मोहना माविमा कक्षा ११ र १२ मा भर्ना लिन नगरपालिका सकारात्मक

रत्ननगर । रत्ननगर–९ मा रहेको मोहना माविमा कक्षा ११ र १२ मा विद्यार्थी भर्ना लिने विषयमा रत्ननगर नगरपालिका सकारात्मक देखिएको छ । नगरस्तरीय राजनीतिक दल र शिक्षक संगठनहरुसँग सोमबार भएको छलफलमा कक्षा ११ र १२ पुनः सञ्चालन गर्ने विषयमा मेयर नारायण वन सकारात्मक भएका छन् ।

छलफलमा मोहना माविको विषयमा केही दिनपछि बस्ने कार्यपालिकाको बैठकले निर्णय गर्ने र त्यो निर्णय विद्यालयको पक्षमा हुने गरी मेयर वनले प्रतिबद्धता जनाएको कांग्रेस नगर सभापति रुपनराज घिमिरेले जानकारी दिए । कक्षा ११ र १२ मा विद्यार्थी संख्या कम भएर सरकारले शिक्षकको दरबन्दी कटौती गरेपछि रत्ननगर नगरपालिकाले सो विद्यालयमा कक्षा ११ र १२ खारेज गर्ने निर्णय गरेको थियो ।

मेयर वनले स्थानीय राजनीतिक दल, वडास्तरका जनप्रतिनिधि, अभिभावक तथा शिक्षकहरुबाट स्रोतसाधनको व्यवस्थापन तथा विद्यार्थी संख्या वृद्धि गर्ने प्रतिबद्धता आए कक्षा ११ र १२ मा भर्ना खुल्ला गरिने बताए ।

दलहरुसँगको बैठकमा पनि आफूले यही विषयलाई जोड दिएको भन्दै उनले विद्यार्थी संख्या उल्लेख्य रहे कक्षा ११ र १२ सञ्चालनमा समस्या नहुने बताए ।

बैठकमा कांग्रेस सभापति घिमिरे, एमाले माधव समूहका नगर अध्यक्ष बद्रिनाथ घिमिरे, माओवादी केन्द्रका नगर अध्यक्ष ओम लामिछाने, नगर इन्चार्ज राजु अम्गाईं, नेपाल शिक्षक महासंघ रत्ननगरका अध्यक्ष विक्रमबहादुर अधिकारी, नेपाल शिक्षक संघ रत्ननगरका अध्यक्ष नारायण पौडेल सहभागी थिए । बैठकमा नगरपालिकाको तर्फबाट मेयर वनसहित नगर शिक्षा अधिकारी बद्रिनारायण अधिकारी सहभागी भएका थिए ।

मेयर, शिक्षा अधिकारी, राजनीतिक दल र शिक्षक संगठनका प्रतिनिधिहरुबीच छलफल चलिरहँदा पाँच विद्यार्थी संगठनले सहमतिका लागि दबाब दिन बैठक कक्ष र नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेका थिए । छलफल सकारात्मक भएपछि एक घन्टापछि विद्यार्थी संगठनले नै ताला खोलिदिएका थिए ।

यसैबीच, नेपाल मजदुर किसान पार्टी रत्ननगर नगर समितिले पनि एक विज्ञप्ति जारी गरी विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित गर्दै मोहना माविमा कक्षा ११ र १२ को भर्ना खुल्ला गर्न माग गरेको छ ।

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु