
प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
काठमाडौँ — प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक २६ गते दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
पुन:स्थापनापछि आइतबारका लागि डाकिएको बैठकमा संविधानको प्रतिकूल संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको भन्दै कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह, जसपाका नेताहरुले सदनमा नाराबाजी गरेका थिए । कांग्रेसको विरोधका बीच अध्यादेश पेस गरिएको थियो । तर दाहाल नेपाल समूहका सांसदहरु भने त्यसअघि नै बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।
५ बजेर १० मिनेटपछि सुरु भएको बैठकमा जबर्जस्ती अध्यादेश पेस गरिएपछि कांग्रेस र जसपा सांसदहरुले अगाडि गएर नाराबाजी गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरे । तर सहमति नजुटेपछि बैठक २६ गतेका लागि सारिएको हो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



