
चितवनमा कुखुराकाे अण्डाकाे मूल्य बढ्याे ।
चितवन २१ भरतपुर महानगरपालिका चितवनमा राेगका कारण कुखुरा मरेर उत्पादन घटेपछि अण्डाकाे मूल्य बढेकाे हाे । नेपाल अण्डा उत्पादक संघका केद्रिय उपाध्यक्ष किरण ओलीका अनुसार मंगलबारदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७० र मझौलाको रु ३४० पुगेको छ। किसानले भने अण्डाको मूल्य बढे पनि लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने बताएका छन्।
यसअघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको हो। ओलीको भनाइमा चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रु ३६५ पुगेको थियो। यसैवर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य रु ३६० पुगेकामा केही दिनपछि घटेको थियो। एच ९ र रानीखेत रोगका कारण झण्डै २५ प्रतिशत कुखुरा मरेको किसान बताउँछन्। दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको उनले बताए। अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दासमेत लाभान्वित हुन नसकेको उनको भनाइ छ।
संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अण्डाको लागत मूल्य रु ११.५३ तय गरे पनि हाल लागत मूल्य बढेका कारण रु १२.३३ हाराहारी अर्थात् अहिलेको वृद्धि मूल्य बराबर पर्न जाने बताए। दानाको कच्चापदार्थको मूल्य अत्यधिक बढेपछि अण्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनाइ छ।
नेपाल दाना उद्योग संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्कर कँडेल यसअघि प्रतिकिलो रु ६४ मा आउने सामान्य भटमासको मूल्य बढेर रु १०८ पुगेको बताउँछन्। त्यसैगरी हाइप्रो भटमास प्रतिकेजी रु ७० बाट बढेर रु ११५ पुगेको छ। तोरी, सूर्यमुखीलगायतको पिना प्रतिकिलो रु सातले बढेको उनले बताए। दानामा प्रयोग गरिने भिटामिनलगायतका सामग्रीमा शत्प्रतिशतसम्म मूल्य बढेका कारण पनि अण्डाको मूल्य बढेको उनकी भनाइ छ। यससँगै ढुवानीमा समेत मूल्य बढेको कँडेलले बताए।
लागत मूल्यका आधारमा दानाको मूल्य धेरै बढ्ने भए पनि किसानले धान्न मुस्किल हुने भएकाले पटक पटक गरी रु सात प्रतिकिलो मात्रै मूल्य बढेको उनको भनाइ छ। हाल लेयर्स दानाको मूल्य सरदर रु ६० प्रतिकिलो पर्न आउँछ। देशको गार्हस्थ्य उत्पादनको एक प्रतिशत अण्डाले मात्रै थेग्ने दाबी गर्दै उनले मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताए।
नेपालमा दुई हजार ७०० किसानले लेयर्स कुखुरा पाल्दै आएका छन्। यी फार्ममा दुई लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको व्यवसायी बताउँछन्। नेपालमा कुखुरापालन क्षेत्रमा रु एक खर्ब २५ अर्बभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


