विश्व किर्तिमानको लक्ष्य बोकेका खेलाडीलाई यूकेबाट आर्थिक सहयोग
काठमाडौं । नेपालीको पहिचान बोकेको खुकुरी प्रयोग गरेर ८ विधामा विश्व किर्तिमान राख्न लागि परेका खेलाडी किरण राईको उपचारका लागि युकेबाट संकलन गरि पठाईएको ७ लाख १३ हजार रुपैयाँ हालै कोटेश्वरस्थित किरात राई यायोक्खा, केन्द्रिय कार्यालयमा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको छ ।
यूके निवासी पूर्व बेलायती सैनिक, तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी एवम् सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका अध्यक्ष राष्ट्र राईको अगुवाईमा किरात राई यायोक्खा बेलायत र भोजपुर सेवा समाज बेलायतद्धारा संकलित उक्त रकम कार्यक्रमका प्रमुख अतिथि संघीय संसद सदस्य माननीय महेन्द्रा कुमारी लिम्बूले खेलाडी राईलाई हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा माननीय लिम्बूले छुट्टै ५ हजार रुपैयाँ व्यक्तिगत सहयोग गर्नुका साथै खेलाडी राईको उपचारका लागि चिकित्सकहरुसँग समन्वय गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
खेलाडी किरण राई विगत केही बर्षदेखि डिप्रेशनका साथै छालासम्वन्धी जटिल रोगसँग लडिरहेका छन् । कार्यक्रममै अल्ट्रा म्याराथुन धाविका मिरा राई, खेलाडी तथा “द कमाण्डो” चलचित्रका नायक राजकुमार राई, बिजय सुब्बालगायतले पनि खेलाडी राईलाई आर्थिक सहयोग प्रदान गरेका थिए ।
किराँत राई खेलकुद संघका अध्यक्ष महेन्द्र कुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको विशिष्ट अतिथिमा यायोक्खाका अध्यक्ष दिवस राई र अतिथिहरुमा अल्ट्रा म्याराथुन धाविका मिरा राई, खेलाडी, “द कमाण्डो” चलचित्रका नायक राजकुमार राईलगायत हुनुहुन्थ्यो ।
सोही अवसरमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा पदक जितेका राई समुदायका खेलाडीहरुलाई किराँती फेटा लगाईदिएर सम्मान पनि गरिएको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]