
भरतपुरको कुमारी बैंक शाखामा नेपाल भ्यालुयर्स एसोसियसनको धर्ना
चितवन, मङ्गसिर ५-
नेपाल भ्यालुयर्स एसोसियसन चितवन च्याप्टरले कुमारी बैंक भरतपुर शाखामा धर्ना दिएको छ । वीरगन्ज च्याप्टरका सदस्य इन्जिनियर राजेसकुमार चौरासीयालाई केन्द्रीय अनुसन्धान व्युरोले २२ गते नियन्त्रणमा लिएपछि एसोसिएसन आन्दोलित बनेको हो । बैंकको भरतपुर शाखामा १ घण्टा धर्ना दिएका छन् ।
गायक योगेश्वर अमात्यको बारामा रहेको १२ बिघा १ कट्ठा जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड ऋण प्रवाह कार्यमा संलग्न भएको आरोपमा ३ जना ऋणी पक्षका, १ जना बैंकका कर्मचारी, जग्गा मूल्यांकनकर्ता इन्जिनियर चौरासीया प्रहरी हिरासतमा छन् । नक्कली कागजात बनाएर ऋण स्वीकृति दिएको भन्दै कुमारी बैंक आलोचित बनेको छ ।
चितवन च्याप्टरले प्ले कार्ड सहित धर्ना दिएको थियो । प्ले कार्डमा काम गर्नेलाई इज्जत किनरु, गलत गर्नेलाई कारवाही गर, इञ्जिनियरलाई होइन लगायतका नारा थिए । चितवन च्याप्टर अध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठले चौरासीयाको निशर्त रिहाइ नभएसम्म कडा आन्दोलन गरिने बताए । बैंकले उपलब्ध गराएको कागजातको शुद्धताको परिक्षण गर्ने काम मूल्यांकनकर्ताको नहुने बताए ।
चितवन च्याप्टरका उपाध्यक्ष पुरन सुवेदीले २४ गतेदेखिनै बैंक तथा वित्तीय संस्थामा धितो मुल्यांकनको काम रोकिएको बताए । उनका अनुसार चितवनमा ४० जना संगठित धितो मुल्यांकनकर्ता इन्जिनियरहरु छन् । नेपाल भ्यालुयर्स एसोसिएसनले आज देशभरका च्याप्टरहरु मार्फत विरोध तथा धर्ना गरेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



