
मुकुमलुङमा नो केबलकार पक्षले घोषणा गर्यो थप आन्दोलन
काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध मुन्धुमीस्थल मुकुमलुङ(पाथीभरा)मा निर्माण गर्न लागिएको केबलकार खारेजीको माग गर्दै आएको नो केबलकार पक्षधरले थप सशक्त आन्दोलनको घोषणा गरेका छन् ।
मुकुमलुङ ताङ्सेःप् चुम्भो तथा मुकुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिद्धारा आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मुकुमलुङ संरक्षणका लागि विगत ६ बषदेखि निरन्तर आन्दोलन भइरहेको तर राज्य तथा केबलकार निर्माण कम्पनी अझै पनि जबर्जस्तीपुर्वक केबलकार बनाउन लागिपरेको भन्दै नयाँ चरणको आन्दोलन घोषणा गरिएको छ । घोषित कार्यक्रमअनुसार आगामी पौष २२ देखि ताप्लेजुङका विभिन्न स्थानसहित पुर्वका सबै जिल्लाका गाउँघरमा भेला तथा छलफल आयोजना गर्ने, माघ १२ गते पुर्वका ताप्लेजुङ, पान्थर, तेह्रथुम, इलामसहित ९ जिल्ला, मेची राजमार्ग र तमोर करिडोरका विभिन्न स्थानमा कोणसभा र माघ १४ गतेदेखि मेची राजमार्ग र तमोर करिडोरमा विरोध प्रदर्शन तथा सचेतना कार्यक्रम हुनेछन् ।
यसैगरि आगामी माघ १६ गते ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा जनप्रदर्शन र कोणसभा, माघ १७ गते मुकुमलुङ संरक्षणका लागि ताप्लेजुङमा भएको आन्दोलनका घाइतेहरुलाई सम्मान गरिनेछ भने माघ १८ गते हाक्पारे(कान्छीथान)देखि मुकुमलुङ माङ्धान स्थालसम्म धागो टाँग्ने कार्यक्रम सम्मन्न हुनेछ ।
त्यसपछि माघ १९ मा मुकुमलुङ क्षेत्रमा विरोध प्रदर्शन र कोणसभा र माघ २० गतेदेखि माघ मसान्तसम्म स्थानीय तहमा गठन भएका मुकुमलुङ संरक्षण तथा सहयोग समितिहरुको सुदृढीकरण, विस्तार र सशक्तिकरणका साथै मुकुमलुङ संरक्षणको मुद्दालाई आसन्न निर्वाचनको प्रमुख एजेण्डा बनाएर जनस्तरमा लैजाने कार्यक्रमहरु संचालन गरिने बताइएको छ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


