
रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा
२९ भदौ बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । औद्योगिक करिडोरको जग्गामा रातको समयमा अतिक्रमण गर्ने र बस्ती बसाल्ने क्रम नरोकिएपछि स्थानीय प्रशासनले त्यस क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेको हो ।
करिडोर क्षेत्रमा सुकुम्बासीहरुलाई भेला गरी सुकुम्बासी बस्ती बसाउन प्रयास गरेकाले उक्त क्षेत्रमा २८ भदौदेखि अर्को सूचना जारी नहुँदासम्म लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
निषेधित क्षेत्र पूर्व तिनाउ नदीसम्म (बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगरदेखि वडा नं १८ सौरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खोतियोग्य जमिन (बुटवल उपमहानगरपालिका वडा नं. १७ सम्म), उत्तरतर्फ शिवनगर रानीगाउँ बस्ति बुटवल उपमहानगरपालिका वडा नं १७ सम्म र दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहियासम्म) तोकिएको छ ।
निषेधित क्षेत्रभित्र निषेध गरिएका कृयाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
आफूहरुको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । उक्त क्षेत्रमा स्थानीयको विरोध र ढुंगामुढाका बीच एमाले नेता विष्णु पौडेलले गत फागुन २१ गते औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



