीताका पति टिका पौडेल, जेठाजु हरी पौडेल र आमाजु विष्णु पौडेललाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो ।

उनीहरुविरुद्ध माइती पक्षले कर्तव्य ज्यान मुद्दामा किटानी जोहरी दिन खोजे पनि प्रहरीले किटानी जाहेरी नलिई आत्महत्याका लागि बाध्य पारेको भन्दै आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दामा निवेदक तर्फबाट सरकारी वकिल कार्यालयका अधिवक्ता डम्बर पौडेल, पुणेन्द्र पाण्डे, बाबुराम भुसाल र नागेन्द्र बस्यालले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट शालिकराम बन्जाडे र कृष्णप्रसाद पोखरेलले बहस गरेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेतको सहयोगमा भएको अनुसन्धानमा सीताले सुसाइड नोट लेखेर आत्महत्या गरेको फेला परेको थियोे । तर सीताले लेखेको उक्त सुसाइड नोटमा कसैको नाम उल्लेख थिएन । माइती पक्षले उक्त सुसाइड नोट ‘बनावटी’ भन्दै अनुसन्धान प्रतिवेदन अस्वीर गरेको छ ।

घटनाको अनुसन्धान अझै बाँकी रहेकाले अर्को सनुवाइ नहुँदासम्म कम्तीमा डेढ/दुई महिना तीनै जना आरोपीहरु कारागारमा रहने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

Sagoon Host

मृतक सीताका माइतीसँगै वडाका जनप्रतिनिधि, स्थानीय आमा समूह, राष्ट्रिय जनमुक्ति पार्टी लगायतले उक्त घटना आत्महत्या हुनै नसक्ने दावी सहित आर्थिक चलखेलका आधारमा पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण आत्महत्या देखाइएको दावी गर्दै आएका छन् । उनीहरुले निष्पक्ष अनुसन्धानको माग गर्दै सडक आन्दोलन गर्दै आएका छन् ।

सीताको दुई वर्षअघि ४३ वर्षीय टिका पौडेलसँग विवाह भएको थियो । घटनापश्चात परिवारका सदस्य र माइती पक्षका सामुन्ने टिकाले आफ्नी दिदी विष्णुका कारण सीताको ज्यान गएको बताएका थिए । परिवारको सम्पत्तिको केही हिस्सा दिदी विष्णुको नाममा भएकाले सम्पत्तिका कारण हत्या गरिएको माइती पक्षको दाबी छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु