सार्वजनिक सवारीमा अनुचित भाडा नियन्त्रण गर्न माग

भरतपुर । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले सार्वजनिक सवारीसाधनमा अनुचित तरिकाले भाडा वृद्धि भएको भन्दै नियन्त्रण गर्न माग गरेको छ ।

उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनको एक टोलीले बुधबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई भेटघाट गरी छोटो तथा लामो दूरीका सबै सार्वजनिक सवारीसाधनमा हुने अनुचित भाडादर नियन्त्रण गर्न माग गरेको हो । दसैँको मुखमा भाडादरमा अझै नियमितता हुने भएका कारण अनुगमन गरी भाडादरमा एकरुपता ल्याउने वातावरण बनाइदिन मञ्चले प्रमुख जिल्ला अधिकारी तामाङसमक्ष आग्रह गरेको छ ।

‘सार्वजनिक सवारीसाधनमा यतिबेला अनुचित भाडादर छ, भाडाको सूची पनि सार्वजनिक सवारीसाधनमा टाँसिएको छैन । दसैँमा यात्रुको आवतजावत झन् बढी हुन्छ’, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भने, ‘यात्रु ठगिने क्रम बढी हुन्छ, अनुचित भाडाको नियन्त्रणमा प्रशासनले विशेष चासो दिन आवश्यक छ ।’ उनले सार्वजनिक साधनमा भाडादर खुलाएर अनिवार्य टाँस्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी तामाङलाई ज्ञापन पत्र बुझाउँदै अध्यक्ष श्रेष्ठले भने, ‘स्थानीय छोटो दूरीमा होस् वा लामो दूरीमा होस् भाडा अत्यधिक बढेको पाइयो, कति बढ्नुपर्ने हो, कति बढाइएको हो ? अन्योल छ, आफूखुसी भाडादर बढाइएको छ, यसलाई नियन्त्रण गर्न आवश्यक छ ।’

उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले प्रमुख जिल्ला अधिकारीसमक्ष चितवनका विभिन्न समस्याहरु समेट्दै १८ बुँदे ज्ञापन पत्र बुझाएको हो । मञ्चले बुझाएको ज्ञापन पत्रमा कोभिडको उपचारमा आएका समस्यादेखि तरकारीमा अत्यधिक मात्रामा रहेको विषादीसम्मका विषयहरु समेट्दै प्रमुख जिल्ला अधिकारीलाई समाधानमा पहल गरिदिन आग्रह गरेको छ ।

चितवन जिल्लामा उपभोक्ता अधिकार संरक्षण मञ्चले हरियो तरकारी तथा फलफूलमा अत्यधिक विषादी पाइएको, खाद्यवस्तुको मूल्य बढेको, राजमार्गका होटलहरुमा गुणस्तर खस्केको, स्वास्थ्य उपचारअन्तर्गत बिमाका औषधिहरु फार्मेसीमा नपाइएको, ट्रयाक्टर तथा मालवाहक ट्रकको ढुवानी भाडामा उचित व्यवस्था हुन नसकेको, पशु वधशाला नभएको, गुणस्तरहीन मासु बिक्री भइरहेको, प्रभावकारी बजार अनुगमन हुन नसकेको, सेवा प्रदायक निकायमा पिउने पानी तथा शौचालयको उचित व्यवस्था हुन नसकेको जनाएको छ ।

यस्तै, कपडा तथा विद्युतीय तथा फलामका सामग्रीहरु गुणस्तरहीन रहेका, सहरबजारका फुटपाथहरुमा बसोवास गरी व्यवसाय गर्नेहरुको उचित व्यवस्थापन नगरिँदा बजार अस्तव्यस्त भएको, सडकछेउमा ठेलामा रेस्टुरेन्ट तथा होटलहरु चलाउँदा उपभोक्ताको स्वास्थ्यमा खेलबाड भएकोतर्फ पनि उपभोक्ता अधिकार संरक्षण मञ्चले सजग गराएको छ ।

Sagoon Host

मञ्चका अध्यक्ष श्रेष्ठले प्रमुख जिल्ला अधिकारी तामाङलाई भने, ‘उपभोक्ताको स्वास्थ्यमाथि धेरै खेलबाड भइरहेको छ, उपभोक्ता ठगिने र मारमा पर्ने काम बढी भइरहेका छन्, यसलाई नियन्त्रण र नियमन गरियोस् ।’

ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले उपभोक्ताका मुद्दाहरु सबैको साझा मुद्दा भएको हुनाले समस्याहरुको खोजी गरी समाधानका उपायहरु निकाल्न पहल गर्ने बताए । संरक्षण मञ्चको टोलीलाई विश्वास दिलाउँदै उनले भने, ‘सम्बन्धित पक्षलाई बोलाएर वस्तुगत अवस्था बुझ्नेछु र समाधानका लागि पहल गर्नेछु ।’

उनले उपभोक्ता अधिकार मञ्चले उठाएका सबै विषयहरु अत्यन्तै जायज भएको बताए । प्रजिअ तामाङले भने, ‘अत्यन्तै गम्भीर विषयहरु उठेका छन्, कहीँकतै मनोमानी हुन दिनेछैन, कतै अनियमितता भएको खण्डमा कारबाहीका लागि प्रक्रिया अघि बढाउँछु ।’ उनले सबैभन्दा पहिला स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको समाधान गरेपछि क्रमशः अन्य क्षेत्रका समस्याहरु हल गर्दै जाने बताए ।

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु