प्याड बनाएर बेच्दै २३ वर्षे अभिषेक

बर्दियाका २३ वर्षीय अभिषेक ओली स्यानिटरी प्याड बेच्छन्। एक वर्षयता उनले ‘सदा केयर’ ब्रान्डमा स्यानिटरी प्याड उत्पादन गरेर बजार पुर्‍याइरहेका छन्। स्थानीय बजारलाई लक्षित गरेर थालेको उत्पादन अहिले बर्दियासहित कञ्चनपुर, कैलाली, बाँके, दाङ र सुर्खेत गरी ६ वटा जिल्लामा पुगेको छ।

‘यी जिल्लामा दैनिक दस कार्टनभन्दा बढी प्याड पुग्छ,’ अभिषेकले उत्साहित हुँदै सुनाए, ‘अन्य जिल्लाबाट पनि राम्रै माग आइरहेको छ।’

सदा केयर स्यानिटरी प्याड कम्पनीले अहिले तीन आकारका प्याड उत्पादन गरिरहेको छ-  २४० मिमी, २८० मिमी, ३२० मिमी लम्बाइका। यो भनेको छोटो, मध्यम र विशेषगरी राती सुत्दा प्रयोग गरिने लामो प्याड हो।

यी प्याडको मूल्य कम्तीमा ४० रूपैयाँदेखि सय रूपैयाँसम्म पर्छ। यसमध्ये बजारमा सबभन्दा कम मूल्यकै बढी बिक्री हुन्छ।

‘हाम्रो उत्पादन सहरमाभन्दा बढी गाउँघरमा पुगेको छ,’ उनले भने, ‘कम मूल्य भएकाले सहज भएको छ।’

एक कार्टनबाट उत्पादन थालेको सदा केयरले अहिले दैनिक दस कार्टन (२ हजार ५ सय वटा) प्याड उत्पादन गर्छ। यो सबै बिक्री हुने अभिषेक बताउँछन्। उत्पादन, प्याकिङ र मार्केटिङमा गरेर उनले सात जनालाई रोजगारी दिएका छन्।

अभिषेकका अनुसार केही महिनायता बजारमा प्याडको माग बढेको छ। उनैलाई पनि कहिलेकाहीँ उत्पादनभन्दा बढी माग आउँछ। त्यसरी माग बढेका बेला भने देशकै अन्य उद्योग र चीनबाट तयारी प्याड पनि ल्याएर बजार पठाउँछन्।

Sagoon Host

‘अटोमेटिक मेसिनले धेरै प्याड उत्पादन गर्छ तर हामीसँग अहिले सेमिअटोमेटिक मेसिन मात्र छन्,’ उनले सेतोपाटीसँग भने, ‘त्यसैले माग बढी आएका बेला तयारी प्याड आयात गरेर ग्राहकको आवश्यकता परिपूर्ति गर्छौं।’

बजार माग धान्न नसक्ने यस्तो अवस्थालाई मध्यनजर गर्दै उनले चाँडै अटोमेटिक मेसिन ल्याउने सोच बनाएका छन्। नयाँ मेसिन भएपछि मागअनुसार प्याड उत्पादन हुनेछ।

सदा केयरबाट उत्पादित र अन्तबाट ल्याइएका प्याड आइएसओ र विश्व स्वास्थ्य संगठनबाट प्रमाणित हुने उनको दाबी छ। उनका अनुसार विश्व स्वास्थ्य संगठनले पाँचदेखि ६ तहको, सोस्ने क्षमता कम्तीमा ५० मिलिलिटर हुनुपर्ने लगायत मापदण्ड तोकेको छ। सदा केयर ब्रान्डले यस्ता मापदण्ड कायम गरेको उनको भनाइ छ।

20% OFF SAGOON

अभिषेकले स्यानिटरी प्याड व्यवसायबाट महिनामा दुई लाख रूपैयाँ बचत गरिरहेका छन्। यसरी भएको बचतलाई उनले नयाँ उत्पादन ल्याउन लगानी गरे।

‘यही महिना (साउन) बाट बच्चाका लागि डाइपर बजारमा आउँदैछ,’ उनले भने, ‘आगामी दिनमा अरू उत्पादन थप्दै जाने योजना छ।’

आगामी दिनमा स्वास्थ्य तथा सरसफाइ क्षेत्रका उत्पादनमै काम गर्ने सोच छ उनको।

कतै बिक्री नभएपछि उनी सहर छाडेर गाउँतिर जाने सोच बनाए। बस्तीबस्ती पुगेर प्याड प्रयोग गर्न महिलाहरूलाई सम्झाउँदै हिँडे।

‘सुरूमा त गाउँमा पनि सजिलो भएन,’ उनी भन्छन्, ‘कतिपयले हेर्दै नहेरी नराम्रो प्रतिक्रिया दिन्थे, कतिपयले उल्टै जिस्काउथेँ।’

६ महिनासम्म निरन्तर उनले यसैगरी मार्केटिङ गरे। बिस्तारै गाउँमा प्याड बिक्री हुन थाल्यो। सुरूमा कसैले एउटा प्याकेट किनिदिँदा पनि उनी खुसीले फुरुंग हुन्थे। पछि मानिसहरूले एक दर्जन किन्न थाले।

‘नाफा कम लिएर भए पनि बजारमा प्याड बेच्न थालेँ। उनीहरूको घरको आँगनमै पुर्‍याएँ,’ उनी भन्छन्, ‘त्यो सुविधा पाएर पनि होला, धेरैले रूचाउनुभयो।’

सदा केयरले बजारमा गति लिन थाल्यो। त्यसपछि भने अभिषेक गाडीमा प्याड बोकेर हिँड्न छाडे। अफिसमा बसेर काम सम्हाले। गाउँका बस्तीबाट सुरू भएको सदा केयरको मार्केट अहिले होलसेल र डिलरसम्म पुगेको उनको भनाइ छ।

उत्पादन सुरू भएको एक वर्षमा छ जिल्लाका बजारमा सदा केयर प्याड फैलाउन सफल भएका छन् उनी। आगामी दिनमा देशभर पुर्‍याउने लक्ष्य छ।

स्वदेशी प्याड प्रयोग गर्न महिलाहरूलाई हौसलासमेत बाँडिरहेका अभिषेक सरकारप्रति भने खुसी छैनन्। सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमा आयातित प्याडलाई ९० प्रतिशत भन्सार शुल्क छुट दिने भनेसँगै उनी चिन्तित छन्। उनका अनुसार त्यसो हुँदा स्वदेशमा उत्पादितभन्दा विदेशबाट आएको प्याड सस्तो पर्छ।

‘आयातितलाई ९० प्रतिशत भन्सार शुल्क छुट दिने अनि स्वदेशीलाई ३० प्रतिशत कर यथावत नै राख्ने हो भने स्वदेशी उद्योग कसरी चल्छन्,’ उनी प्रश्न गर्छन्, ‘स्वदेशी कम्पनीले मूल्य बढाउना साथ ग्राहकको टाउको हान्नु जस्तै हो।’

अभिषेकले बरू स्वदेशी प्याड निर्यात गर्ने सपना देखेका छन्। सरकारले सहयोग गरे सजिलै निर्यात गर्न सकिने उनी बताउँछन्।

‘जुन कुरा स्वदेशमै उत्पादन हुन्छ, माग धान्न सक्ने क्षमता छ, त्यो किन आयात गर्ने,’ उनले थपे, ‘आयात गर्ने नै हो भने त्यसमा कर बढाऔं। स्वदेशी उत्पादनमा कर घटाऔं।’

स्वदेशी प्याड कम्पनीहरूलाई कच्चा पदार्थ र कर छुट दिएमा प्रोत्साहन मिल्ने र आगामी दिनमा निर्यातको ठूलो सम्भावाना रहेको उनको भनाइ छ।

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु