
ललितपुर नगर प्रहरी प्रमुखमा सीताराम हाछेथु नियुक्त
१४ भदौ, ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथु नियुक्त भएका छन् । उनले आइतबारदेखि नगर प्रहरी प्रमुखको रुपमा काम गर्न थालेका ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।
हाछेथु नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् । लामो समय ट्राफिक प्रहरीको रुपमा काम गरेका उनी सडकमा ट्राफिक नियम पालनामा कडाइ गरेर चर्चित थिए । अवकाशपछि उनको विज्ञता ललितपुरको नगर प्रहरी बलमार्फत उपयोग गरिने महर्जनले बताए ।
हाल ललितपुरको नगर प्रहरीमा करिब १५ जना छन् । तर यसलाई छिटै बढाएर ७२ जना पुर्याइँदैछ । त्यसमा ३ जना प्रहरी निरीक्षक पनि हुनेछन् । यो टिम हाछेथुको कमाण्डमा हुनेछ ।
आफू नगर प्रहरी बल प्रमुख नियुक्त भएको हाछेथुले पनि पुष्टि गरे । उनले आफूले बोलेर नभई काम गरेर देखाउने प्रतिक्रिया दिए ।
श्रोत:-onlinekhabar
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]