माधव नेपालको प्रस्ताव- खर्च धेरै भयो, सबै चुनाव एकैपटक गरौं

‘प्रधानन्यायाधीशको विषय बुझ्न पाएको छैन’

१२ कात्तिक, पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक हुनुपर्ने धारणा राखेका छन् । उनले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव गर्नु उत्तम भएको बताएका छन् ।

पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न पाए खर्च पनि कम हुने र राष्ट्रको सम्पत्ति पनि जोगिने दाबी गरे । ‘एउटा प्रदेशको काम एकैचोटि सम्पन्न गर्ने, अर्को प्रदेशको एकैचोटि सम्पन्न गर्ने । राष्ट्रको सम्पत्ति पनि धेरै जोगिन्थ्यो होला,’ उनले भने, ‘कानुनी हिसाबमा केके अड्चन आउँछन्, थाहा छैन । तर, मेरो दिमागमा त्यो कुरा आइराखेको छ ।’

यद्यपि, नेता नेपालले सबै तहको चुनाव एकैपटक गर्ने विचार नितान्त व्यक्तिगतमात्रै भएको प्रष्ट्याए । कानुनी व्यवस्था र जटिलताबारे गठबन्धनसहित सरोकार निकायसँग आफूले अरुसँग छलफल गर्न नपाएकोसमेत उनले सुनाए ।

‘यसको कानुनी जटिलता केही छन् कि, होइन भने त्यही बाटोमा किन नजाने भन्ने कुरा हो । मलाई लाग्छ है, व्यक्तिगत रुपमा !’ नेपालले भने, ‘५ दलीय गठबन्धनमा यो कुरा राखेको पनि छैन । पार्टीको कानुन विभाग र निर्वाचन आयोगसँग पनि कुरा गर्न पाको छैन ।’

स्थानीय तहको चुनाव आगामी चैतमा गर्ने प्रधानमन्त्री देउवाले प्रस्ताव गरेका छन् । स्थानीय तहको चुनावलाई पछि सार्ने कि अरु चुनाव अघि गर्ने ? जवाफमा नेपालले भने, ‘यसबारे धेरै सोच्न पाएको छैन । मलाई लागेकोमात्रै हो ।’

‘प्रधानन्यायाधीशको विषय बुझ्न पाएको छैन’

विवादमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको विषयमा आफू अनविज्ञ रहेको अध्यक्ष नेपालले जिकिर गरेका छन् । उनले काम विशेषले बाहिर–बाहिर भएकाले त्यस विषयबारे आफूलाई जानकारी नभएको दाबी गरेका हुन् ।

उनले प्रधानन्यायाधीशलाई विवादमा ल्याउने काम एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सुरु भएको समेत आरोप लगाए । उनले भने, ‘उहाँले (ओली) अनेक किसिममा जालझेल, तिगडम गर्नुहुन्छ । सबैले (प्रधानन्याधीससहित ५ जना) राजीनामा दिनुपर्छ भनेर न्यायिक क्षेत्रको हुर्मत लिन खोज्दै हुनुहुन्छ ।’

ओलीले कसैको मानसम्मान नगर्ने सिस्टम भत्काउँदै हिँडेकाले न्यायिक क्षेत्र समस्यामा परेको नेपालको जिकीर छ । ‘हामी सिस्टम बसाल्दै जान्छौं, उहाँ सिस्टम भत्काउन चाहनुहुन्छ । यसकारण न्यायपालिका क्षेत्रमा केही समस्या भएका छन् भन्ने सुनेको छु,’ उनले भने, ‘बाहिरबाहिरै भएकाले अरु हिसाबले बुझ्न पाएको छैन ।’

नेपालले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनेबारे गठबन्धनमा कुरा नभएको समेत प्रष्ट्याए । ‘यो (महाअभियोगको कुरा) हामीबीच आएको पनि छैन । छलफल पनि भएको पनि छैन । यो हल्ला हो, हल्लाको पछि कुद्न जरुरी छैन,’ उनले भने । उनले अहिलेको गठबन्धन चुनावसम्मै जाने र एमालेलाई ‘टर्च बालेर’ खोज्ने स्थितिमा पुर्याउने दोहोर्याए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु