हत्याराहरू

हेनरी’ज रेस्टुराँको भोजनकक्षको ढोका खुल्यो र दुईजना मानिस भित्र छिरे । उनीहरू काउन्टरकै अगाडि गएर बसे ।

‘तपाईंहरूका लागि के टक्र्याऊँ ?’ रेस्टुराँ सञ्चालक तन्नेरी जर्जले उनीहरू सामु उभिएर सोध्यो ।

‘मलाई त ठ्याक्कै यही नै चाहिन्छ भन्ने थाहा छैन,’ तीमध्ये एकजनाले अर्कोसँग भन्यो, ‘एल, तिमी के खान्छौ ?’

‘मलाई पनि थाहा छैन,’ एलले भन्यो, ‘आफूले के खाना खोजेको हो भनेर आफैँलाई थाहा छैन ।’

बाहिर समय अँध्यारिँदै गइरहेको थियो । रेस्टुराँबाहिर लहरै उभिएका सडकबत्तीझलमलाउन थाले ।काउन्टरअगाडि बसिरहेका दुईजना मानिस खानासूची -मेन्यु- हेर्दै थिए ।

काउन्टरको अर्को छेउमा उभिएको रेस्टुराँमा कार्यरत,उमेरले तन्नेरी हुँदै गरेको ठिटो,निक एडम्सले उनीहरूलाई नियालिरहेको थियो । ती दुई मानिस रेस्टुराँभित्र छिर्दा एडम्सले जर्जसित कुरा गरिरहेको थियो ।

‘मेरा लागि बँदेल पोलेको, स्याउको चटनी र आलु थिचेको (म्यास्ड पोट्याटो) लिएर आऊ,’ पहिलो मानिसले भन्यो ।

Sagoon Host

‘क्षमा गर्नुहोला, यी कुरा अहिले उपलब्ध छैनन् ।’

‘उसो भए तिमीहरूले के खान यसलाई मेन्युमा राखेको त ?’

‘त्यो त रातिको खानाका लागि हो,’ जर्जले नम्रतापूर्वक बेलीबिस्तार लाउँदै भन्यो, ‘तपाईंले यो खाना भरे साँझ छ बजे उप्रान्त पाउन सक्नुहुन्छ ।’

20% OFF SAGOON

जर्जले काउन्टरपछाडि झुण्ड्याइएको भित्ते घडीतिर हेर्‍यो ।

‘अहिले पाँच मात्रै बजेको छ ।’

‘तर घडीमा त पाँच बजेर पच्चीस मिनेट भएको देखिन्छ नि,’ दोस्रो मानिसले भन्यो ।

‘घडी बीस मिनेट अगाडि छ ।’

‘भर्सेला परोस् यो घडी,’ पहिलो मानिसले भन्यो, ‘अनि अहिले खानाका लागि तिमीहरूसित के छ त ?’

‘यहाँहरूका लागि कुनै पनि किसिमको स्यान्डविच म भर्खरै टकार्न सक्छु,’ जर्जले भन्यो, ‘तपाईंहरूले ह्याम र अण्डा, बेकन र अण्डा, लिभर र बेकन, अथवा स्टिक स्यान्डविच जे पनि रोज्न सक्नुहुन्छ ।’

‘मेरा लागि हरियो केराउसितको चिकेन क्रोकेट, क्रीम सस र म्यास्ड पोट्याटो लिएर आऊ ।’

‘हजूर, त्यो पनि रातिको मेन्यु हो र डिनरबेला मात्र टकार्ने गरिन्छ ।’

‘हामीले अहिले खान खोजेको सबै कुरा रातिको खाना खाने बेलामा मात्र टकार्ने, हँ ? तिमीहरू यसरी नै यहाँ ग्राहकको सेवा गर्दछौ, हगि !’

‘मैले यहाँहरूलाई ह्याम र अण्डा, बेकन र अण्डा, लिभर…’

 

मेरा लागि ह्याम र अण्डा ल्याइदेऊ,’ एल नाम गरेको मानिसले भन्यो । उसको टाउकोमा ‘डर्बी ह्याट’ थियो र उसले छाती वरिपरि टाँक भएको कालो ओभरकोट लगाएको थियो । ऊ गोरो थियो तर उसको अनुहार अलि सानो किसिमको थियो, उसका ओँठ पनि बल लगाएर टम्म बन्द गरे जस्ता थिए । उसको घाँटीमा रेशमको गलबन्दी थियो र दुवै हात पञ्जाभित्र सुरक्षित देखिन्थे ।

‘मेरा लागि बेकन र अण्डा ल्याइदिए हुन्छ,’ दोस्रो मानिसले भन्यो । आकारमा ऊ पनि लगभग एल जत्तिकै थियो । उनीहरूको अनुहार त फरक थियो तर उनीहरूले जुम्ल्याहाले जस्तै एकै किसिमको पोसाक लगाएका थिए । उनीहरूले लगाएको ओभरकोट दुवैका लागि निकै कस्सिएको देखिन्थ्यो । उनीहरू दुवैजनाकुहिना काउन्टरमाथि अड्याएर अगाडि ढल्केर बसेका थिए।

‘पिउनका लागि केही चीसो-सीसो पनि छ ?’ एलले सोध्यो ।

‘चीसोमा अहिले सिल्भर बियर, बेभो र जिन्जर-एल छ,’ जवाफमा जर्जले भन्यो ।

‘मेरो मतलब बियर, वाइन आदि मदिराजन्य केही छ कि भन्ने हो ?’

‘मैले अघि भर्खर भनेका पेय पदार्थ मात्र छन्, तीबाहेक अरू केही छैन ।’

‘यो तातो सहर हो, यहाँ गर्मी निकै हुन्छ,’ अर्को मानिसले भन्यो, ‘के भन्छन् रे यो ठाउँलाई ?’

‘समिट।’ (यो ठाउँ एलिनोई राज्यमा पर्दछ) ।

‘कहिल्यै यस्तो भनेको सुनेका छौ ?’ एलले आफ्नो साथीलाई सोध्यो ।

‘छैन,’ जवाफमा साथी बोल्यो ।

‘तिमीहरूले रातिमा यहाँ के गर्छौ?’ एलले सोध्यो ।

‘तिनीहरूले राति खाना खान्छन्,’ साथीले भन्यो, ‘तिनीहरू सबैजना यहाँ आउँछन् र भव्य रात्रिभोज गर्छन् ।’

‘ठीक भन्नुभयो,’ जर्जले भन्यो ।

‘ए, उसो भए तिमीलाई त्यही कुरा ठीक लाग्छ ?’ एलले जर्जलाई सोध्यो ।

‘हजूर, निश्चय पनि ।’

‘तिमी चलाकजस्ता देखिन्छौ, होइन त ?’

‘हजूर, त्यस्तै होला,’ जर्जको जवाफ थियो ।

‘ए, तर तिमी त्यस्ता छैनौ,’ अर्को होचो मानिसले भन्यो, ‘ऊ चलाख छ र, एल ?’

‘ऊ लाटो भए जस्तो छ,’ एलले भन्यो र निकतिर फर्केर उसलाई सोध्यो, ‘तिम्रो नाम के हो ?’

‘एडम्स ।’

‘अर्को फूर्तिलो युवक,’ एलले भन्यो, ‘ऊ फूर्तिलो छैन त म्याक्स ?’

‘लाग्छ, यो सहर फूर्तिला केटाहरूले भरिएको छ,’ म्याक्सले भन्यो ।

जर्जले दुई थरी परिकार ल्याएर उनीहरूका अगाडि काउन्टरमा राखीदियो, एकजनाका लागि ह्याम र अण्डा अनि दोस्रो मानिसका लागि बेकन र अण्डा । साथमा उसले दुई प्लेट तारेको आलु (फ्राइड पोट्याटो) पनि ल्याएको थियो । काउन्टरमाखाना पुर्‍याएर जर्ज भान्सातिर जाने सानो ढोका बन्द गर्दै भित्रतिर लाग्यो ।

‘तिम्रो कुन चाहिँ हो ?’ उसले एललाई सोध्यो ।

‘तिमीलाई सम्झना छैन र ?’

‘ह्याम र अण्डा ।’

‘यो हो नि कुरा, चलाख मान्छे,’ म्याक्सले भन्यो । ऊ अगाडि निहुरियो अनि ह्याम र अण्डा परिकार आफूतिर तान्यो । उनीहरू दुवैजनाले आफूहरूले लगाइरहेको पञ्जा पनि नखोलीकनै आ-आफूले रोजेको खाना खाए । जर्जले उनीहरूले खाइरहेको हेरिरह्यो ।

‘के हेरिरहेको तिमीले ?’ म्याक्सले जर्जलाई सोध्यो ।

‘केही पनि होइन ।’

‘भर्सेला परोस् । तिमी मतिर हेरिरहेका थियौ ।’

‘म्याक्स, सायद उसले यसलाई ठट्टा भन्ठानेको होला,’ एलले भन्यो ।

जर्ज हाँस्यो ।

‘तिमी हाँस्नु पर्दैन,’ म्याक्सले उसलाई भन्यो, ‘तिमीले कत्ति पनि हाँस्नै हुँदैन, बुझ्यौ ?’

‘हस्, ठीक छ हजूर,’ जर्जले भन्यो ।

‘हेर त, उसलाई यो ठीक छ जस्तो लाग्छ,’ म्याक्सले एलतिर फर्किएर भन्यो, ‘उसले सोच्दछ, ऊ हाँसेकोठीक छ । गज्जब छ बा !’

‘ए, ऊ त विचारक पो रहेछ,’ एलले भन्यो । उनीहरू अझै खाँदै थिए ।

‘काउन्टरको अर्कोतिर भएको त्यो चतुरे केटाको नाम के थियो रे ?’ एलले म्याक्सलाई सोध्यो ।

‘ए चतुरे केटा,’ म्याक्सले निकलाई सम्बोधन गर्दै भन्यो, ‘तिमी आफ्नो साथीलाई सँगै लिएर काउन्टरको अर्कोतिर जाऊ ।’

‘किन त्यस्तो गर्नु पर्‍यो र ?’ निकले सोध्यो ।

‘त्यस्तो खास कुनै कारण छैन ।’

‘तिमी मैले भनेको मानेर खुरुक्क अर्कोतिर गइहाल त,’ एलले भन्यो । निक काउन्टरको अर्को छेउबाट पछाडितिर गयो ।

‘यस्तो किन गर्नु पर्‍यो ?’ जर्जले सोध्यो ।

‘तिम्रो चासोको कुरा होइन,’ एलले भन्यो, ‘भान्साघरमा को छ ?’

‘त्यहाँ निगर (अश्वेत व्यक्ति) छ ।’

‘निगर भन्नाले के भन्न खोजेको ?’

‘हाम्रो भान्से एकजना निगर हो ।’

‘उसलाई यहाँ आउन भन ।’

‘उसलाई किन बोलाउनुपर्ने होला ?’

‘उसलाई यहाँ आउन भन ।’

‘हजूरहरूले आफूलाई कहाँ बसिररहेका छौँ भन्ने सोचिरहनुभएको छ ?’

‘हामीलाई राम्ररी थाहा छ आफूहरू कहाँ छौँ भनेर,’ म्याक्स नाम गरेको मानिसले भन्यो, ‘हामी सिल्ली देखिन्छौँ र ?’

‘अँ, बरु तिमी सिल्ली कुरा गरिरहेका छौ,’ एलले म्याक्सलाई भन्यो, ‘तिमी किन बिनासित्ती यो केटासित वादविवाद गरिबसेको ? ए, सुन त,’ उसले जर्जलाई भन्यो, ‘त्यो निगरलाई यहाँ आइहाल्न भन त ।’

‘किन, यहाँ बोलाएर उसलाई हजूरले के गर्न लाग्नुभएको हो र ?’

‘केही पनि होइन । आफ्नो दिमाग लगाऊ, चतुरे ।हामीले त्यो निगरलाई के पो गर्छौँ र ?’

जर्जले भान्साकोठातिर जाने गेटजस्तो सानो ढोका खोल्यो । ‘स्याम,’ उसले भित्र हेर्दै डाक्यो, ‘एक छिनलाई यहाँ बाहिर आऊ त ।’

भान्साकोठाको ढोका खुल्यो र त्यहाँबाट निगर बाहिर आयो । ‘के हो र ?’ उसले जर्जलाई सोध्यो । काउन्टरमा बसेका दुवैजनाले उसलाई हेरे ।

‘ल ठीक छ, निगर ।तिमी यहाँनिर आई उभिएर कुरा गर,’ एलले भन्यो ।

स्याम, त्यो निगर, किचेन एप्रोन लगाएरै बाहिर आएको थियो, ले काउन्टरमा बसेका ती दुईजना मानिसलाई हेर्‍यो । ‘भइहाल्छ नि, हजूर,’ उसले भन्यो । एल आफू बसेको स्टुलबाट जुरुक्क उठ्यो ।

‘म यो निगर र त्यो चतुरे केटासित सँगै भान्साकोठामा जाँदैछु,’ उसले भन्यो, ‘ल निगर, तिमी भान्साकोठातिरै र्फक । अनि चतुरे केटा, तिमी पनि ऊसँगै भित्र जाऊ ।’ अनि त्यो मानिस निक र भान्से निगरसितै भान्साकोठातिर गयो । उनीहरू भित्र पुगेसँगै ढोका पनि भित्रबाट बन्द भयो । काउन्टरमा बसिरहेको दोस्रो मानिस -म्याक्स- चाहिँ जर्जभन्दा ठीक उल्टो दिशातिर थियो ।उसले जर्जलाई हेरिरहेको थिएन बरु काउन्टरको पछाडितिर झुण्ड्याइएको ऐनामा हेरिरहेको थियो ।त्यो हेनरी’ज रेस्टुराँको काउन्टरमाथि कुनै कपाल काट्ने पसल -सेलुन) मा राख्नेजस्तो एउटा ठूलो ऐना पनि थियो ।

‘ल, चतुरे ठिटा,’ म्याक्सले त्यही ऐनामा हेर्दै जर्जलाई भन्यो, ‘तिमी किन केही भन्दैनौ ?’

‘यो सब के हो ? के भइरहेको हो यो ‘

‘ए सुन त एल,’ म्याक्सले स्वर अलि ठूलो पारेर भन्यो, ‘यो चतुरे ठिटो यो सबै के कुरा हो भनेर जान्न चाहन्छ ।’

‘तिमीले नै उसलाई किन नभनेको ?’ भान्साकोठाबाट एलको आवाज आयो ।

‘तिमीलाई के लाग्छ, यो सब के भइरहेको होला ?’

‘म जान्दिन ।मलाई केही थाहा छैन ।’

‘तिमी के सोच्दछौ ?’

म्याक्सले आफू जे जति बोलिरहेको भए पनि हरेक समय ऐनामै हेरिरहेको थियो ।

‘म केही भन्न सक्दिन ।’

‘एल ! सुन त, यो चतुरे ठिटाले यहाँ सब के भइरहेको छ भन्ने सम्बन्धमा उसले के सोचिरहेको छ भनेर हामीलाई भन्दैन रे ।’

‘मैले तिमी बोलेको सबै सुनिरहेको छु, ठीक छ,’ एलले भान्साकोठाबाटै भन्यो । उसले भोजनकक्षबाट जुठा भाँडा भान्साकोठामा लैजाने गेटजस्तो सानो ढोका क्याचअप शिशीले अड्याएर त्यही सानो ढोकाको आड लिइरहेको थियो । ‘सुन,चतुरे ठिटा,’ जर्जलाई सम्बोधन गर्दै उसले भान्साकोठाबाटै भन्यो, ‘त्यहाँ डि्रङ्कस बारसँगै भएर अलि पर उभिऊ । अनि म्याक्स, तिमी पनि अलि देब्रेतिर सर त ।’ ऊ मानौँ कुनै फोटाग्राफर थियो र कुनै सामूहिक तस्बिर लिने तयारी गर्दै थियो ।

‘मसित कुरा गर चतुरे ठिटा,’ म्याक्सले भन्यो, ‘यहाँ अब के हुन गइरहेको छ भन्नेबारे तिमी के सोच्दछौ ?’

जर्जले केही भनेन । चुपचाप उभिइरह्यो ।

‘पख, तिमीलाई म भन्छु,’ म्याक्सले भन्यो, ‘हामी एकजना स्वेड -स्विडेनको नागरिक) लाई मार्नेवाला छौँ । के तिमीले ठूलो जीउडाल भएको ओले एन्डर्सन भनिने स्वेडलाई चिनेका छौ ?’

‘हजूर, चिनेको छु ।’

‘ऊ खाना खानका लागि हरेक साँझ यहाँ आउने गर्दछ, होइन त ?’

‘हो, उहाँ कहिलेकाहीँ यहाँ आउनुहुन्छ ।’

‘ऊ यहाँ छ बजे आउने गर्दछ, होइन त ?’

‘यदि उहाँ आउनुभयो भने ।’

‘हामीलाई यो सबै थाहा छ, चतुरे ठिटा,’ म्याक्सले भन्यो,’ल, अब अरू केही कुरा गरौँ । कहिल्यै सिनेमा हेर्न जाने गरेका छौ ?’
‘हजूर, कहिलेकाहीँ जाने गरेको छु ।’

‘तिमीले सिनेमा अलि धेरै हेर्ने गर्नुपर्छ । सिनेमाहरू तिमीजस्ता चतुरे केटाहरूका लागि निकै राम्रो कुरा हो ।

‘हजूरहरू ओले एन्डर्सनलाई किन मार्न खोज्दै हुनुहुन्छ ? उहाँले हजूरहरूलाई के नराम्रो गर्नुभएको छ र ?’

‘उसले हामीलाई केही नराम्रो गर्ने कहिल्यै कुनै अवसरसमेत पाएको छैन । उसले कहिल्यै हामीलाई देखेको पनि छैन ।’

‘अनि अब उसले हामीलाई केवल एकपटक मात्र देख्ने छ,’ एलले भान्साकोठाबाट भन्यो ।

‘अनि उसो भए हजूरहरू किन उहाँलाई मार्न चाहिरहनुभएको छ त ?’ जर्जले फेरि सोध्यो ।

‘एकजना साथीकालागि भनेर हामीले उसलाई मार्नेहो । साथीको कुरा काट्न नसकेर मात्र हो, चतुरे ठिटा ।’

‘चुप लाग,’ भान्साकोठाबाटै एल चिच्यायो, ‘तिमी चाहिनेभन्दा निकै बेसी बोल्दै गइरहेका छौ ।’

‘ए, होइन, होइन । म त जम्मा यो चतुरे ठिटोलाई मनोरञ्जन मात्र गराउँदै छु । मैले त्यसै गरिरहेको छैन त चतुरे ठिटा ?’

‘तिमी धेरै बतुराउँछौ,’ एलले भन्यो, ‘यहाँ निगर र मसित भएको अर्को चतुरे ठिटो आफैँमा रमाइरहेका छन् । मैले उनीहरू दुवैजनालाई स्कुलमा केही केटी साथीहरूलाई गर्ने गरे जस्तै गरी बाँधेर राखेको छु ।’

‘मलाई लाग्छ, तिमी अहिले त्यही कन्भेन्ट स्कुलमा नै छौ ।’

‘आफू कतिबेला कहाँ पुगेको हुन्छु भन्ने जस्तो कुरा हत्पति थाहा हुँदैन ।’

‘तिमी कोशरक्षेत्रको स्कुलमा थियौ । तिमीले पढेको स्कुल त्यही ठाउँमा थियो ।’

जर्जले घडीतिर हेर्‍यो ।

‘यदि यहाँ कोही आइहाले भने उनीहरूलाई ‘कुक विदामा छ’ भनीदिनु, त्यसो भन्दाखेरि पनि उनीहरू भित्रै बस्ने गरी आए भने तिमीले आफू नै भान्साकोठामा गएर पकाएर ल्याउँछु भन्नु । मैले भनेको बुझ्यौ, होइन त चतुरे ठिटा ?’

‘हजूर, ठीक छ,’ जर्जले भन्यो, ‘अनि त्यसपछि हजूरहरूले के गर्नुहुन्छ ?’

‘परिस्थितिमा भर पर्छ,’ म्याक्सले भन्यो, ‘त्यो यस्तो कुरा हो जुन समयभन्दा पहिले कसैलाई कहिल्यै थाहा हुँदैन ।’

जर्जले फेरि घडीतिर हेर्‍यो । साँझको बेला, सवा छ बज्दै थियो । सडकतिर रहेको रेस्टुराँको ढोका बाहिरतिरबाट कसैले खोल्यो र एकजना नियमित ट्याक्सीचालक-ग्राहक भित्र छिर्‍यो ।

‘हेलो, के छ जर्ज ?’ उसले भन्यो, ‘अहिले खाना पाइन्छ ?’

‘यति बेला त स्याम बाहिर गएका छन्,’ जर्जले भन्यो, ‘उनी लगभग आधा घण्टापछि मात्र आउनेछन् ।’

‘ठीक छ, म बाहिर अन्यत्र कतै जान्छु,’ त्यो ट्याक्सीचालकले भन्यो । जर्जले फेरि घडीतिर हेर्‍यो । छ बजेर बीस मिनेट भएको थियो ।

‘राम्रो काम गर्‍यौ, चतुरे ठिटा,’ म्याक्सले भन्यो, ‘उमेर सानो भए पनि तिमी भलादमी रहेछौ ।’

‘उसलाई थाहा थियो, उसले यताउति केही गरेको भए मैले उसको टाउको कच्याककुचुक पारीदिन्थेँ,’ भान्साकोठाबाट ठूलो स्वरमा एलले भन्यो ।

‘होइन,’ म्याक्सले भन्यो, ‘त्यस्तो केही होइन । यो चतुरे ठिटो असल छ । यो असल केटा रहेछ । मलाई यो एकदम ठीक लाग्यो र मैले त रुचाएँ पनि ।’

घडीले छ बजेर पचपन्न मिनेट भएको संकेत गर्‍यो । त्यो हेर्दै जर्जले भन्यो, ‘अब उहाँ आउनुहुन्न ।’

अरू पनि दुईजना मानिस आएर भोजनकोठामा बसेका थिए । एकजना ग्राहकले आफूसँगै लिएर जाने भएकोले ‘टू गो’ ह्याम-अण्डा स्यान्डविच बनाउनजर्ज भान्साकोठातिर गयो । भित्र भान्सामा उसले एललाई देख्यो जसले आफ्नो डर्बी ह्याट पछाडितिर ढल्काएको थियो र भान्साकोठा छिर्ने सानो ढोकासँगै अडेसिए जस्तो गरी स्टुलमा बसेको थियो । जर्जले यो पनि देख्यो- एलले आफ्नो छेवैमा एउटा सानो ‘स्वाड-अफ शटगन’ बन्दुक पनि लुकाइराखेको थियो ।निक र कुक स्याम पनि त्यहीँ कुनामा सँगसँगै बाँधिएका थिए, उनीहरू दुवैजनाको मुखमा कपडा कोचिएको थियो ।जर्जले स्यान्डविच तयार पार्‍यो, तेलयुक्त कागजमा प्याक गर्‍यो, एउटा झोलाभित्र राख्यो र बाहिर लिएर आयो । त्यो मानिसले स्यान्डविचको पैसा तिर्‍यो र रेस्टुराँबाट बाहिरियो ।

यो चतुरे ठिटाले सबै कुरा गर्न सक्दछ,’ म्याक्सले भन्यो, ‘उसले खाना बनाउनेसमेत सबै कुरा गर्न सक्दछ । तिमीले कुनै पनि केटीलाई आफ्नी असल श्रीमती पनि बनाउन सक्छौ, बुझ्यौ चतुरे ठिटा ?’

‘हजूर,’ जर्जले भन्यो, ‘हजूरको साथी ओले एन्डर्सन अब आज आउनु हुँदैन होला ।’

‘हामीले उसलाई अझै दश मिनेट समय दिन्छौँ,’ म्याक्सले भन्यो ।

म्याक्सले ऐना पनि र घडी पनि हेर्‍यो । घडीका सूईहरूले पहिले सात बजेको र त्यसपछि सात बजेर पाँच मिनेट बितेको संकेत गरे ।

‘आऊ यार एल,’ म्याक्सले भन्यो, ‘अब हामी हिँड्दा बेस होला । ऊ अब आउँदैन ।’

‘फेरि थप पाँच मिनेट दिँदा राम्रै होला,’ एलले भान्साकोठाबाटैभन्यो ।

पाँच मिनेटपछि अर्को एकजना मानिस रेस्टुराँभित्र छिर्‍यो । जर्जले उसलाई ‘कुक बिरामी भएको’ विवरण सुनायो ।

‘तिमी साइँधुवाहरूले अर्को कुकको व्यवस्था किन नगरेको त ?’ त्यो मानिसले रिसाएको जस्तो स्वरमा भन्यो, ‘तिमीहरूले खाना खुवाउने रेस्टुराँ खोलेको होइन र ?’ यति भनिसकेर ऊ बाहिरियो ।

‘ल, एल ! बाहिर आऊ,’ म्याक्सले भन्यो ।

‘यी दुईजना चतुरे ठिटा र यो निगरलाई के गर्ने त ?’

‘उनीहरू ठीक छन् । उनीहरूलाई केही गर्न पर्दैन ।’

‘तिमीलाई त्यस्तो लाग्छ ?’

‘अवश्य । अब यहाँ हाम्रो काम सकियो ।’

‘तर मलाई यो ठीक लागेन,’ एलले भन्यो, ‘सबै कुरा असावधानीपूर्वक गरेझैँ र अव्यवस्थित जस्तो भयो । फेरि, तिमी पनि चाहिनेभन्दा बढी बतुराउँछौ ।’
‘आच्या, के भो र ?’ म्याक्सले भन्यो, ‘किन मन बिगार्छौ ? हामीले मनोरञ्जन लिनु थियो, त्यस्तै होइन र ?’

‘तिमी जहिले जहाँ पनि बढी बढी बोलिरहन्छौ,’ एलले भन्यो । ऊ भान्साकोठाबाट बाहिर निस्क्यो । शटगन बन्दुकको ब्यारलले उसले लगाएको कस्सिएको ओभरकोटमा कम्मरमुनि केहीकुरा माथि उक्सिएको देखिएको थियो । उसले त्यहाँ बस्दा यताउता खुम्चिन पुगेको ओभरकोट पञ्जा लगाएकै हातले तानतुन पारेर सोझ्यायो ।

‘ल त चतुरे ठिटा, फेरि भेटौँला,’ उसले जर्जलाई भन्यो, ‘तिमी धेरै भाग्यमानी भए ।’

‘हो, साँचो कुरा गर्‍यौ,’ म्याक्सले भन्यो, ‘तिमीले दौड प्रतियोगिताहरूमा पनि भाग लिनुपर्दछ, बुझ्यौ चतुरे ?’

ती दुवैजना रेस्टुराँको ढोकाबाट बाहिरिए । जर्जले झ्यालबाट उनीहरूलाई हेरिरह्यो, सडकबत्तीमुनि हुँदै रेस्टुराँतिर आउने घुम्ती नाघेर ओझेल नपर्दासम्म । आफ्ना कस्सिएका ओभरकोट र डर्बी ह्याटमा उनीहरू विभिन्न किसिमले मनोरञ्जन प्रदान गर्ने कुनै ‘भाउडेभाइल टोली’का सदस्यजस्ता लाग्दथे । जर्ज उनीहरू दुईजना गइसकेपछि अझैसम्म यताउता गर्दै हल्लिरहेको ढोकाबाट हुँदै भान्साकोठामा गयो र अझै बाँधिएको अवस्थामा निरीह देखिएका निक र कुक दुवैलाई बन्धनमुक्त गरीदियो ।

‘मलाई यस किसिमको अरू केही चाहिँदैन,’ स्याम -रेस्टुराँको कुक- ले भन्यो, ‘मलाई यस किसिमको थप केही पनि चाहिँदैन ।’

निक उभियो । उसको मुखमा यसअघि कहिल्यै कपडा कोचिएको थिएन, न ऊ आफैँले र न अन्य कसैले ।

‘भन त,’ उसले भन्यो, ‘तिनीहरूले के फत्तुर गर्न लागेका थिए ?’ ऊ एक किसिमले अक्ककड देखाउँदै भर्खर भए देखिएका कुरा टुङ्ग्याउने कोसिस गरिरहेको थियो ।

‘उनीहरू ओले एन्डर्सनलाई मार्न खोजिरहेका छन्,’ जर्जले भन्यो, ‘उनीहरू उहाँ यहाँ खाना खान आएको मौका छोपी उहाँलाई गोली हानेर मार्न आएका रहेछन् ।’

‘ओले एन्डर्सन ?’

‘अँ, हो ।’

कुकले आफैँलाई यक्कीन दिलाउन दाहिने हातको बुढी औंला भित्र-बाहिर घुमाएर आफ्नो मुखका दुई छेउ ठीकठाक रहे नरहेको टुङ्गो गर्‍यो ।

‘अनि उनीहरू सबैजना गइसके त ?’ उसले सोध्यो ।

‘हो,’ जर्जले भन्यो, ‘उनीहरू दुवैजना गइसके ।’

‘मलाई यो सब पटक्कै मन परेन,’ कुकले भन्यो, ‘मलाई यी सबै कुरा कत्ति-कत्ति पनि मन परेन ।’

‘सुन त,’ जर्जले निकलाई भन्यो, ‘बरु तिमी ओले एन्डर्सनलाई खोज्न जाऊ ।’

‘हुन्छ, म जान्छु ।’

‘तिमीलाई यी सबै कुराहरूसित केही लिनुदिनु छैन,’ स्याम, रेस्टुराँको कुक, ले भन्यो, ‘राम्रो के हुन्छ भने तिमी यी सबै कुराबाट टाढै बस ।’

‘तिमीलाई जान मन लाग्दैन भने नगए पनि हुन्छ,’ जर्जले भन्यो ।

‘यी सबै कुरामा सामेल भएर तिमीले केही पाउनेवाला छैनौ,’ कुकले भन्यो, ‘तिमी यो मामिलाबाट अलग्गै बस ।’

‘म उहाँलाई खोज्न जान्छु,’ निकले जर्जलाई भन्यो, ‘उहाँ कहाँ बस्नुहुन्छ ?’

कुक पछाडि फर्कियो ।

‘यी ठिटाहरूलाईआफूहरूले के गर्न खोजेको हो भन्ने सबै थाहा हुन्छ,’ उसले भन्यो ।

‘उहाँहर्क रुमिङ हाउसभवनमा डेरा गरी बस्नुहुन्छ,’ जर्जले निकलाई बतायो ।

‘ठीक छ, म त्यहाँ जान्छु ।’

रेस्टुराँको बाहिरतिर पात झरेका वृक्षहरूका रित्ता हाँगाबाट भएर सडकबत्तीको उज्यालो अर्द्धगोलाकार आकार बनाउँदै वरिपरि फैलिएको थियो । निक सडकपेटीबाट हिँड्दै अगाडि बढ्दै गयो र अलि टाढा पुगेपछि छेउतिरको घुम्तीबाट अर्कोतिर मोडियो । त्यही गल्लीमा तीन घर उता हर्क रुमिङ हाउस भवन थियो । निक दुई भर्‍याङ माथि उक्लियो र घरको संकेतघण्टी थिच्यो । एकजना महिला ढोकामा देखा परिन् ।

‘के ओले एन्डर्सन घरमै हुनुहुन्छ ?’

‘के तिमीले उहाँलाई भेट्नुपर्ने हो ?’

‘हजूर, यदि उहाँ घरमै हुनुहुन्छ भने ।’

निकले ती महिलालाई पछ्याउँदै अरू केही खुड्किला भर्‍याङ माथि उक्लिनुपर्‍यो र एकछिन खाली ठाउँ हिँडेपछि उनीहरू रोकिए । महिलाले ढोका ढक्ढक्याइन् ।
‘को हो ?’ भित्रबाट आवाज आयो ।

‘कोही एकजना हजूरलाई भेट्न आउनुभएको छ, सर,’ ती महिलाले भनिन् ।

‘म निक एडम्स हूँ ।’

‘ए, भित्र आए हुन्छ ।’

निकले ढोका उघार्‍यो र कोठाभित्र पस्यो । ओले एन्डर्सन,सायद दिउँसैदेखि लगाइरहेका, कपडा नफेरिकन नै ओछ्यानमा ढल्केका थिए । उनी हेभीवेट समूहका पुरस्कार विजेता मुक्केबाज थिए । आफू ढल्किरहेको ओछ्यानभन्दा उनको शरीर लामो थियो ।उनले दुईवटा सिरानी खप्ट्याएरत्यसमाथि टाउको अढ्याएका थिए । उनले निकतिर हेर्दा पनि हेरेनन् ।

‘के काम थियो ?’ उनले सोधे ।

‘म हेनरी’ज रेस्टुराँमा थिएँ,’ निकले भन्यो, ‘त्यति नै बेला दुईजना मानिस त्यहाँ आए र मलाई अनि कुकलाई डोरीले बाँधे । उनीहरू हजूरलाई मार्न रेस्टुराँमा आएको भन्दै थिए ।’

निकले त्यसो भनिरहँदा सिल्ली कुरा गरेजस्तो सुनिएको थियो । ओले एन्डर्सनले केही पनि भनेनन् ।

‘उनीहरूले हामीलाई भान्सामा थुनेर राखे,’ निकले भन्दै गयो, ‘उनीहरू हजूर रेस्टुराँमा खाना खान आएको मौका छोपी हजूरलाई गोली हानी मार्ने गरी त्यहाँ आएका थिए ।’
ओले एन्डर्सनले भित्तातिर हेरे तर केही पनि बोलेनन् ।

‘जर्जलाई के लाग्यो कुन्नी, उनले मलाई यहाँ आएर हजूरलाई सबै कुरा भन्नुपर्छ भनेर सुझाए ।’

‘ल, त्यो सबै त थाहा पाएँ तर यसमा मैले गर्न सक्ने केही पनि छैन,’ ओले एन्डर्सनले भने ।

‘उनीहरू कस्ता देखिन्छन् भनेर म हजूरलाई बताउँछु ।’

‘मलाई उनीहरू कस्ता देखिन्छन् भनेर जान्नु परेको छैन,’ ओले एन्डर्सनले भने । उनले भित्तातिर हेरिरहे अनि फेरि भने, ‘मलाई यी सब कुरा भन्नका लागि यहाँसम्म आएकोमा तिमीलाई धन्यवाद ।’

‘हस् हजूर ।’

निकले अझसम्म ओछ्यानमै ढल्किइरहेको ठूलो जीउडालको मानिसलाई एकटक हेरिरह्यो ।

‘के हजूर चाहनुहुन्न, म यहाँबाट फटाफट प्रहरी बोलाउन गइहालूँ ?’

‘अहँ, पर्दैन,’ ओले एन्डर्सनले भने, ‘त्यसले केही राम्रो पनि गर्दैन र खासै फरक पनि पार्दैन ।’

‘के मैले हजूरका लागि गर्न सक्ने अरू केही पनि काम छैन र ?’

‘अहँ, छैन । अहिले तिमीले गर्नुपर्ने केही पनि काम छैन ।’

‘हुनसक्छ यो केवल झुक्याउन खोजेको चाल मात्र पो हो कि, ब्लफ फोनकल गरेजस्तो ?’

‘होइन । यो झुक्याउन खोजेको या ब्लफ-कल जस्तो होइन ।’

ओले एन्डर्सन अझ बढी भित्तातिरै ढल्किए ।

‘एउटै कुरा के हो भने,’ उनले मानौं भित्तासित कुरा गरिरहेको जस्तो गरी उतैतिर हेरिरहँदै भने, ‘म बाहिरफेर निस्कनेतर्फ केही सोच्नै सकिरहेको छैन । म आज दिनभरि यहीँ कोठाभित्रै छु ।’

‘के हजूर यो सहर छाडेर बाहिर जान सक्नुहुन्न ?’

‘अहँ, सक्दिन,’ ओले एन्डर्सनले भने, ‘म यही घनचक्करमा अलमलिएर बसिरहेको छु ।’

ओले एन्डर्सनका आँखा भित्तातिर एकोहोरिएका थिए ।

‘अब अहिले गर्नुपर्ने केही पनि छैन ।’

‘के हजूरले यो कुरालाई केही कसै गरी साम्य पार्न सक्नुहुन्न ?’

‘अहँ । मैले यसलाई गलत बुझेँ ।’ उनी पहिले जस्तै सपाट स्वरमा बोलिरहेका थिए, ‘अब यहाँ गर्नुपर्ने केही पनि छैन । त्यत्ति हो, एक छिनपछि मैले बाहिर निस्कने मन बनाउँछु ।’

‘उसो भए ठीकै छ, म फर्किन्छु र जर्जलाई सबै कुरा भन्छु,’ निकले भन्यो ।

‘ल हुन्छ, जाऊ,’ ओले एन्डर्सनले भने । उनले फर्केर निकलाई हेर्दा पनि हेरेनन् । यति मात्र भनेे, ‘यहाँ आएकोमा फेरि पनि तिमीलाई धन्यवाद ।’

निक कोठाबाट बाहिरियो ।बाहिर निस्केर ढोका बन्द गर्दै गर्दा उसले भित्र हेर्‍यो- ओले एन्डर्सन औपचारिक पोसाक लगाएकै अवस्थामा भित्तातिर हेर्दै ओछ्यानमा ढल्केका थिए ।

‘उहाँ दिनभरि आफ्नो कोठामै हुनुहुन्थ्यो,’ घरधनी महिलाले तल पुगिसकेको निकसित भनिन्, ‘मलाई लाग्छ, उहाँलाई सञ्चो भएन । मैले उहाँलाई भनेकी थिएँ पनि, ‘एन्डर्सनजी, तपाईं कोठाबाट बाहिर निस्कनु पर्छ र यस्तो राम्रो मौसम भएको जाडो दिनमा घुमेर आउनुपर्छ,’ तर उहाँले मेरो कुरामा ध्यानै दिनुभएन ।’

‘उहाँ कोठाबाट बाहिर कतै निस्कन चाहिरहनुभएको छैन ।’

‘मलाई दुःख लागेको छ, उहाँलाई सञ्चो भइरहेको छैन,’ ती महिलाले भनिन्, ‘उहाँ गज्जबको असल मानिस हुनुहुन्छ । तिमीलाई राम्रै थाहा होला नि, उहाँ एक अव्वल बक्सिङ खेलाडी हुनुहुन्छ ।’

‘हजूर, मलाई थाहा छ ।’

‘उहाँको अनुहार नहेरी यी केही कुरा थाहा हुँदैन,’ ती महिलाले भनिन् । उनीहरू सडकबाटै भित्र छिर्न मिल्ने ढोकाको भित्री भागतिर उभिएर कुरा गरिरहेका थिए । ‘उहाँ उत्तिकै भलाद्मी पनि हुनुहुन्छ ।’

‘हस, अब म फर्किन्छ । शुभरात्रि,हर्क म्याम,’ निकले भन्यो ।

‘म हर्क म्याम होइन,’ ती महिलाले भनिन्, ‘उहाँ त घरधनी पो हो । म त केवल उहाँको रोहबरमा यो घरको हेरचाह गर्ने मानिस हुँ । म श्रीमती बेल हूँ ।’
‘हस्, शुभरात्रि, श्रीमती बेल,’ निकले भन्यो ।

‘शुभरात्रि,’ ती महिलाले भनिन् ।

निक अँध्यारो बाटो हुँदै सडकबत्तीको उज्यालो फिँजिएको घुम्तीमा आइपुग्यो र त्यहीँ भएर जाने कार-मार्गको छेउछाउ हुँदै हेनरी’ज रेस्टुराँ प्रवेश गर्‍यो । त्यहाँ जर्ज थियो, काउन्टरपछाडि उभिएको ।

‘तिमीले ओले एन्डर्सनलाई भेट्यौ ?’

‘अँ, भेटेँ,’ निकले भन्यो, ‘उहाँ आफ्नै कोठामा हुनुहुन्छ र कतै बाहिर निस्कनुभएको छैन ।’

निक बोलेको सुनेर कुकले भान्साभित्रबाट ढोका उघार्‍यो ।

‘मलाई यो पनि केही सुन्नु छैन,’ उसले यति भन्यो र ढोका फेरि भित्रबाट ढ्याम्म बन्द गर्‍यो ।

‘अनि तिमीले उहाँलाई यहाँ भएका कुराबारे सबै भन्यौ त ?’ जर्जले सोध्यो ।

‘अँ, मैले उहाँलाई सबै कुरा भनेँ तर उहाँलाई पहिले नै यसबारे थाहा रहेछ ।’

‘अब उहाँले के गर्नुहुन्छ त ?’

‘केही पनि गर्नुहुन्न ।’

‘भनेपछि त उनीहरूले उहाँलाई मार्छन् ।’

‘मलाई पनि त्यस्तै लाग्छ, उनीहरूले उहाँलाई मार्छन् ।’

‘पक्कै पनि उहाँ शिकागोको कुनै ठाउँमा केही लफडामा पर्नुभएको हुनुपर्छ ।’

‘मलाई पनि त्यस्तै लाग्छ,’ निकले भन्यो ।

‘यो सबै कुरा केही ठूलै घनचक्कर जस्तो छ ।’

‘हो, पक्कै केही गहिरो कुरा हुनुपर्छ,’ निकले भन्यो ।

त्यसपछि उनीहरूमध्ये कोही केही बोलेन । जर्ज तल भुइँतलातिर गयो, फर्किंदाएउटा रुमाल लिएर आयो र त्यसैले काउन्टर सिनित्त पुछ्पाछ पार्‍यो ।
‘मलाई त थाहा नै भएन, उहाँले के गर्नुभएको रहेछ ? निकले सोध्यो ।

‘उहाँले कसैलाई धोका दिएको अथवा कसैलाई नराम्ररी छलेको होला । त्यसकारण नै त उनीहरूले उहाँलाई मार्न खोजिरहेका होलान् ।’
‘म त यो सहरबाटै बाहिरिन्छु,’ निकले भन्यो ।

‘हुन्छ,’ जर्जले भन्यो, ‘त्यसो गर्दा राम्रो होला ।’

‘म उहाँ र उनीहरू यो कोठाभित्र आउँदैछन् भन्ने जान्दाजान्दै त्यही विषयमा सोच्दै बसिरहन सक्दिन । त्यसो गर्नु त साह्रै उदेकलाग्दो पो हुन्छ ।’
‘जे होस्,’ जर्जले भन्यो, ‘तिमीले यसबारे केही नसोच्दै बेस होला ।’

****

(जुलाई सन् १८९९ मा जन्मेर जुलाई १९६१ मा दिवंगत भएका नोबेल साहित्य पुरस्कार विजेता अमेरिकी आख्यानकार अर्नेस्ट हेमिङ्ग्वेद्वारा लिखित प्रस्तुत कथा ‘हत्यारा’ -द किलर्स) पहिलोपटक सन् १९२७ मा ‘स्क्राइब्नर्स’ म्यागेजिनमा प्रकाशित भएको थियो । तत्कालीन अमेरिकामा संगठित अपराध शिखरमा रहेकै बेलामा लेखिएको यो कथा लगत्तैपछि उनकै ‘मेन विदआउट विमेन’, स्नोज अफ किलिम्यानजारो’ र ‘दि निक एडम्स स्टोरिज’ आदि कथा-सङ्ग्रहहरूमा पनि समावेश गरिएको थियो । हेमिङ्ग्वेले यस कथामा मानवीय अनुभव र व्यङ्ग्यका साथै मृत्यु, मित्रता र जीवनको उद्देश्य जस्ता शाश्वत विषयवस्तुबारे लेखेका छन् जसले गर्दा प्रस्तुत कथा हेमिङ्ग्वेका सबैभन्दा बढी सङ्कलित हुने सर्वाधक लोकपि्रय कथाहरूमध्ये पर्दछ । कथाको पात्र ‘निक एडम्स’ हेमिङ्ग्वेका अनेक कथाहरूमा अक्सर दोहोरिइरहने पात्र पनि हो । जीवनमा जम्मा सातवटा उपन्यास, छवटा कथा-सङ्ग्रह र दुईवटा गैर-आख्यान ग्रन्थ लेखेका हेमिङ्ग्वेका खासगरी ‘अ फेयरवेल टु आम्र्स’, ‘द ओल्ड म्यान एन्ड द सी’ ‘फर हुम द बेल टोल्स’, ‘टु हृयाभ एन्ड हृयाभ नट’ आदि अत्यधिक चर्चित उपन्यास हुन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु