हिराबहादुर तामाङको नेतृत्वमा सुकुमवासी आयोगको प्रदेश कार्यसमिति गठन भएको भन्दै उनीहरुले माइनुट गर्ने, नागरिकता र फोटो माग्दै पैसा उठाउँदै गरेका थिए । यो गिरोहले भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीको नक्कली हस्ताक्षरसमेत प्रयोग गरेर पैसा उठाएको खुलेको छ ।
प्रदेश कार्यसमिति संयोजक भनिएका ३९ वर्षीय हिराबहादुरसँगै सदस्य ३० वर्षीय रमेशकुमार परियार, ३५ वर्षीय ओमबहादुर सुनार, ३७ वर्षीया रिता विश्वकर्मा, २२ वर्षीया सोनु परियार, २७ वर्षीया सीता सुनार, ५० वर्षीय हर्कबहादुर विश्वकर्मा, २४ वर्षीय मौसम सदासंकरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पोखरा ५ बस्ने हिराबहादुरको संयोजकत्वमा गठिन नक्कली आयोगका नाममा पोखराका विभिन्न ठाउँका व्यक्तिहरुलाई रसिद दिँदै ७ हजार रुपैयाँका दरले पैसा उठाउँदै आएको प्रमाण भूमिसम्बन्धी समस्या समाधान आयोगमा पुगेको थियो ।
आयोगले जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएको थियो । प्रशासनको निर्देशन अनुसार आइतबार दिउँसो नै प्रहरीले तामाङलाई पक्राउ गरेको थियो भने राति थप ४ जनालाई पक्राउ गरेको थियो । सोमबार बिहान हर्कबहादुरलगायत ३ जनालाई कार्यालयमै बोलाएर प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–१४ भोटे चौतारामा ३ सय रोपनी जग्गामा १ सय ६० जनालाई व्यवस्था गर्न लागिएको भन्दै उनीहरुले रसिद दिँदै पैसा उठाइरहेका थिए । पैसा उठाउनकै लागि उनीहरुले निजी घरमा अफिसको व्यवस्थासमेत मिलाएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।
‘भोटेचौताराको जग्गा उपलब्ध गराउने भन्दै माइनुट गर्ने, नागरिकता र फोटोको प्रति लिने र रसिद दिएर पैसा उठाउने रहेछन्,’ एसपी श्रेष्ठले भने, ‘हिजो र आजमै हामीले ८ जनालाई प्रक्राउ गर्यौं । योसँग सम्बन्धित अन्य व्यक्तिको पनि खोजी भइरहेको छ ।’
उनीहरुले पोखराका २३ जनासँग ७ हजार रुपैयाँका दरले पैसा उठाएको प्रमण फेला परेको एसपी श्रेष्ठले बताए । १ लाख ६१ हजार रुपैयाँ नगदसहित प्रहरीले उनीहरुलाई समातेको हो ।
नक्कली आयोगका गण्डकी प्रदेश संयोजक भनिएका तामाङ कर्तव्य ज्यान मुद्धामा कास्कीबाटै ४ वर्ष जेल भुक्तान गरेर निस्किएका व्यक्ति हुन् । ‘उनीहरुको सञ्जाल अझै ठूलो हुन सक्छ,’ एसपी श्रेष्ठले भने, ‘यससँग सम्बन्धित सम्पूर्ण विषय अनुसन्धानकै क्रममा छ ।’
उनीहरुलाई ठगी मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ । असोज २२ गतेमात्र कार्यसमिति गठन भएको माइनुट फेला परेको एसपी श्रेष्ठले जानकारी दिए ।
कास्की देशकै प्रमुख सुकुमबासी तथा अव्यवस्थित बसोवास समस्या भएको जिल्लामध्येमा पर्ने भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य तथा प्रवक्त भीम कार्की बताउँछन् ।
पोखरा वडा नम्बर १, ४, ९, २९ लगायतका ठाउँमा पनि उनीहरुले पैसा उठाएको गुनासो आइरहेको छ । कास्कीमा १५ हजारभन्दा बढी सुकुम्वासी तथा अव्यवस्थित रुपमा बसेको अनुमान छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]