‘हैट’ र बुद्धिको सम्बन्ध (भिडियो)
काठमाडौं । बुद्धि तामाङ अहिले ‘हैट’ शब्दसँगै जोडिएर आउने एउटा नाम हो । हुन त यसअघि पनि यो चल्तीको शब्द थियो । तर, चलचित्र ‘कबड्डी’मा कलाकार बुद्धि तामाङले आफ्नै शैलीमा हास्यास्पद पृष्ठभूमिसँगै भनेपछि भने यो शब्द अझ बढी चलनचल्तीमा रह्यो ।
“यो मैले नयाँ आविष्कार गरेर ल्याएको शब्द होइन । गाउँघरमा सुनिरहने शब्द नै हो । यसको अर्थभन्दा पनि यो हरेक किमिमको भावनासँग जोडिएको छ,” कलाकार बुद्धि तामाङ भन्छन्, “यो एउटा भावना व्यक्त गर्ने शब्द हो । खुसी हुँदा, दुःखी हुँदा आउने सुस्केराजस्तै शब्द हो ।”
स्क्रिप्टको रूपमा निर्देशक रामबाबु गुरुङले उनलाई यो शब्द दिएका थिए । त्यसअघि पनि कलाकार तामाङ आफैँलाई प्रोत्साहन गर्न यो शब्दको प्रयोग गरिरहन्थे ।
उनी भन्छन्, “हैट ! यसरी हुन्न, जुरुक्क उठेर काम गर्नुपर्छ बुद्धि उठ् भनेर आफैँलाई अनि इनर्जी क्रिउट गर्न पनि भनिरहन्थेँ नाटकहरू खेल्दा पनि । सबैले बोलिरहने भए पनि मेरो भाग्यको कुरा, यो शब्द बोल्नेबित्तिकै मेरो नाम पनि धमिलो रूपमै भए पनि
क्यारेक्टर आर्टिस्ट
क्यारेक्टर आर्टिस्टहरूले धेरैजसो ‘कलर नछुट्टिने क्यारेक्टर’ गर्नुपर्ने बुद्धि बताउँछन् । “ह्वाइट, ब्लाक, रेडजस्तो छुट्टिनुपर्ने हो नि ! तर, हामी ग्रे–ग्रेजस्तो कलर हुनुपर्छ । हामी (सबक्यारेक्टर) डार्क भइदियौँ भने लिड क्यारेक्टरलाई वा भनौँ कथा नै भाँच्दिन सक्ने हुँदा त्यो ब्राउन्ड्री (परिधि)लाई पनि हामीले तोड्नु हुँदैन । फेरि अर्को कुरा, त्यो परिधिभित्र रहेर आफ्नो छाप पनि राख्नुपर्ने हुन्छ । कथाको आफू पनि महत्वपूर्ण पात्र हो भनेर रजिस्टर पनि गराउनुपर्ने हुन्छ,” उनी भन्छन् । यो दुई कुराको तालमेल मिलाएर क्यारेक्टर आर्टिस्टहरूले आफ्नो कला देखाउने उनको बुझाइ छ ।
आफूले दर्शकको रुचाएको चरित्रलाई प्राथमिकता दिने गरेको उनी बताउँछन् । “एक–दुईवटा चलचित्रमा म भिलेन पनि बनेको छु । तर, कोही पनि नडराउने रहेछ हिहिहि…,” लामो हाँसोसहित उनले भने ।
क्यारेक्टर आर्टिस्टको भूमिका निभाइरहँदा उनी खुसी छन् । उनी ‘सेन्ट्रल क्यारेक्टर’भन्दा पनि ‘सबक्यारेक्टर’ गर्ने कलाकारहरूको भविष्य उज्ज्वल देख्छन् । यति भनिरहँदा अरू कलाकारहरूलाई जस्तै उनलाई पनि चलचित्रको ‘हिरो’ बन्ने आकांक्षा भने नभएको होइन ।

दुई छाक भोक टार्न काठमाडौंमा अनेक काम गरेर अन्ततः अभिनयमा एक्कासि होमिएका उनको कलाकार बन्ने कुनै उद्देश्य थिएन । नाटक गरेको एक–दुई वर्षमा उनले अब अभिनयमा नै लाग्छु भन्ने निर्धारण गरेका हुन् ।
पैसा कमाउन काठमाडौं, अभिनयमा यसरी आए
एक दिन आफ्नै गाउँको साइनोले बाजे पर्ने एकजनाले ‘नाटक गर्छौँ ?’ भनेर सोधे । काठमाडौं आएर धेरै पेसामा आफ्नो भाग्य खोजिसकेका उनी त्यसपछि नाटकतिर लागे ।
उनले पुष्प गुरुङको डबली थिएटरबाट अभिनय यात्रा सुरु गरेका थिए । चार–पाँच सयजति सडकनाटक गरेपछि उनको भेट कलाकार दयाहाङ राई, नाजिर हुसेन, नम्रता श्रेष्ठलगायतसँग भयो ।
यति धेरै सडकनाटक गरिसक्दा पनि पहिलोपटक नाटकघरमै लाइटलगायत प्रोपससहित अभिनय गर्दा उनको आवाजले साथ दिएन । ‘भ्वाइस एन्ड स्पिच’ अलि प्रस्ट भएन भनेर पहिलोपटक रिजेक्ट हुँदा उनी भक्कानिए पनि ।
तर, यसैलाई अन्त्य मानेनन् । बरु, मञ्चमा नदेखिएर के भो त पर्दापछाडि क्यामेरा, लाइटको पाटोबाटै भए पनि यसैमा अघि बढ्छु भन्ने अठोटका साथ निरन्तर लागिरहे । फलस्वरुप, उनी आज चलचित्र क्षेत्रमा परिचित अनुहार भएका छन् ।
कोरोनाले चलचित्रको छायांकन ठप्प छ । तर पनि उनी केही म्युजिक भिडियो, मण्डला थिएटरको काम, चलचित्रको योजनाहरू बनाउनेलगायत कार्यमा व्यस्त नै छन् ।
कोरोनाले अहिले जति नै थलाए पनि कुनै दिन चलचित्र क्षेत्रले राम्रो फड्को मार्ला भन्ने अपेक्षा उनले गरेका छन् । तर, यसका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनी बताउँछन् ।
हरेक अन्तर्वार्तामा ‘अर्को वर्ष वैवाहिक बन्धनमा बाँधिने पक्का हो’ भन्दै जवाफ दिने गरेका उनी समय नजुरेको मान्छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




