चम्ल्याहा (चार शिशु)लाई जन्म दिएकी २२ वर्षीया खातुनको मृत्यु

जनकपुरधाम, १७ भदौ । जनकपुरधामस्थित काव्या अस्पतालमा मंगलबार चम्ल्याहा (चार शिशु) लाई जन्माएकी एक महिलाको बुधबार दिउँसो मृत्यु भएको छ ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलवार साँझ शल्यक्रियामार्फत् एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन् ।

एकैपटकमा चार शिशुलाई जन्म दिएकी खातुनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । उनको फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएपछि हिजोदेखि नै डाक्टर अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रसुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी खातुनलाई स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रिया मार्फत् शिशुहरुलाई निकालेकी थिइन् ।

खातुनले शल्यक्रियामार्फत् जन्म दिएकी चार शिशुमध्ये तीन छोरी र एक छोरा छन् । शिशुहरुमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको छ ।

शिशुहरुको अवस्था समेत अस्थिर देखिएको र अहिले चार वटै शिशुहरुलाई आईसीयूमा राखेर उपचार भइरहेको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले बताए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु