सार्कका परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता रद्ध

६ असोज, काठमाडौं । हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा हुने दक्षिण एसियाली सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता यस वर्ष नहुने भएको छ ।

सो वार्तामा अफगानिस्तानको प्रतिनिधित्वको विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा बैठक नहुने भएको छ । सेप्टेम्बर २५ मा वार्ताको मिति तय भएपनि अहिलेलाई रद्ध गरिएको आयोजक मुलुक नेपालले अन्य मुलुकलाई जानकारी गराएको छ ।

काठमाडौंस्थित सार्क सचिवालयले सबै मुलुकलाई बैठक रद्ध गरिएको जानकारी गराइसकेको स्रोतले बतायो । हरेक वर्ष हुने सो बैठक सार्कलाई अगाडि बढाउने सम्बन्धमा छलफल हुने गर्दथ्यो ।

यस अगाडि भारत र पाकिस्तानको तनावको कारण कमजोर बनेको सार्कमा अब अफगानिस्तानको विषय पनि आएको छ । परराष्ट्र मन्त्रीहरुको बैठक रद्ध हुनुलाई अर्काे ‘सेटब्याक’को रुपमा लिइएको छ ।

भारत र पाकिस्तानबीचको शत्रुतापूर्ण व्यवहारका कारण हाल सार्क निष्कृय छ । पछिल्लोपटक २०७१ साल मंसिरमा नेपालमा १८ औं सार्क शिखर सम्मेलन भएको थियो । १९ औं शिखर सम्मेलन पाकिस्तानमा गर्ने निर्णय भए पनि अझैसम्म हुन सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु