चितवनको धानबालीमा रोगैरोग !

भरतपुर । चितवनका फाँटमा यतिबेला धान पसाउने बेला भएको छ । पूर्वी चितवनको कति फाँटहरुमा त धान पसाइसकेको छ । पसाउने बेलाको धानले एकातिर पर्याप्त मल पाउन सकेको छैन भने अर्कोतिर धानबालीमा अनेकौँ रोगहरु देखिएको छ । जसका कारण किसानहरु थप चिन्तित बनेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका सूचना अधिकारी माधव पौडलका अनुसार यतिबेला चितवनको धानमा चार किसिमका रोगहरु देखिएको छ । उनी भन्छन्, ‘पश्चिम चितवनमा खैरा रोग देखिएको छ । पूर्वी चितवनका पसाउने बेलाका धानमा गवारो र पातको फेद डढुवा (जसलाई किसानले डाँठ कुहिने रोग पनि भन्छन्) देखिएको छ । यसबाहेक कतैकतै धानमा ब्लास्ट रोग पनि देखिएको छ ।

पूर्वी चितवनमा छिटो रोपिएको धानमा गवारोको प्रकोप बढी छ । कृषि विज्ञका अनुसार पसाउने बेलाको धानमा गवारो रोगको आक्रमण बढी हुन्छ । समयको विषादीको प्रयोग गरे यो रोग हटेर जान्छ । सूचना अधिकारी पौडेल भन्छन्, ‘पूर्वी चितवनमा गवारो रोगको चुनौती बढी छ, किसानहरुलाई विषादी हाल्न भनेका छौँ । विषादी हालेको ठाउँमा रोगको आक्रमण कम पनि भइरहेको छ ।’

उनका अनुसार पश्चिम चितवनको धानबालीमा खैरा रोग बढी छ । पश्चिम चितवनको धानहरु पसाउने बेला आउँदैछ । पूर्वी चितवनको तुलनामा पश्चिम चितवनका धान ढिलो रोपिन्छ । पसाउने बेला हुँदै गरेका धानमा खैरा रोग देखिएको छ । पौडेलले भने, ‘पातको फेद डढु्वाको प्रकोप पनि पूर्वी तथा पश्चिम चितवनका धानमा ज्यादा छ ।’

उनले रोगबारे किसानहरुलाई पहिले नै सचेत गराइएको र विषादीहरु हाल्न लगाइएको बताए । उनले भने, ‘किसानलाई सावधान र सजग पारेका छौँ, औषधि तथा विषादीहरु हाल्न भनेका छौँ, पालिकाका कृषि शाखाहरुले समन्वय गरिरहेका छन् ।’

पश्चिम चितवन भरतपुर–२५ का किसान विष्णुप्रसाद कँडेलले धानमा विभिन्न रोगको आक्रमण भइरहेको र विषादीहरु छरेपछि कम भइरहेको बताए । उनले भने, ‘पसाउने बेलाको धानमा रोगहरु देखिएको हुनाले किसानहरुमा उत्पादन घट्छ कि भन्ने चिन्ता थपिएको छ ।’

किसानका अनुसार सावित्री धानमा बढी खैरा रोग देखिएको छ । कृषि ज्ञान केन्द्र चितवनले कति हेक्टरमा रोगहरु देखिएको हो, त्यसको लेखाजोखा गरेको छैन । रोगका कारण उत्पादन घट्ने अनुमान पनि ज्ञान केन्द्रले गरेको छैन । कृषि ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेले भने, ‘धानमा रोगहरु देखिएका छन्, तर उत्पादनमा ह्रास आउने गरी देखिएको छैन, उपचार पद्धति अपनाएर रोगहरु निको हुँदै गएका छन् ।’

Sagoon Host

उनका अनुसार केही दिनअगाडि खैरहनीको धान जोन क्षेत्र, कालिका र रत्ननगरका केही वडाहरुमा गवारो रोगको प्रकोप देखिएको थियो, तर अहिले प्रकोप कम हुँदै गइरहेको छ । प्रमुख पाण्डेले भने, ‘उत्पादन नै घट्ने गरेर रोगको प्रकोप देखिएको छैन, कहीँकतै देखिएका रोगलाई किसानहरुले विषादी हालेर ठीक पारिरहेका छन्, पालिकाका कृषि शाखाहरु यसैमा लागिरहेका छन् ।’

बर्सेनि धान बालीमा कीरा, रोग देखिन्छन्, तर यसपालि विगतमा भन्दा बढी क्षति हुने भन्ने चिन्ता किसानमा छाइरहेको छ । समयमै वर्षा भएका कारण यसपटक किसानले धान छिटो रोपेका थिए ।

#पश्चिम चितवनको धानमा देखिएको खैरा रोग ।

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु