
विश्वको दोश्रो अग्लो हिमाल केटुमा १० नेपालीले रचे इतिहास, हिउँदमा पहिलो पटक आरोहण
काठमाडौं– निर्मल पुर्जासहित नेपालका १० जना पर्वतारोहीले विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटुको हिउँदयाममा सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन्।
पाकिस्तानमा रहेको ८६११ मिटर उचाईको विश्वकै दोस्रो अग्लो हिमाल केटु हिमालमा हिउँदयाममा अहिलेसम्म कुनै पनि आरोही पुगेका थिएनन्।
आठ हजार मिटरभन्दा माथिका १४ हिमालमध्ये यो हिमालमा मात्रै आरोहीहरू हिउँद पुग्न सकेका थिएनन्।
नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ ५ बजेर ४५ मिनेटमा ८ हजार ६११ मिटर अग्लो शिखरको सफल आरोहण गरेका हुन्।
दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले बिना अक्सिजन आरोहण गरेका छन्। सुरूमा तीन वटा समूहमा विभाजित पर्वतारोही अन्तिममा एकसाथ शिखर पुगेका थिए।
चुचुरोको सय मिटर तल भेला भएर सबैजनाले एकैपटक चुचुरोमा पाइला टेकेका थिए।

२१ डिसेम्बरमा आधार सिविरतर्फ टोली प्रस्तान गरेको थियो।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



