बागमती प्रदेश ‘साक्षर प्रदेश’ घोषणा
भरतपुर । बागमती प्रदेशलाई आइतबार साक्षर प्रदेश घोषणा गरिएको छ । । प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका ९७.२२ प्रतिशत व्यक्ति साक्षर भएकाले साक्षर प्रदेश घोषणा गरिएको हो । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् ।
मुख्यमन्त्री शाक्यले नेपालकै पहिलो साक्षर प्रदेश घोषणा गर्ने कार्यमा अनवरत रुपमा लाग्ने सबैलाई धन्यवाद दिएकी थिइन् । सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुंगेलले साक्षर प्रदेश घोषणासँगै आउने चुनौतीहरुको सामना गर्न सक्ने गरी मन्त्रालयले शैक्षिक योजना तयार गर्ने बताए ।
बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले सिन्धुपाल्चोकबाट सुरू भएको साक्षर जिल्ला घोषणा कार्यक्रमले काठमाडौँलाई साक्षर जिल्ला घोषणा गरिएसँगै साक्षर बागमती प्रदेश घोषणा अभियानेले मूर्तरुप लिएको बताए ।
मन्त्री सुवेदीले अझै पनि ४५ हजार ३४५ जना साक्षर हुन बाँकी रहेकोले यो घोषणा यस उमेर समूहका बाँकी मानिसहरु र अन्य उमेर समूहका सबै मानिसहरुलाई समेत समेटेर पूर्ण साक्षर बागमती प्रदेश निर्माणको अभियानको थालनी भएको जानकारी दिए ।
मन्त्री सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा साक्षर जिल्ला घोषणा गर्ने सबै जिल्ला समन्वय समितिका प्रमुखहरु र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरुलाई कदरपत्र तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



