
मोरङ जिल्ला अदालत परिसरबाट दुईजना थुनुवा फरार
११ फागुन, विराटनगर । जिल्ला अदालत मोरङ परिसरबाट दुई जना थुनुवा फरार भएका छन् । लागुऔषध मुद्दामा प्रहरीले म्याद थपका लागि लगेका दुई जना थुनुवा म्याद थप भइसकेपछि अदालत परिसरबाट फरार भएका हुन् ।
प्रहरीले मोरङको कटहरी गाउँपालिका-४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका-५ का २० वर्षीय प्रकाश चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको थियो । लागुऔषध मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप भएपछि हतकडीसहित उनीहरु भागेको प्रहरीले बताएको छ ।
म्याद थपपछि प्रहरीले खाजा खाने भनेपछि हातको एउटा हतकडी खोलिदिएको थियो । हतकडी खुलेपछि सोमबार दिउँसो ३ः३० बजेतिर उनीहरु फरार भएका हुन् ।
खोजी गर्दा फेला नपरेपछि म्याद थप्न लिएर गएको प्रहरी टोलीले साँझ ६ बजेतिर जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएको थियो । आरोपीहरु भारततर्फ भागेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ । फरार भएका थुनुवाको खोजी तीव्र पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले शेखलाई आइतबार दिउँसो कटहरीबाट आठ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित पक्राउ गरेको थियो । चौधरी विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, फेनारगनसहितका लागुऔषधसहित आइतबार पक्राउ परेका थिए ।
दुवै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्न उनीहरुलाई सोमबार एउटै हतकडी लगाएर अदालत लगेको थियो ।
अदालतले म्याद थप गर्दै अनुसन्धानका लागि अनुमति दिइसकेपछि फर्काएर प्रहरी कार्यालय ल्याउने तयारी हुँदै गर्दा झुक्याएर दुवै जना फरार भएको जानकारी डीएसपी राईले दिए ।

म्याद थप गर्न अदालत लिएर गएका प्रहरीहरुमाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]